अयरपानीः दुई जिल्लाको एक साझा घरबास – कथालिका

अयरपानीः दुई जिल्लाको एक साझा घरबास

स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके पछि दुवै जिल्लाका स्थानीय पालिकाले पर्यटन प्रवद्धन र पूर्वाधार विकासका लागि पहल थालेका छन् ।

मिश्रित तर मिलेर बसेको समाज, जहाँ झैझगडा, रिसराग र एकअर्का प्रति बैमनस्यताको खासै गुञ्जायस छैन । सोही गाउँ र सेरोफेरोबाट देखिने सुन्दर हरियाली र रमणीय स्थल । बर्खायाममा त झन् जताततै हरियाली र बिहानीपख गाउँ, डाँडापाखालाई बादलले ढाकेको दृश्यले जो कोही मन्त्रमुग्ध हुन्छन् ।

प्रत्येक जातीको आ–आफ्नै टोल

कास्की र स्याङ्जाको सीमानामा यो गाउँको अर्को अचम्म लाग्ने विषय भनेको विभिन्न जातिको बसोबास छ, तर प्रत्येक जातीको आ–आफ्नै टोल मिलेर बसेको छ । गाउँमा एकअर्कालाई आवश्यक परेको खण्डमा भने सहयोगका लागि सधै तत्पर रहन्छन् यहाँका स्थानीय । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नम्बर-१ र पोखरा महानगरपालिका-२१ को केही भागमा रहेको ‘अयरपानी सामुदायिक घरबास’ एउटा सुन्दर अनि मिलेर बसेको बस्तीमा सञ्चालित छ । जहाँ पुग्दा धेरैलाई लाग्न सक्छ, सहरको भीडभाड, हतार र व्यस्तताको दैनिकीलाई कतै टाढा छोडेर उत्कृष्ट स्थान चयन गरिएछ । केही दिन घुम्न र रमाउनका लागि यो एक उपर्युक्त गन्तव्य हो ।

कोभिडको मारबाट तंग्रिदै अयरपानी
धेरै समय भएको छैन, यस गाउँमा सामुदायिक होम-स्टे सञ्चालनमा आएको । आर्थिक आयआर्जन, गाउँको प्रचार प्रसार, अर्गानिक खानाको प्रवद्र्धन, पर्यटकीय विकास लगायतका सुन्दर सपना सजाउँदै होम-स्टे सञ्चालन गरिएको थियो । तर, कोरोना महामारी सुरु भएपछि होम-स्टे सञ्चालनको सुरुवातमै धक्का लाग्यो । महामारीले विश्व ठप्प हुँदा यो गाउँलाई असर नपुग्ने कुरै भएन । केही स्थानीयले हार मानिसकेका थिए भने केही आशावादी र विश्वस्त थिए कि यो महामारीको समय पनि छिट्टै बितेर जाने छ । मेहेनत र पर्खाइको फल मिठो हुन्छ नै । यहाँका स्थानीयको जीवनमा पनि यही कुरा संयोग बन्यो । कोरोनाको भ्याक्सिन आयो, विश्वभरी आवतजावत सहज हुँदै गयो वातावरण । अनि अयरपानी सामुदायिक होमस्टेमा पर्यटकको आवागमन समेत विस्तारै बढ्न थाल्यो । अहिले अयरपानी होम–स्टे आफूहरुले सोचेको भन्दा राम्रोसँग सञ्चालन भइरहेको स्थानीय बताउँछन् ।

स्याङ्जा सिरुबारीको प्रेरणा

कोरोना महामारी मत्थर हुँदै गयो, गाउँमा पर्यटक आउन थाले अवलोकनका लागि । गाउँमा सुरुदेखि होमस्टे सञ्चालन गरिरहेका ७३ वर्षिय नरकाजी गुरुङ गाउँमा यत्तिकै समय व्यतित गर्नु भन्दा आम्दानी पनि हुने र गाउँ–समाजका लागि राम्रो हुने सोचेर होम–स्टे सञ्चालन गरेको बताउँछन् । आफूहरुले स्याङ्जाको सिरुबारीलाई देखेर प्रोत्साहन मिलेको उनको भनाई छ । ‘गाउँठाउँमा यत्तिकै समय खेर फाल्नु भन्दा आम्दानी र गाउँको पहिचान पनि हुने सोचले अयरपानी होमस्टे सञ्चालनमा ल्याएका हौं,’ उनी भन्छन्, ‘कोरोनामा ठप्पै भएको यो गाउँमा त्यसपछि भने चलायमान भएको छ, आम्दानी सोचे भन्दा राम्रो छ । यही हाम्रो लागि फाइदाजनक कुरा हो ।’ नरकाजीका अनुसार आजभोलि गाउँमा पुग्ने पाहुनाको संख्या केही वृद्धि भएको छ । बेलाबेलामा पर्यटक पाहुना पुगिरहन्छन् । कहिलेकाहीं पाहुनाको संख्या होमस्टेले धान्ने क्षमता भन्दा बढी भइदिन्छ । त्यो अवस्थामा निकै दुःखी हुने उनी बताउँछन् । ‘हामीलाई यहाँभन्दा केही तल पौडेलहरुको घर छ, उनीहरुले सहयोग गर्छन्, यहाँका पाहुनालाई आफ्नो घरमा लगेर राख्छन्,’ उनले भने ।

गाउँ र घरबास

व्यस्त दैनिकीलाई केही क्षण भए पनि बिट मारेर एकान्त, शान्त अनि रमणीय स्थानमा रमाउँ भन्ने जो कोहीलाई लाग्छ । अयरपानी सामुदायिक होमस्टे गन्तव्य स्थल बन्न सक्छ । पोखरा र स्याङ्जाको फेदीखोला हुँदै करिब १ घण्टामा पुग्न सकिने यो सामुदायिक होमस्टे हेर्दा यस्तो लाग्छ, सडक पुगेको छ, तर कुनै दुरदराजको गाउँ होला । अवस्था जे भए पनि यहाँका स्थानीयमा मेलमिलाप छ, तिमी यो जिल्ला, म यो जिल्ला भन्ने कुनै कटुटता छैन, हरेक समुदायमा एकता छ । यहाँका स्थानीय एकअर्काका लागि परिपूरक बनेका छन्, एकअर्कालाई आवश्यक परेको अवस्थामा सहयोग गर्छन्, मिल्छन् र गाउँ बनाउनुपर्छ भन्ने भावना राख्छन् । गाउँमा कहिलेकाही पाहुना धेरै हुन्छन्, रात बिताउने स्थानको अभाव हुन्छ । स्थानीय सबैले समन्वय गरेर जसोतसो व्यवस्था मिलाउँदै आइरहेका छन् । यही अभाव कहिलेकाहीँ स्थानीयलाई खड्किन्छ ।

घरबासले स्थानीयलाई पनि गाउँ तान्दै

होमस्टे सञ्चालक मध्येकै एक बिन्दु गुरुङ आफूहरुको गाउँ ओझेलमा परेको गुनासो गर्छिन् । होम–स्टे सञ्चालनमा आइसकेपछि भने केही उकासिएको उनको भनाई छ । बिन्दुलाई स्थानीय सरकारले पाहुनाका लागि एउटा सामुदायिक घर निर्माण गरेर सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ । ‘होम–स्टे सञ्चालन नहुँदा सम्म यो गाउँ हरेक क्षेत्रबाट ओझेलमा परिसकेको अवस्था थियो, अहिले पाहुना बढी आउँदा रात बिताउन कता पठाउने भन्ने समस्या हुन्छ,’ उनी भन्छिन्, ‘त्यसका लागि स्थानीय सरकारले यहाँ एउटा सामुदायिक भवन निर्माण गरेर सहयोग गरिदिए हामी गाउँले आभारी हुने थियौं ।’ यति मात्रै होइन, बिन्दु गाउँमा गुरुङ संग्रहालय निर्माण हुनुपर्छ भन्ने माग गर्छिन् । अयरपानीमा गुरुङ संग्रहालय निर्माण हुन सकेको खण्डमा पर्यटकलाई अझै बढी आकर्षित गर्न सकिने र यो समुदायको पहिचानलाई जोगाउन सकिने उनको बुझाई छ । हाल नेपालका गाउँ रित्तिएका छन्, बसाइ सराई र सहर झर्ने लहडले गाउँमा घर खण्डहरमा परिणत भएका छन् । यहाँका स्थानीय भने सहर झरेर पनि गाउँमै फर्कने क्रम बढेको बिन्दुले बताइन् । ‘होमस्टे सञ्चालनमा आइसकेपछि यहाँका स्थानीय बजार झर्न छाडिसकेका छन् ।’ उनी भन्छिन्, ‘आफ्नो गाउँ आफैं बनाउँ भन्ने भावना उहाँहरुलाई आइसकेको छ ।’ होम-स्टे सञ्चालन गरेपछि गाउँमा विषेश गरि महिला आत्मनिर्भर बनेकोमा उनलाई खुसी लाग्छ । उनलाई सबैभन्दा खुसी भनेको गाउँका महिला होमस्टेको माध्यमबाट आत्मनिर्भर र आर्थिक रुपमा सबल भएको देख्दा लाग्छ ।

गाउँको उत्पादन बजारमा समेत

‘अयरपानी सामुदायिक होम-स्टे’ का सचिव हुन् राजकुमार गुरुङ । गाउँमा होम–स्टे सञ्चालन हुनु भन्दा अगाडि र भइसके पछिको अवस्थामा आकाश र जमिनको भिन्नता देख्छन् उनी । वैदेशिक रोजगारबाट आएको रेमिट्यान्स र लाहुरेको पेन्सन बाहेक गाउँमै आम्दानी हुन थालेपछि स्थानीयको सोच्ने र काम गर्ने तरिकामा समेत फरक आएको राजकुमारले अनुभव गरेका छन् । ‘कुनै बेला गाउँमा उत्पादन भएको खाद्यान्नले गाउँकै स्थानीयलाई अपुग हन्थ्यो, अहिले हाम्रो गाउँको उत्पादनले बजार पाउन थालेका छन्,’ खुसी हुँदै उनी भन्छन् । होम–स्टेमा पुग्ने पाहुनाका लागि सकेसम्म स्थानीय रुपमा उत्पादन भएका खाद्यान्न प्रयोग गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको उनी बताउँछन् । ‘पारम्परिक ढंगबाट गरिने उत्पादनले नपुग्ने देखिए पछि उत्पादनलाई वृद्धि गर्न आधुनिक तरिका अपनाउन थालेका छौं ।’ राजकुमारले भने, ‘यसको सुरुआत हामीले आधुनिक प्रविधि प्रयोग गरेर कुखुरा पालन सुरु गरेका छौं, अन्य उत्पादनलाई पनि आधुनिक प्रविधिको प्रयोग हाम्रो योजना छ ।’ खाली हुन थालिसकेका गाउँका घरमा होम-स्टे सञ्चालन भएर आम्दानी गर्न थालिसके पछि स्थानीयको जीवनस्तर आर्थिक रुपले धेरै सबल भएको उनले अनुभव गरेका छन् ।

युवा पुस्ता शहर र विदेश, घरबास हाँक्दै बुढापाका

हाल गाउँमा ८ वटा घरमा होमस्टे सञ्चालनमा छन् । जसमा सञ्चालक सबै गुरुङ समुदायका छन् । तर ब्राम्ह्णण समुदायले समेत पाहुना धेरै भयो भने आफ्नो घरमा राखिदिन्छन् । तर, अब भने उनीहरु आफैले पनि होम-स्टे सञ्चालन गर्ने तयारीमा छन् । यो गाउँमा करिब १ सय ५० जना पर्यटकलाई धान्ने क्षमता छ । यो गाउँको अवस्था नेपालका अन्य गाउँको भन्दा भिन्न छैन । धेरै युवापुस्ता सहर झरेका छन्, केही रोजगारीका लागि विदेशमा छन्, केही अध्ययनको शिलशिलामा गाउँ भन्दा बाहिर छन् । हुन पनि प्रायः होम-स्टेमा पुग्दा युवापुस्तालाई कमै देख्न सकिन्छ । वृद्धवृद्धाले व्यवसाय धानिरहेका देखिन्छन् । यो गाउँमा पनि थोरै युवा र धेरै वृद्धवृद्धाले होमस्टे सञ्चालन गरिरहेको देख्न सकिन्छ । वृद्धवृद्धाले खेतीपाती गर्न सक्दैनन्, युवापुस्ता गाउँमा बस्न छोडेपछि स्वभाविक रुपमा खाद्यान्न उत्पादनमा कमी आउँछ । यो गाउँको मुख्य समस्या अहिलेलाई यो पनि हो । सकेसम्म गाउँमै उत्पादन भएको खाद्यान्न पाहुनालाई दिने प्रयास गर्छन् यहाँका स्थानीय होमस्टे सञ्चालक, तर सकिरहेका छैनन् । ‘प्रयास गर्ने हो, तर सकिन्न, बजारबाट ल्याएर दिइन्न भने पनि नसकिने रहेछ ।’ होम-स्टे सञ्चालक नरकाजी भन्छन्, ‘सक्ने बजारतिर छन्, हामी बुढाबुढी खेतबारीमा काम गर्न सक्दैनौं, अनि बजारबाट नल्याएसम्म सुख्खै हुँदैन ।’

प्रायः होम-स्टेमा डुलिरहँदा हामी मध्ये धेरैले देखिरहेकै कुरा हो, कौराह, झ्याउरे, सालैजो लगायत सांस्कृतिक कार्यक्रम पाहुनाका लागि प्रदर्शन गरिन्छ । तर, अयरपानी होमस्टेमा यो परम्परा छैन । यहाँ आफैलाई रमाइलो गर्ने चाहना भए मादल बजाएर टिपिकल नेपाली तरिकाबाट गाउन र नाच्न सकिन्छ । संस्कार र संस्कृतिलाई जोगाएर पर्यटकलाई रमाइलो गराउने चाहना यहाँका स्थानीयलाई नभएको होइन । तर, दुःखको कुरा के हो भने, यहाँ त्यसरी नाच्ने, गाउने र रमाइलो गर्ने युवापुस्ता एकदमै थोरै संख्यामा छन्, उनीहरुलाई पनि होमस्टेमा पुगेका पाहुनाको स्वागत तथा सत्कार गर्दागर्दै समय जान्छ । ‘एउटा कुरा त यो गाउँ त्यति धेरै ठूलो पनि छैन, अर्को भनेको यहाँ नयाँ पुस्ता छैनन् भने पनि हुन्छ, भएकाले पाहुनाको सेवा गर्न प¥यो, अनि कसरी संस्कार अनुसारको नाच देखाउने ?’ स्थानीय श्री माया गुरुङ भन्छिन् । श्रीमायाको सन्तान पनि पोखरामा बस्छन्, उनी र उनको श्रीमान मात्रै अयरपानीमा होमस्टे सञ्चालन गर्छन्, गाउँ पुगेका पाहुनाको भ्याएसम्म सेवा गर्छन् । उनका अनुसार अहिले होमस्टे सञ्चालनमा रहेका घरमध्ये प्राय घरका नयाँपुस्ता बजारमा छन् । गाउँमा बसेर होमस्टे सञ्चालन गर्दै केही भएपनि आर्थिक आम्दानी गर्ने भनेकै वृद्धवृद्धाले मात्रै हो ।

दैनिक १२ सयको प्याकेज

यो होमस्टेमा १२ सय रुपैयाँको प्याकेज हुने गरेको छ । यस अन्तरगतमा गाउँमा पुग्ना साथ सकेसम्म गाउँमै उत्पादन गरिएको खाजाको परिकारसंगै चिया, साँझमा एक छाक मासुसंग खाना सहित भोलिपल्ट बिहानको खाजा तथा खाना पर्छ । केही समय पहिलेसम्म मासुको परिकारका लागि बजारको भर पर्नुपर्ने बाध्यता थियो । तर, अहिले भने होमस्टे सञ्चालकले गाउँमा नै आधुनिक तरिकाबाट कुखुरा पालन सुरु गरेका छन् । त्यसैले पनि मासुका लागि बजारको भर पर्नु नपर्ने श्रीमाया बताउँछिन् । ‘अन्य खानेकुरा त बजारकै भर पर्ने हो, के गर्ने, हामी बुढाबुढी भइयो, काम गर्ने शक्ति छैन, नयाँ पुस्ता गाउँमा छैनन्, काम गर्ने मान्छे नभएपछि खेतबारी बाँझै भए, खाने त उही किनेरै हो,’ श्रीमायाले हाँस्दै भनिन् । गाउँमा होम-स्टे सञ्चालन भएपछि महिला आत्मनिर्भर हुन थालेका छन् । घरभित्र सीमित चुलोचौको कै आधारमा आम्दानी गरेपछि आर्थिक रुपमा बलियो बनेका छन् । आफ्नो शरीरले साथ दिएसम्म काम गर्नुपर्छ, बसेर खान हुँदैन भन्ने सोच अहिले अयरपानीमा लागू भएको छ । भलै युवापुस्ता नभएर बाध्यतावस् होमस्टे सञ्चालन गरिरहेकै किन नहोस्, उनीहरु समेत आर्थिक रुपमा बलियो बनेका छन् । यही विषयले नै होम-स्टे सञ्चालकलाई खुसी तुल्याउँछ ।

महिलालाई आर्थिक रुपमा सबल बनाउन घरबास महत्वपूर्ण

स्याङ्जा र कास्कीको सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके पछि दुवै जिल्लाका स्थानीय पालिकाले प्रवद्धन र पूर्वाधार विकासका लागि पहल गरेका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका तथा पोखरा महानगरपालिका र गण्डकी प्रदेशले समेत यहाँको स्तरोन्नतिका लागि सक्दो सहयोग गरेका छन् । ८ घरमा मात्रै रहेको होमस्टे अब अन्य घरमा समेत सञ्चालन गरेर गाउँको आर्थिक अवस्थालाई चलायमान बनाउने यहाँका स्थानीयको योजना छ । ‘स्याङ्जा, कास्की जुन जिल्लाको भए पनि यहाँ गाउँमा सबै मिलेर एकअर्कालाई साथ दिएर बसेका छौं, खण्डहर भइसकेका घरलाई पुनर्जीवित गराउने योजना छ,’ होम-स्टेका सचिव राजकुमार भन्छन्, ‘ओझेलमा परेको हाम्रो यो गाउँ होमस्टे सञ्चालनमा आइसकेपछि बौरिएको छ, अब पछाडि हट्ने त कुरै आउँदैन, बरु अन्य घरमा होमस्टे विस्तार गर्ने हामी सबैको योजना छ ।’

फेदीखोला गाउँपालिकाका प्रवत्ता अविलाश गुरुङले गाउँघरलाई गुल्जार बनाउन होमस्टेको अवधारणा अघि सारिएको बताए । ‘यो गाउँमा पोखरा महानगर २१ र हाम्रो फेदीखोला गाउँपालिकाको १ नम्बर वडाका बस्ती छन्, जसले पर्यटक पाहुनालाई आकर्षित र आतिथ्यता प्रदान गरेर आयआर्जन मार्फत सबल बन्ने सम्भावना र अवसर प्रशस्त छ , यसका लागि गाउँपालिकाले विशेष प्राथमिकताका साथ होमस्टे स्थापनादेखि प्रवद्धन सम्मको पहल र कार्य गरिरहेको छ,’ प्रवत्ता गुरुङले भने ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आफूले अयरपानी होम-स्टेलाई सक्दो सहयोग गर्ने बताउँछिन् । महिलालाई आर्थिक रुपमा सबल र बलियो बनाउन अहिले होमस्टेले महत्वपूर्ण टेवा पु¥याएको उनले बताइन् । ‘हेरक क्षेत्रमा अब महिलाहरु सशक्त रुपमा अगाडि बढ्नुपर्छ, पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ,’ उनले भनिन् । सहरको भन्दा गाउँको अर्गानिक खानाको स्वाद लिन पाहुना होमस्टे सम्म पुग्ने भएकाले सकेसम्म गाउँमा उत्पादित खाद्यान्न चखाउन समेत उनको होमस्टे सञ्चालकलाई उपमेयर गुरुङको आग्रह छ । पोखराको प्राकृतिक सुन्दरतामा रमाउन आउने हरेक बाह्य तथा आन्तरिक पर्यटकलाई कसरी अयरपानी होमस्टेसम्म ल्याइपु¥याउने भन्ने कुरामा स्थानीय होमस्टे सञ्चालककै भूमिका हुने उपमेयर गुरुङको भनाई छ । ‘पर्यटकलाई बजारको होइन, गाउँकै खाना उपलब्ध गराउनुस्, पोखरासम्म आउने पर्यटकलाई अयरपानीसम्म ल्याउने वातावरण सिर्जना गर्ने भनेकै यहीकै स्थानीयले हो ।’ उनले भनिन् । साथै ‘अयरपानी सामुदायिक होम-स्टे’ लाई आफूले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

 

२०८१, २६ असार मंगलवार ०२:४९
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका