पुनहिलः पदमार्गीको पदचाप – कथालिका

पुनहिलः पदमार्गीको पदचाप

  • पोखरादेखि उलेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिस घोरेपानीको बाटो आवतजावत गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउन त्यही गोठ बनाएका थिए । जहाँ चिया पसल र नास्ता खुवाइथ्यो । हिजोका तिनै गोठहमा राखिएका चिया पसलहरुमा अहिले विशाल पर्यटकीय बस्ती बसेको छ ।

हिमाली दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो म्याग्दी घोरेपानी र त्यसको शिखरमा अवस्थित पुनहिल । ३ हजार २ सय १० मिटर उचाईमा रहेको पुनहिलबाट आँखै अघि १५ बढी हिमश्रृंखला, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाको सुन्दर गाउँ शहर अवलोकन गर्न सकिन्छ । जंगलको बिचमा रहेको घोरेपानी आन्तरिक र विदेशी पर्यटक दुवैका लागि उत्तिकै आकर्षक गन्तव्य हो । घोरेपानी पुग्ने अधिकांश पर्यटकको अन्तिम गन्तव्य चाही पुनहिल हो ।

घोरेपानीः चार दशक अघि सम्म मुस्ताङ नुन लैजाने मार्ग
करिब चार दशक अगाडि सम्म अहिलेको ‘घोरेपानी’ पोखरा हुँदै मुस्ताङ नुन ल्याउन जाने बाटो थियो । जुन क्रममा चिया खाने थलोको रुपमा चिनिन्थ्यो घोरेपानी’ । पोखरादेखि उलेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोरेपानीमा गाइभैसीको गोठहरुमा राखिएका चिया पसलमा नास्ता खाने गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउनका लागि बनाएको गोठमा चिया पसल राखेका थिए । तर, हिजोका तिनै गोठहरुमा राखिएका चिया पसलहरुमा अहिले विशाल पर्यटकीय बस्ती बसेको छ । अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित घोरेपानी पर्यटकीय सम्भावना र अवसरका कारण छोटो समयमै विकसित र उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुन सफल रह्यो ।

अन्नपूर्ण रेञ्ज घुम्नेको रोजाई
यो क्षेत्र अहिले म्याग्दीको मात्रै नभइ अन्नपूर्ण फेरोको फन्को मार्न आउने पर्यटकको प्रमुख रोजाईमा पर्ने गरेको छ । मनोरम हिम शृङ्खलाको अवलोकन गर्न सकिने यस क्षेत्रमा राखिएका गोठहरुमा खिवाङका बलसिंह गर्वुजाले पहिलो पटक चिया पसल राखेका थिए । ‘‘यहाँ घास प्रशस्त पाइने भएकाले गोठहरु राख्ने चलन थियो, पछि गर्वुजाले चिया पसल राखे, उनीसंगै कोबाङबाट आएका कान्छो थकाली भनेर चिनिने व्यक्तिले पनि चिया पसल गरे, यो शृङ्खला बढ्दै गएपछि होटलहरु खुल्न थालेका अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल बताउँछन् ।

पुनहिल: दर्जनौ हिमाल सम्मुखको डाँडो
पहिले यो क्षेत्र तिर्थयात्री र नुन बोक्नेहरु उल्लेरीमा बास बसेर घोरेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । घोरेपानीको शिरमा दर्जनौ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने डाँडो थियो । जसलाई स्थानीय समेत रहेका मेजर टेकबहादुर पुनले ‘पुनहिल’ नामाकरण गरेका थिए । स्थानीयबासीले पछि उनै पुनको स्मृतिमा पुनहिलमा भ्यु टावर निर्माण गरे ।

स्थानीय अगुवा हरि बहादुर पुनको डिजाइनमा स्थानीयबासीको श्रमदान मार्फत पुनहिलबाट दृष्य अवलोकनको लागि २०३५ सालमा काठको टावर बनाइएको थियो ।

  • घोरेपानी क्षेत्रमा बार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन् । यस क्षेत्रमा आउने पर्यटकका लागि समुन्द्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाईमा रहेको पुनहिल पर्यटकको प्रमुख आकर्षण हो ।

काठको टावर दीगो नभए पछि मेजर पुनकै ज्वाई लेप्टेन राजु पुनको पहलमा चन्दा संकलन गरि २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यु टावर निर्माण गरिएको थियो । टावर निर्माण पछि अहिले पुनहिलमा दैनिक सयौंको संख्यामा पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । घोरेपानी पुग्ने पर्यटकको पुनहिल नपुगि नहुने गन्तव्य बनेको छ । घोरेपानीमा पर्यटक आगमन हुन थालेको छोटो समयमै यहाँको विकासले फड्को मारेको छ ।

पहिलेका चिया पसल, अहिले सुविधा सम्पन्न होटल
सुरुवातका चिया पसलहरु अहिले प्रायः सबै सुविधा सम्पन्न होटलमा रुपान्तरण भएका छन् । पोखरा–बागलुङ–बेनी सडक नबन्दा सम्म मुक्तिनाथ दर्शन गर्न जाने तिर्थयात्रीहरुको गोरेटो बाटो पर्ने यस क्षेत्रमा अहिले २३ वटा सुविधा सम्पन्न होटलहरु खुलेका छन् । हरेक वर्ष पर्यटकको आगमन बढेसंगै होटल व्यवसायीले क्षमता विस्तार गर्दै लगेका छन् । सुरुवातमा विदेशी पर्यटकहरु मात्रै आउने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटकको आगमन समेत ह्वात्तै बढेको घोरेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुन बताउछन् ।

‘पर्यटन विकासमा सहयोगी बन्छ भन्ने उदाहरण घोरेपानी हो, घुम्न आउने विदेशी पर्यटकहरुले आफ्नो देश फर्किए पछि यहाँको सुन्दरताको बारेमा गर्ने सकरात्मक सन्देश प्रवाहले पनि यस क्षेत्रको पर्यटन विकासमा ठुलो सहयोग ग¥र्यो’, पुनले भने । पछि अन्नपूर्ण संरक्षण आयोजनाले समेटिए पछि यस क्षेत्रको बारेमा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसारमा थप सहयोग पुगेको थियो ।

घोरेपानीका होटलमा अर्गानिक खानाका परिकार, सुविधा सम्पन्न कोठा, इन्टरनेट लगायतका सुविधा उपलब्ध छ । पहाडको टाकुरामा अवस्थित घोरेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो ।

अन्नपूर्ण पदमार्ग विशेष आकर्षण
पर्यटनको विकास भएको छोटो समयमै घोरेपानी क्षेत्रमा विकास निर्माणले पनि उक्तिकै फड्को मारेको छ । पर्यटकहरुको लागि होटल व्यवस्थापन उपसमितिकै पहलमा झण्डै १ करोडको हाराहारीमा लगानी गरी पदमार्ग निर्माण गरिएको छ । पर्वतको चित्रे हुँदै म्याग्दीको घोरेपानी, घोरेपानीदेखि पुनहिल र घान्दु्रक जाने पदमार्गहरुमा चिटिक्क मिलेको सिढी चिनेर पदमार्ग बनाइएको छ ।

सरकारको न्युन सहयोगमा समुदायकै पहलमा यहाँ भएको विकासमा पर्यटनको ठुलो योगदान रहेको घोरेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशिल पुनले बताए उनका अनुसार, स्थानीयकै लगानीमा पदमार्ग संगै तीन ठाउँमा सार्वजनिक शौचालय, विभिन्न ठाउँमा प्रवेशद्धार समेत निर्माण गरिएको छ । पर्यटन विकासले नै समुदायकै पहलमा यहाँ सञ्चारको पहुँच विस्तार, खानेपानी, बाटोघाटो निर्माण, पर्यटकहरुको लागि सन्देश मुलक बोर्ड राख्ने, विद्यालय स्थापना लगायतका उल्लेख्य उपलब्धी सम्भव भएको छ ।

वार्षिक ३० हजार बढी पर्यटक
घोरेपानी क्षेत्रमा बार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन् । यहाँ पर्यटकहरुलाई थप व्यवस्थित र आकर्षित गर्न पदमार्गमा नियमित सरसफाई र मर्मतको व्यवस्था गरिएको छ भने गाउँलाई प्लाष्टिक मुक्त बनाइएको छ । यस क्षेत्रमा आउने पर्यटकहरुको लागि समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिल पर्यटकको प्रमुख आकर्षण हो ।

घोरेपानीमा बास बसेका पर्यटकहरु करिब १ घन्टाको पैदल यात्रापछि पुनहिलमा पुगेर मनोरम हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । गुर्जा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े निलगिरि लगायतका दर्जनौ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता हो । वरिपरि जंगलको बिचमा रहेको अग्लो डाँडामा बनाइएको भ्यु टावरबाट एकै नजरमा सेताम्मे हिमशृङ्खलाको अवलोकन गर्दा पर्यटहरु लोभिएर फर्कने गरेका छन् ।

पुनहिलबाट देखिने सुर्योदयको प्रतिक्षामा पर्यटक

पुनहिलको भम्रणमा पहिलो पटक आएकी नर्वेकी बस्लष्टकले पुनहिलबाट देखिएको दृष्यले आफुलाई निकै लोभ्याएको बताए । फेरी पनि यस क्षेत्रको भम्रणमा आउने इच्छा उनले जागृत भएको प्रतिकृया दिए । ‘यस्तो मनमोहक ठाउँमा म पहिलो पटक आएकी हुँ, एकै ठाउँबाट यति धेरै हिमाल देख्न पाइने, लालीगुराँसको जंगलमा समय विताउँदा समय गएको थाहा नै नपाइने रहेछ,’ उनले कथालिकासँग भने । बसन्त ऋतुसंगै ढकमक्क फुलेका लालीगुराँसमा रमाउन यस क्षेत्रमा पर्यटकहरुको चहल पहल बढेको छ ।

८ हजार मिटर भन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमालको रेञ्जमा पर्ने झण्डै २० बढी हिमचुचुराहरुलाई नजिकबाट नियाल्न सकिने पुनहिलमा चैत्र बैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस र पुस माघमा पर्ने सेताम्मे हिउँमा समेत पर्यटकहरुको भिड लाग्ने गरेको घोडेपानी होटल व्यवस्थापन समितिका सचिब रन बहादुर पुन बताउँछन् ।

वसन्त ऋतुमा गुँरासले रंगीन, भ्रमणको उपर्युक्त सिजन
वसन्त ऋतुमा घोरेपानी सेरोफेरो ढकमक्क फुलेका गुराँसे रंगीन बन्छ । जसमा जंगललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गर्छ । नेपालमा पाइने ३२ प्रजातिका मध्ये घोरेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी लगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

घोरेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिनामा दैनिक पाँच सय जनाको अनुपातमा विदेशी भित्र्ने गरेका छन् । पछिल्लो समय पदयात्रामा आउने नेपालीको संख्या पनि बढ्दै गएको छ ।

यसरी पुग्न सकिन्छ घोरेपानी पुनहिल
घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि चन्दा र श्रमदान जुटाएर एक करोड रुपैयाँभन्दा बढीको लगानीमा पदमार्ग, प्रवेशद्वारा, सार्वजनिक शौचालय निर्माण गरेको उपसमितिका सचिव रनबहादुर पुनले बताए । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।

यसैगरी कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर घोडेपानी पुग्न सकिन्छ । वन डढेलो र सडक विस्तारसँगै गुराँसे जंगल मासिनु, सडकका कारण पदमार्ग विस्थापित हुन घोडेपानी क्षेत्रको पर्यटन विकासका लागि मुख्य चुनौतीको रूपमा देखिएको छ ।

घोरेपानीमा पुग्न कास्कीको बिरेठाँटी– उलेरी –घोरेपानी, नयाँपुल–घान्द्रुक–घोरेपानी, म्याग्दीको नागी–महरे–फुलवारी–घोरेपानी र तातोपानी–घार– शिख हुँदै घोरेपानी पुग्न सकिने गरि पदमार्गहरु सञ्चालनमा छन् ।समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा चारैतिरबाट गुराँसे जंगलले घेरीएको पहाडको टाकुरामा रहेको पुनहिलबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, धौलागिरि, गुर्जा, मानापाथी लगायतका हिमशृङखला अवलोकन गर्न सकिन्छ ।

२०८०, २६ भाद्र मंगलवार ०७:५३
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका