फूलले दिएको दोहोरो खुसी – कथालिका

फूलले दिएको दोहोरो खुसी

फूल खेती गरेको चितवन भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई तिहारको रोनकले पछिल्लो एक साता निकै व्यस्त बनायो । फूल टिप्न र बेच्न भ्याइनभ्याइ भयो । व्यवसायीक रुपमा सयपत्री फूल खेती गरेका उनी पछिल्लो ५ वर्ष यता तिहारमा फूल टिप्ने र बेच्ने चटारो नियमितता जस्तै भइसकेको छ ।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ। पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो, फूलबाट राम्रो आम्दानी हुन थाले पछि हामी पनि खुसी छौ, फूल खरिद गर्नेहरु पनि स्थानीय अर्गानिक आफ्नै उत्पादनको अपनत्व गरेर लैजान्छन्, फूल माला खरिद गर्नेहरु पनि खुसी हुन्छन्।”

कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए। तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री भएको छ। जसबाट रु.छ लाखभन्दा माथि आम्दानी भएको उनले बताए। पाख्रिनले १८ वर्षदेखि व्यवसायीक रुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन्।

शिक्षण पेशा छोडेर फूल खेतीमा

चितवनमा यो पेसा गरेको पाख्रिनले पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए। यसका लागि उनले शिक्षण पेसासमेत छोडे। बीस वर्ष अगाडि उनले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउने गर्थे। मानविकी सङ्कायमा स्नातक गरेका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउथे तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन।

उनले भने, “फूलसँग रमाउने मेरो रुची हो। सानैदेखि फूल प्रति मेरो मोह नै छ। मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ। जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ।”

यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिएनन्। उनले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौँमा फोटो सम्बन्धि पढाए। यसले पनि उनको तिर्खा मेट्न सकेन। अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याएका हुन्। पुष्प किसान बन्ने निधो गरे। त्यसयता उनी फूलसँग नाता गासेर रमाइरहेका छन्। यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ। उनीहरुका दुई छोरी र दुई छोरा छन्।

पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन्। “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन। १० हजार माला मात्र बेचे मुनाफा दुई लाख रुपैयाँ हुन्छ। चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उनले भने। बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ। फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ।

रोजगारीको अवसर

६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन्। जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन्। पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन्। मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन्। जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउँछिन्।

“विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्ने लगायतको काम गर्दै आएका छौँ। घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पुर्‍याउन सक्दा खुसी लाग्छ”, उनले भनिन्। भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आएका छन्। उनीहरुलाई घरपरिवारको रोकटोक छैन।

स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउछन्। तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गरिन्। “आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन। केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन्। काम नपाएको समयमा खाली बस्नु पर्छ”, उनले भनिन्।

फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ। यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिए। मखमली फूल भने कमै लगाइएको छ। जिल्लामा १२ जना व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन्। तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी छन् ।

२०७९, ११ कार्तिक शुक्रबार ०९:४७
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका