जीवनमा जान अञ्जानबश हुने गल्ती, कमजोरी, अपराध कर्ममा दिइने सबै भन्दा ठुलो सजाय हो ‘मृत्युदण्ड’ । साउदीमा यही मृत्युदण्डको सिकार बनेका छन् एक नेपाली युवा । जो परिवारको जीविकाका लागि खाडी पुगेका थिए ।
साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुर बसाहा–७, बैकडाँडाका विवेक दाहाललाई लाई क्षमादानको प्रयास विफल भएको छ ।
क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रह अस्वीकार गर्दै साउदी अरब सरकारले मृत्युदण्ड दिएको छ । यति मात्रै होइन, दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल समेत पठाएन । परिवारको सहमति बिनै दफन गरिदिएको छ ।
जीवनमा भवितव्य या नियतवश आवेशमा गरिने एउटै गल्ती, कमजोरी या अपराध कर्म कति महँगो पर्न सक्छ ? सबै महशुस गरेर प्रायश्चित गर्दै जीवन रक्षाका लागि अनुनय विनय गर्दा पनि कति कठोर समय र क्षण आउँछ । त्यसको गहिरो अनुभूति को सँग छ ? यसको उत्तर र अनुभूति विवेक दाहालसँग थियो र अब प्रश्न स्वयंम् अनुत्तरित भइसकेको छ ।
‘साउदी जेलमा फाँसी कुरिरहेका विवेकको बिलौना’ शीर्षकमाकथालिकाले एक वर्ष अघि प्रकाशित गरेको समाचार यस्तो छ:-
२००६ मा साउदी पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्थे । विवेक माथि २ फेबु्रअरी २००७ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या र सुडानी नागरिकको राती सुतिरहेका बेला हत्या प्रयासको अभियोग थियो । त्यस घटनामा गम्भीर घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो । नियोजित तरिकाले घटना गराएको भन्दै तल्लो अदालतले सुनाएको मृत्युदण्डको आदेशलाई क्रिमिनल कोर्ट र सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
यसकारण विफल बन्यो क्षमादायको प्रयास
हत्या गरिएका राजेन्द्र विष्टको परिवारले दाहाललाई ब्लडमनि बापत रकम दिएकाले सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि माफी नदिई स्वदेश फिरेका सुडानी नागरिक सम्पर्कविहीन भए । विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट भएन, अन्ततः अदालतबाट पनि माफी भएन ।
न्यायिक प्रक्रिया समाप्त भएकाले नेपालले दाहालको जीवनरक्षाका लागि सबै तह र तप्कामा क्षमादानका लागि अनुरोध गरिएको परराष्ट्र प्रवक्ता सेवा लम्साल बताउँछिन् । ‘परराष्ट्रले विवेकको जीवनरक्षाका लागि हर सम्भव सबै खालका प्रयासहरु गरेको हो । राष्ट्रपति ज्यूबाट साउदीका राजा समक्ष पनि क्षमादान दिन पत्र पठाइएको हो । हरेक भ्रमणमा महत्वको साथ उठाइएको थियो,’ लम्साल भन्छिन्, ‘फेरि पनि नेपालको पहल प्रयास सफल हुन सकेन, यस घटनाले हामी सबैलाई दुःखी र गम्भीर बनाएको छ ।’
मृत्युदण्ड दिएको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको थियो । जुबेलस्थित अबुहद्रिय जेल प्रशासनले कात्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको जानकारी केही ढिला गरी प्राप्त भएको साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले बताउछन् । ‘क्षमादान हुने कुरामा हामी आशावादी थियौ, अन्ततः मृत्युदण्डको सजाय कार्यान्वयनको खबरले हामीलाई स्तब्ध र आश्चर्यचकित तुल्याइरहेको छ,’ सुवेदीले भने । चार लाख नेपाली कामदार कार्यरत साउदीले बिनाजानकारी मृत्युदण्डलाई कार्यान्वयन गर्नु गम्भीर विषय भएको सरोकारवाला बताउँछन् ।
यसअघि पनि दिइएको थियो मृत्युदण्ड
बालिका हत्या आरोपमा २०७१ साउन १९ मा भिमाद–५ तनहुँकी शोभा परियारलाई मृत्युदण्ड दिइएको थियो । घरेलु कामदार परियारले आवेशमा दुई वर्षे बालिकाको हत्या गरेको अदालतमा स्वीकार समेत गरेकी थिइन् । यद्यपि, त्यसयता कसैलाई पनि मृत्युदण्डको सजाय दिइएको थिएन ।
२०५८ जेठमा मृत्युदण्ड सजाय सुनाइएका म्याग्दीका सन्तबहादुर पुन रियादबाट १२ सय किमि टाढा पर्ने कुरैयात जेलमै छन् । उनलाई भेडा खोस्न आएका साउदी नागरिकको हत्या गरेको अभियोग छ । मृतकका जेठो र माइला छोराले पुनलाई जेलमै भेटेर माफी दिने बचन दिएका थिए । तर, कान्छो छोरा र मृतकका भाइहरूले अस्वीकार गरे उनी जेलमै छन् ।
आफ्नै मालिकको हत्या अभियोगमा २०७० भदौ २३ गते तल्लो अदालतबाट मृत्युदण्डको सजाय पाएकी नवलपरासीकी ५४ वर्षीय सरस्वती घिमिरे (गुरुङ) रियाद जेलमै छिन् । तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि मात्रै दूतावासलाई जानकारी दिइएको थियो । उनलाई माथिल्लो अदालतले पनि मृत्युदण्डको सजाय सुनाइसकेको छ । सरस्वतीले दुई पटक सरकारी वकिलको कार्यालयमा हत्या गरेको स्वीकार गरेकी छन् । उनले परिवारसमक्ष भने आफूलाई दबाब दिएर फसाइएको बताउने गरेकी छन् ।
अझै ५ सय नेपाली साउदी जेलमा
साउदीसहित प्रमुख गन्तव्य मुलुकमा कम्तीमा १० नेपालीले मृत्युदण्डको सजाय पाइसकेका छन् । विभिन्न अपराधमा सजाय पाएका झन्डै ५ सय नेपाली जेलमा छन् । सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई स्वदेशमै ल्याउने प्रबन्ध मिलाउन सरकारलाई आदेश दिइसकेको छ ।
नेपाल सरकार र दूतावासको प्रभावकारी पहलकदमी हुँदा मृत्युदण्डको सजाय पाइसकेकाहरू स्वदेश फिरेका घटना पनि छन् । पाकिस्तानी नागरिक हत्या अभियोगमा मृत्युदण्ड पाई सन् २००६ देखि जेलजीवन बिताइरहेका उमेश यादव दुई वर्षअगाडि स्वदेश फिर्न पाएका थिए ।|
मृत्युदण्डको घटनाबाट पाठ
नेपालीहरु आफ्नो र परिवारको रोजीरोटीका विदेशिनु पर्ने बाध्यता त छ नै । त्यसक्रममा रहर र बाध्यताले परदेशिने क्रम तिब्र छ । जुन गन्तव्य देश हो, त्यो देश पुग्दा त्यहाँका नियम, कानुन, परिवेश बुझ्न नसक्नुका कारणबाट धेरै अप्रिय घटना र अवस्था भोग्नु परिरहेको छ । अर्को तर्फ घर र देशमा हुँदाको व्यक्तिगत खराब स्वभावजन्य कुराले पनि यस्ता घटना निम्त्याइरहेका छन् । कुन देश, परिवेशमा छु भन्ने कुरा बोध गर्न नसक्नुका कारण धेरै दुखद घटना भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल बताउँछिन् । ‘आफु कहाँ छु, के काम कर्तव्य निर्वाह गर्नुपर्छ, त्यसमा जिम्मेवार र प्रतिवद्ध हुनुपर्छ । सोही अनुसार आफ्नो रिस, आवेग, उत्तेजनालाई पनि नियन्त्रण गर्न अपरिहार्य छ,’ लम्सालले भने, ‘अनि त्यो देशको प्रणाली, नियम, कानुन बुझेर आत्मसाथ गर्ने हो भने यी र यस्ता दुखद अप्रिय घटनाहरु स्वतः कम हुनेछन् ।’