पहाडबाट हिमाल देखाउने दूरदर्शी ‘मेजर’ – कथालिका

पहाडबाट हिमाल देखाउने दूरदर्शी ‘मेजर’

  • लुङतुङ डाँडा, जुन डाँडामा २०२६-०२७ सालतिरै पर्यटकीय गन्तव्यको सम्भावनाको सोच एक मानव मस्तिष्कमा कुन स्तरको चेतले आएको होला ? भारतिय सेनाबाट अवकाश प्राप्त मेजर टेकबहादुर पुनले त्यही डाँडामा अलौकिक सूर्योदय सूर्यास्त हेरेर आनन्द लिदै देखेको अनेक सम्भावना र सपनाको उपज आजको पुनहिल र घोरेपानी हो ।

गाउँ बनाउनेको कथा–०४

पुनहिल, जसको पुरानो नाम लुङतुङ डाँडा, ३२ सय १० मिटरको उचाइ । यस्तो डाँडामा २०२६–०२७ सालतिरै पर्यटकीय हिसाबले गुल्जार बनाउन सकिन्छ भन्ने सोच एक मानव मस्तिष्कमा कुन स्तरको चेतले आएको होला ? डाँडालाई विकास पूर्वाधारले जोडेर ५ रुपैयाँ कप चिया बिक्री गरेर पनि दुरका जनताले मनग्गे आम्दानी गर्न सक्छन् भन्ने दुरदुष्टि त्यसबेला बाहिरि दुनियाँ नदेखेकाहरुले कसरी पो पत्याउन् र ? मेजर टेकबहादुर बुदुजा पुन त्यही डाँडामा प्रायःजसो बसेर देखिने अलौकिक सूर्योदय सूर्यास्त हेरेर आनन्द लिन्थे । र अनेक सम्भावनाको सपना बुन्थे ।

त्यसबेला देखेको त्यो सपना, सम्भावना र चुनौती अवसर र विपनामा मात्र बदलेको छैन, समय अन्तरालमा ५ रूपैयाँमा पुनहिलको डाँडोमा बिक्री गर्ने चिया अहिले प्रतिकप ६० रूपैयाँ भन्दा बढी र तातोपानी समेत ५० रुपैयाँ कप बेचिरहेका छन् ।

लुङतुङ डाँडा जहाँबाट सुर्योदयदेखि १८० डिग्रीको कोणमा लहरै उभिएका आठ हजार मिटर भन्दा अग्ला धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे लगायतका हिमालहरू आँखै अघि हेर्न पाइन्छ । जहाँबाट प्लेनहरु त निकै तल उडेको देखिन्छ । अझ चैत्र बैशाखमा डाँडाभरि ढकमक्क फुल्ने लाली गुराँस अनि पुस–माघमा हिउँले सेताम्य मनमोहक दृश्यले जो कसैलाई मोहित तुल्याउँछ ।

घोरेपानीदेखि ४५ मिनेटको पैदल दूरीमा उकालो यात्रा पश्चात पुगिने पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो । पर्यटक आउने क्रमसँगै घार खिवाङका भारतीय सेनाबाट अवकास प्राप्त मेजर टेकबहादुरले यस डाँडाको पर्यटन विकासमा महत्वपूर्ण पहल र प्रयास गरे । टाकुरामा बनाइएको थियो काठको टावर । स्थानीय अगुवा हरि बहादुर पुनको डिजाइनमा स्थानीयबासीको श्रमदान मार्फत पुनहिलबाट दृष्यावलोकनको लागि २०३५ सालमा काठको टावर बनाइएको थियो ।

र यो पनि कथालिका आर्काइभबाट…

पुनहिलः पदमार्गीको पदचाप

स्थानीयका अनुसार पुनले घोरेपानीमा पहिलो पटक बास बस्ने खालको होटल खोलेका थिए । यसअघि तिर्थयात्री र नुन बोक्नेहरु उलेरीमा बास बसेर घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे ।काठको टावर दिगो नभए प्छि मेजर पुनकै ज्वाई लेप्टेन राजु पुनको पहलमा चन्दा संकलन गरि २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यू टावर निर्माण गरिएको हो । जसलाई पछि मेजर पुनकै स्मृति र सम्मानमा ‘पुनहिल’ नामाकरण गरिएको थियो ।

पुन समुदायको चरण क्षेत्रमा रहेको त्यो पुरानो लुङतुङ डाँडा अहिले स्वदेश तथा विदेशमा चर्चित पर्यटकीय गन्तव्यको रुपमा स्थापित छ । पुनहिल भ्रमणमा आउने पर्यटकको सुविधाका लागि घोडेपानीमा सुविधा सम्पन्न होटल तथा पर्यटकीय पुर्वाधार निर्माण गर्नेमा पनि मेजर पुनको नेतृत्वदायक भुमिका रह्यो ।

अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित घोरेपानी ‘पुनहिल’ क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधार बनेको छ । म्याग्दी भ्रमणमा आउने ९० प्रतिशतले भ्रमण गर्ने घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन क्षेत्रमा गहना बनेको छ ।

पुन हिलका पिता मेजर पुनलाई तत्कालीन पञ्चहरूले आफ्नो प्रतिद्वन्द्वी बन्ने ठानेपछि नियोजित रूपमा हत्या गरिएको स्थानीय बताउँछन् ।पुनहिलका मुख्य अभियन्ता मेजर टेकबहादुर पुन र शिखका महिलाहरू माथि पञ्चायती शासकहरुले गरेको ज्यादतीविरुद्ध प्रतिकार गर्दा पाउद्वारका सुरेश सेरपुञ्जा र शिखका हिरालाल पुन सहिद भएका थिए । सहिदद्धय सेरपुञ्जा र पुनको स्मृतिमा स्मारक पार्क तथा प्रतिक्षालय निर्माण गरिने अन्नपूर्ण गाउँपालिकाको योजना छ ।

२०८०, २ आश्विन मंगलवार ०८:४३
कथालिका नयाँ कथा
कथालिका