- पहिले भेडीगोठ जाने बाटो भएकाले बेस क्याम्प जाने त्यति थिएन । पयर्टकको सहजताको लागि मैतसिङले गाउँकै केही युवालाई समेटेर बाटो निर्माण गर्ने निर्णय लिए ।९,१० जना युवालाई लिएर जंगलमै भकारीले बारेर भट्टी जस्तै स्वरुपको चिया बनाउने र पर्यटकलाई बिक्री गर्ने कार्य अगाडि बढाए ।त्यसपछि विस्तारै पर्यटनमैत्री घर र होटल बन्न थाले।
गाउँहरु अचेल उदास छन्, विरत्त छन्, पुराना मौलिक घर टहरा जिर्ण छन्, खेतबारीहरु बाझा छन् । तर, छैनन् उर्जावान तरुण तन्नेरीहरु । देखिन्न हराभरा फाँट । छैनन् बुढेशकालका बृद्ध बुवाआमा, हजुरबाआमालाई सेवा गर्ने हातहरु । खासमा भन्दा अचेल गाउँ गाउँ जस्तो रहेन ।
गाउँघर तिर आजकाल एउटा उक्ति चर्चित छ–‘अचेलका युवाहरु १० पास गरे हलो छोड्छन्, १२ पास गरे थलो छोड्छन् ।’ उच्च शिक्षा, भविष्य र अवसरका लागि गाउँ छोड्नु अन्यथा होइन, अहिले त विदेश जाने र पैसा कमाउने लतले युवापुस्ता ग्रस्त देखिन्छन् । हराभरा प्रकृति, आत्मिय संस्कार, संस्कृतिले सुन्दर गाउँहरु सडक र सुविधाले त जोडिएका छन्, तर तिनै सडक र सुविधा पुगेसँगै गाउँहरु उजाडिने क्रम पनि तिब्र बन्दो छ । गाउँघरमा परम्परागत सिप, कला कौशलबाट निर्माण गरिएका घरहरु जिर्ण बन्दैछन् । गर्मी र जाडो दुवै मौसममा उत्तिकै अनुकुल ढुंगा माटोले बनेका घरहरु भत्काएर कंक्रिटको महल खडा गर्ने लहड चलिरहेको छ । रेमिट्यान्ससँगै शहर छिर्ने र बिलासी जीवन जिउने होड छ ।
यसका बाबजुद पनि कैयन गाउँहरुले आफ्नौ मौलिकता जोगाइरहेको मात्र छैन, थप आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आत्मनिर्भर समेत बनिरहेको छ । लोपोन्मुख यानीमाया, सुनिमाया, सोरठी, सालैजो भाकाहरु पुनः गुञ्जाउन थालेको छ । र त अरु गाउँ सुनसान उजाड जस्तो बनिरहँदा दुरदराजमा रहेका गाउँहरु गुल्जार बनिरहेका छन् । आखिर कसरी ? कथालिका (डिजिटल पत्रिका) र कथालिका नेपाल (म्यागाजिन)ले गुल्जार गाउँ र गाउँ बनाउनेका कथा विशेषांक तयार गरेको छ । जुन श्रृंखलावद्ध रुपमा प्रकाशन गर्नेछौ ।
आज गुल्जार गाउँ घान्द्रुक र घान्द्रुक बनाउन सुरुवाती पहलकदमी लिएर नमुना गुल्जार गाउँ बनाउनेका कथाः
∗∗∗∗∗
कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १०,११ मा पर्ने अहिलेको घान्द्रुक हरेक समय गुल्जार र पर्यटकको पहिलो रोजाई त्यसै बनेको होइन । अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुकका पूर्व वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार घान्द्रुकलाई पर्यटकका लागि उत्कृष्ट र नमुना बनाउनुपर्छ भन्ने योजना घान्द्रुककै मैतसिङ गुरुङले बनाएका थिए ।
घान्द्रुक पहिलेदेखि विदेशी पर्यटकले एबिसी बेस क्याम्पमा जाने पदमार्गका रुपमा प्रयोग गर्थे । त्यो समयमा अंग्रेजी बोल्नु सामान्य विषय थिएन । हिमबहादुरले दिएको जानकारी अनुसार मैतसिङ अंग्रेजी बुझ्न र बोल्न सक्थे । उनले विदेशी पर्यटकको भाव, समस्या र दुःख बुझ्न सक्थे । उनलाई थाहा थियो, घान्द्रुकमा पर्यटकलाई खान र बस्न असहज भइरहेको छ । पहिले भेडीगोठ जाने बाटो भएकाले बेसक्याम्प जाने त्यति थिएन । पयर्टकको सहजताको लागि मैतसिङले गाउँकै केही युवालाई समेटेर बाटो निर्माण गर्ने निर्णय लिए ।
९,१० जना युवालाई लिएर जंगलमा गएका मैतसिङले सबैसंग मिलेर भट्टी जस्तै स्वरुपको चिया बनाउने र पर्यटकलाई बिक्री गर्ने कार्य अगाडि बढाए । त्यति बेलाको समयमा चियाको भट्टी समेत भकारीले बारेर बनाइएको हुन्थ्यो । यति मात्र होइन, मैतसिङले यसरी आफ्नो एकदमै मिल्ने साथी कुलप्रसाद गुरुङलाई सिकाएका थिए पर्यटनमैत्री व्यवहार र व्यवसाय गर्न । मैतसिङले सिकाएपछि कुलप्रसादले हिन्कु ओडारमा पर्यटकका लागि खाना र चिया बनाएर दिने गर्थे । सादा दाल भात त्यो समयमा नहुने भएकाले प्रायः ढिडो विदेशी पर्यटकका लागि बनाइन्थ्यो । पदमार्ग रहेको बाटैमा पर्ने हिन्कु ओडारमा भेडीगोठमा जाने स्थानीयले खाना बनाउने र खाने एक सेट सामान राख्ने गर्थे । त्यही सामानमा पकाएर मैतसिङ सहितका स्थानीयले विदेशी पर्यटकलाई खाना तथा चिया बनाएर खुवाउँथे । त्यो समयमा कुनै समिति हुने कुरा भएन, पर्यटकका लागि भन्दै मैतसिङले यस्ता योजना बनाएका हुन्थे । पर्यटकको आगमन बढे सँगै भकारीले बारेर चिया तथा खाना बनाउने यसरी पसल व्यवसाय गर्नेको संख्या पनि बढ्दै गयो ।
खाना र बासस्थानको सहजता हुने थालेपछि घान्द्रुकमा पर्यटकको संख्या पहिले भन्दा वृद्धि हुँदै गएको थियो ।पर्यटकको संख्या वृद्धि हुन थालेपछि घान्द्रुकमा जहाँ खाली छ, त्यहाँ होटल खुल्न थाले ।
आर्काइभमाः र यो पनि पढ्नुहोस्…
हिमबहादुरका अनुसार मैतसिङले पर्यटकलाई आकर्षित गर्न सकिने र आफ्नो कला र संस्कृति समेत बच्ने भएकाले यसको संरक्षणका लागि पहल गरेका थिए । पछि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) सञ्चालन पश्चात मैतसिङको योजनामा विस्तारित हुँदै गइरहेको घान्द्रुकको सुन्दरतामा सुनमा सुगन्ध थपिएको थियो । वि.स १९९१ सालमा जन्मिएका घान्द्रुकलाई गुल्जार बनाउने योजनाकार उनै मैतसिङ गुरुङको ६७ वर्षको उमेरमा वि.स २०५८ सालमा निधन भइसकेको छ ।
घान्द्रुकको पहिलो त्यो मिलन होटल
घान्द्रुकमा सबै भन्दा पहिले सुरुआतको समयमा त्यहीका स्थानीय शंकरबहादुर गुरुङले पर्यटकका लागि व्यवस्थित होटल सञ्चालन गरे । ‘होटल मिलन’ को नामले अहिलेसम्म यो होटल सञ्चालनमा छ । शंकरलाई होटल सञ्चालन गरेको कति वर्ष भयो भन्ने ठ्याक्कै याद नभए पनि ५० वर्ष भन्दा बढी भइसकेको उनको ठम्याई छ । शंकर सोही गाउँको विद्यालयमा शिक्षक थिए । शिक्षक पेसा गरिरहँदा फाट्टफुट्ट रुपमा विदेशी पर्यटक पदमार्गका लागि घान्द्रुकको बाटो हुँदै जाने गर्थे । त्यो समयमा अन्य स्थानमा होटल तथा रेष्टुरेण्ट हुने सम्भावना थिएन । त्यसैले विदेशी पर्यटकलाई कुनै अफ्ठ्यारो नहोस् भन्ने हेतुले शंकरले होटल सञ्चालन गरेका थिए । त्यहाँबाट पदमार्ग हुँदै जाने पर्यटकका लागि शंकर र उनकी श्रीमती बेलकुमारी गुरुङले खाना बनाइदिन्थे । बेलकुमारीका अनुसार त्यो समयमा सादा दाल भात र तरकारी खानाका रुपमा बन्थ्यो । मासु भन्ने हुँदैनथ्यो । ‘सादा दाल भातलाई २÷३ रुपैयाँमा बेचेको याद छ, मासु भन्ने हुँदैनथ्यो त्यो बेलामा । विदेशी पर्यटकले खाना खान पाउनु ठूलो कुरा हुन्थ्यो’ बेलकुमारी भन्छिन् ।
बेलकुमारीका अनुसार उनीहरुले विदेशी पर्यटकलाई भर्खर होटल सञ्चालन गर्दा सुख्खा रोटीलाई १ सुकामा विक्री गर्थे । कोक,फेन्टा पोखराबाट आपूर्ति गर्नुपथ्र्यो । उनले भनिन्, ‘पोखराबाट बोकेर ल्याइएको कोक र फेन्टालाई २ रुपैयाँमा बेच्थ्यौं हामीले ।’ स्थानीय रुपमा उत्पादन गरिएको अण्डा आफूहरुले त्यस समयमा एक रुपैयाँको ४ वटा विक्री गरेको उनी सम्झिन्छिन् । मासुको चलन धेरै पछि मात्रै आएको उनले बताइन् । घान्द्रुकमा खाना त त्यस्तै हो, पदमार्गका लागि हिँडेका पर्यटकले राम्रोसंग सुत्ने स्थान समेत पाउँदैनथे । ओढ्ने, ओछ्याउने त टाढाको कुरा थियो, बेलकुमारीलाई याद भए अनुसार कोही पर्यटक त धानको परालमा निदाउँथे । घान्द्रुकमा सबैभन्दा पहिले होटल व्यवसायको सुरुआत गरेका शंकर दम्पतिका सन्तान भने यो पेसामा छैनन् । १ छोरा र १ छोरी भए पनि अहिलेसम्म उनीहरुले होटल व्यवसायलाई आफैं सम्हालिरहेका छन् । ‘छोरा युके र छोरी जापान छिन्, हामी बुढाबुढीले मात्रै होटल व्यवसाय सम्हालेका छौं,’ बेलकुमारीले कथालिकासँग भनिन् ।