कुकुरः दुर लेक गाउँमा गोठालाको भर – कथालिका

कुकुरः दुर लेक गाउँमा गोठालाको भर

शहर बजारमा सम्पन्न व्यक्तिले सौखका लागि कुकुर पाल्छन् । तर, दुर लेक गाउँमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् ।

सन्दर्भः कुकुर तिहार

प्रायः सहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ ।

म्याग्दी अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताउनुभयो । ‘हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ,’ उनले भने ।

खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । प्रायजसो समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँघेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ ।

खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् ।

चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए । जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए ।

‘गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ,’ उनले भने ।

करिब छ सय बढी भेडापालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् । चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजाले बताए ।

गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ ।

यमपञ्चक अर्थात् दीपावलीको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।

२०७९, ७ कार्तिक सोमबार ०६:११
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका