बाः एक उर्जा – कथालिका

बाः एक उर्जा

थकाउछ
जिम्मेवारीले थकाउछ
सपनाहरुले थकाउछ
सम्बन्धहरुले थकाउछ
आफ्नाहरुले थकाउछन
अपेक्षाहरुले थकाउछन
सबै जोडेर हेर्दा
कहिलेकाही जीवनले थकाउछ ।
यस्तो बेला म बा को छेउमा जान्छु र
चुपचाप सोच्छु

हाम्रो उज्यालो भविश्यका लागि
सिलोङका अध्यारा कोईलाखानीमा
गैति चलाउदा थाकेनन मेरा बा
हाम्रो सितल छहारीका लागी
अरबको तातो बालुवा र चर्को घाममा
आत जलाउदा थाकेनन मेरा बा
हाम्रो झोलिलो भात का लागि
प्लास्टिकमा कटकटिएको
सारो सुक्का रोटि टोक्दा थाकेनन मेरा बा
हाम्रो एक मुख गुलियोका लागि
भारपोकको ठाडै उकालै उकालो
साउको सय किलो चिनि बोक्दा थाकेनन मेरा बा
तिर्न सक्दैन भनेर
आफ्नै दाजु भाईले आफ्नै आगनमा काटेको
राँगाको मासु भाग नलाउदा पनि थाकेनन मेरा बा
दुखको भारीले तालु दाबिएर , पिरले पैताला खिईएर
परिस्थितीले बेस्सरी गलाउदा पनि थाकेनन मेरा बा
यसरी कहिल्यै नथाकेका मेरा बा
अचेल हामी थाकेको देखेर थाक्नु हुन्छ
र सोध्नु हुन्छ (छोरा थाक्यौ र ?

“छैन बा
मैले तपाईले जत्ति भोगेकै छैन
मैले तपाईले जत्ति बाचेकै छैन
मलाई तपाईलाई जत्ति परेकै छैन
आफ्नाहरुका निम्ती त्याग गरेकै छैन
अब भन्नुस मलाई कुन नैतिकताले थाक्न मिल्छ ?”
हरेक पटक बा संग बस्दा
मेरो थकानलाई नैतिक संकट पर्छ र हराएर नया उर्जा आउछ ।
आपसेआप ! चुपचाप !!

२०७९, १७ भाद्र शुक्रबार ०३:४०
कथालिका नयाँ कथा
कथालिका