चौबिस वर्ष गुमनाम चन्द्रदत्तः फर्किए घर, फर्कियो खुसी – कथालिका

चौबिस वर्ष गुमनाम चन्द्रदत्तः फर्किए घर, फर्कियो खुसी

२४ वर्ष पछि घर फर्किएका चन्द्रदत्त ८७ वर्षिया माताका साथ ।
  • २४ वर्षको अवधिमा विदेश र देश भित्रै पनि भोगेका उतार चढाव, दुःख, जीवन जटिलता अनायास उनका आँखाहरुले बोल्छन्, ओठ थर्थराउँछन् तर मुखले बोल्न भन्न सक्दैनन् ।

नेपालमा एक उक्ति निकै चर्चित छ– ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ ।’ तर, धन कमाउन विदेशिएका बागलुङ पैयुपाटाका चन्द्रदत्त रेग्मीलाई घर फर्किन १२ वर्ष होइन, दोब्बर अर्थात् २४ वर्ष लाग्यो । आखिर किन ? २४ वर्ष अघि बेलायत पुगेका चन्द्रदत्तको यसबिचका बाध्यता, बिबशता, परिवन्दका अनेकन कथा ब्यथा छन् । जुन सीमित मात्र उनी व्यक्त गर्न सक्छन्, विदेश र देश भित्रै पनि भोगेका कैयन दुःख, जीवन जटिलता त उनका आँखाहरुले बोल्छन्, ओठ थर्थराउँछ तर मुखले बोल्न भन्न सक्दैनन् ।

विदेशको साझा रहर सपना
विदेश रहर र सपना नेपाल र नेपालीमा आज जस्तो छ, आज भन्दा दुई दशक अघि पनि उस्तै उस्तै थियो । त्यसबेला अझ विदेश गएका र आएका लाहुरे, त्यसमा पनि बेलायती लाहुरे भने पछि छुट्टै शान र मान हुन्थ्यो ।

वि.स. २०५६ साल माघमा चन्द्रदत्त रेग्मी रोजगारीका लागि बेलायत गए । बेलायत गएको तीन वर्ष सम्म परिवारसँग नियमित सम्पर्कमा थिए । बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ बर्षिय चन्द्रदत्त समय समयमा घरपरिवारलाई पैसा पठाउँथे ।
बाबुको मृत्यु पछि विदेशिएका चन्द्रदत्तको घरमा आमा र दाजु भाउजुहरु थिए । ऊ बेलामा अहिले जस्तो घर घरमा हात हातमा मोबाइल फोन थिएन । उनी विस्तारै परिवारको सम्पर्कबाट बाहिरँदै गए । बेलायत पुगेर मनग्गे धन सम्पत्ती कमाउने आफ्नो घरजम गर्ने र आमा सँगै परिवारलाई उतै लैजाने सपना देखेका चन्द्रदत्तको बेलायती पिआर बन्न सकेन ।

अनि सम्पर्कविहिन बनाउने त्यो घटना
अहिले पनि बिभिन्न देश पुग्नेहरुको एउटै सपना हुन्छ, त्यो हो पिआर सपना । जुन सपना पुरा हुँदा आफ्नो सिंगो परिवारको व्यवस्थापन, विदेश यात्रा र सपना पुरा हुने ठानिन्छ । त्यही सपना देखिरहेथे चन्द्रदत्त ।

दुर्भाग्य भन्नुपर्छ, पिआर बनाउने चन्द्रदत्तको निरन्तरतको प्रयास र सपना सफल हुन सकेन, त्यस पश्चात उनी बेचैन हुन थाले । जीवनको लय भंग हुन थाल्यो । सोचेको, सजाएको सपनाहरु सबै अधुरो रहने भए पछि चरम निराशामा पुगेको उनी बताउँछन् । त्यसपछि घर, परिवार, साथी संगी सबैको सम्पर्कबाट टाढा रहेको उनको कथन छ ।

पिआर नबने पनि १० वर्ष उनी बेलायतमै बसे । उनी २०६७ साल पछि परिवारको सम्पर्कमै आएनन् । परिवारबाट अनेकन आशंका र अनुमान सहित खोजीनीति सुरु भयो । तर, कतै सकुशल रहेको सूचना पाउन सकेनन् । यसले घर परिवार र आफन्तमा चिन्ता थपिएको थियो । बुढ्यौली लागेका ८७ वर्षिय आमा छोरा आउने बाटो हेरिरहन्थिन् ।

१२ वर्ष अघि नै नेपाल फर्किएका थिए चन्द्रदत्त
बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै उनी नेपाल आएको बताउँछन् । ‘काका विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड पनि बनेन, कमाई पनि हुन नसकेपछि डिप्रेश जस्तो हुनुभएछ, त्यसपछि नेपालमै फर्किएर थोरै भए पनि पैसा कमाएर घर लैजान्छु भन्ने सोचले मजदुरी लगायतको काम गर्न थाल्नुभएछ । ‘काठमाडौ सँगै हेटौडा, सल्यान, प्युठान लगायतका विभिन्न ठाउँमा कामका लागि जानुभएको रैछ’, अशोकले भने, ‘१२ वर्ष सम्म नेपालमा पनि केही गर्न नसके पछि खाली हात भए पनि घर फर्किने सोच पलाएको रहेछ ।’
परिवारको दैनिकी, जीविका सहज बनाउन परदेशिएको छोरा, भाइ २४ वर्ष सम्म गुमनाम भए पछि जीवित रहेको आशा करिब मरिसकेको थियो । बेलायतका बिभिन्न स्थानमा रहेका नेपाली मार्फत खोज गरे पनि सम्पर्कमा कुनै उपाय लागेको थिएन । र पनि झिनो आशा कायम थियो ।

२४ वर्षमा घर फिर्ती
घर छाडेको २४ वर्ष पछि बेपत्ता भएका चन्द्रदत्त हालै मात्र घर फिरेका छन् । चन्द्रदत्त घर फर्किए सँगै ८७ वर्षिया माता सहित सिंगो रेग्मी परिवारमा खुशी छाएको छ । घरको कान्छो छोरा बुढेसकालको साहारा सम्पर्कमा आउँदा आमाको मन हर्षविभोर हुने नै भयो,

चिरिञ्जीवीको आँखामा पनि उस्तै हर्षका आँशु बगिरहेछ । ‘म सानो छँदा मलाई हजुर आमाले कान्छो काका हुनुहुन्छ भन्नुहुन्थ्यो । उहाँ विदेश गएको र उतै हराएको कुरा सुन्दा मलाई त्यो कथा जस्तै लाग्थ्यो’, चन्द्रदत्तका भतिज अशोक रेग्मी भन्छन्,–‘हजुर आमाका कुरा सुनेपछि मेरो मनमा काका कहाँ हुनुहुन्छ भन्ने कौतुहलता जाग्थ्यो, मैले आकाशमा हवाईजहाज उड्दा काकालाई ल्याईदे भन्ने गर्थे रे । २२ वर्षको हुँदा सम्म आफ्नै काकालाई देख्न पाएको थिएन, घर छाडेको २४ वर्षमा उहाँलाई बल्लतल्ल सम्पर्कमा ल्याएर घर लिएर आएको छु ।’

अब आमाकै सेवा गरेर बस्ने बाचा
काठमाडौं अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौडाको थाहा नगरपालिका वडा नं. १ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनी परिवारको सम्पर्कमा आएको चन्द्रदत्तका दाजु लेखनाथ शर्मा बताउँछन् । सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेललाई फोन सम्पर्क गरेका थिए । वडा अध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सवै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौबाट घरमा ल्याएका हुन । ‘घर छाडेको २४ वर्षमा भाइ घर फर्कियो । १२ वर्ष त हाम्रो कुनै सम्पर्क नै भएन । हाम्रो परिवारलाई भाइ जिउँदो छ भन्ने झिनो आशा मात्रै थियो । लेखनाथले भन्छन्,–‘धेरै ठाउँमा बुझ्यौ, खोजौं, तर कुनै अत्तो पत्तो भएको थिएन । आशा नै मारेर बसेका थियौं । आफुले विदाई गरेर विदेश पठाएको भाई नफर्किदा यही कुराले पिरोलेको थियो । तर, भाइ फर्किएर आयो हाम्रो परिवारमा हराएको खुसी फर्किएको छ ।’

कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानु अगाडि लामो समय काठमाडौंमै कानुन व्यसायीको फर्ममा काम गर्ने गर्थे । विदेश जानु भन्दा पहिले नै विवाह गर्ने सोचमा रहेका चन्द्रदत्त सोचे जस्तो नहुँदा नेपालमा छँदा नै विहे सम्भव भएन । विदेश पुगे पछि पनि जीवन जटिलताले नछोडे पछि विवाह गर्ने रहर इच्छा मर्दै गएको चन्द्रदत्त बताउँछन् । अहिले पनि उनी एक्लै छन् । परिवारमा चार भाइ मध्येका कान्छा उनी अब जीवनभर विहे नगर्ने निधो गरेको बताउँछन् । बुढेसकाल लागेको आमाको सेवा गरेर अब गाउँमै केही गरेर बस्ने सोच बनाएको बताए ।

२०८०, ४ असार सोमबार ०८:३७
कथालिका नयाँ कथा
कथालिका