दसैं पछि फेरि सुनसान गाउँ – कथालिका

दसैं पछि फेरि सुनसान गाउँ

  1. गाउँको रौनकता यहाँका युवाहरुसँगै बाहिरिएको छ । दशैंमा देखिने चहल पहल, उत्साह र खुशी भित्र गाउँ र गाउँलेको यथार्थ कथा व्यथा भने त्यो भन्दा निकै भिन्न र दुखान्त छ ।

शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरि लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ । तर, गाउँ र गाउँलेको यथार्थ कथा व्यथा त्यो भन्दा निकै भिन्न र दुखान्त छ ।

गाउँको रौनकता यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र छन् गाउँमा । दसैं मनाउन गाउँ आएका युवाहरू समेत आ–आफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरुसँगै गाउँको रौनक फेरि हराएको छ । दसैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरु साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ ।

बुढापाकाले धानेको गाउँ

उमेरले ८६ वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए । पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरि उनी एक्लै भएका छन् । श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन । एउटै कमी भनेको आफ्ना सन्तान साथमा नहुनु हो ।
उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् । तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान चाहदैनन् । मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि । उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन् ।

अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताए । ’केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशका आफन्तहरुसँगको भेटघाटले दिन बितेको पत्तै भएन,’ उनले भने, ’दसैं सकिएसँगै गाउँ आएकाहरु फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो ।’

गाउँमा जनशक्तिको अभाव

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्राउने समय भएको छ । गाउँमा मानिसहरु खासै छैनन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् ।

बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, ’दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन । दसैं सकिएसँगै गाउँ खाली भयो । अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ । बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन् ।’

गाउँका अधिकांश पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका–७ ताकमका हेम सुवेदीले बताए । गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाईँ जाने क्रम घट्ने मालिका–२ की मीना पुनको अनुमान छ ।

एक दशक अघिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए । अचेल हुने खानेहरु सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताए । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ ।

सदरमुकाम बेनीसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन । यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावना छन् । तर यहाँका अनेकौं सम्भावनाप्रति स्थानीय युवाहरुको रुची छैन । युवाहरु अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुक पुगेका छन् ।

‘गाउँ वृद्धाश्रम जस्तो’

वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, युएई पुगेका छन् । बचेका युवाहरु सहरतिर छन् । दसैं मनाउन जापानबाट पाँच जना आउँदा गाउँको रौनक बेग्लै भएको स्थानीय सुनिल थापाले बताए ।

नौ वर्ष जापान बसेर गाउँ फर्किएका थापा अहिले गाउँमै व्यवसाय गरेर बसेका छन् । उनीसहित १२ जना युवाहरु मात्रै हाल गाउँमा छन् । ती मध्ये सात जना वैदेशिक रोजगारीका लागि जाने तयारीमा छन् । गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाको संख्या दुईसय भन्दा बढी छ । महिला र बालबालिकाहरु छन् ।‘गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु देखिँदैनन् । मर्दापर्दा, दुःख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन्,’ ७४ वर्षिय टेकबहादुर कार्कीले भने ।

विसं २०७८ को जनगणना अनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकोमा कुल जनसंख्या एक लाख सात हजार ३३ छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार छ सय ४१ थियो । पछिल्लो जनगणनामा परिवार संख्या बढे पनि जनसंख्या घटेको छ ।

आठ हजार तीन सय परिवार विदेश

पछिल्लो जनगणनाको नतिजा अनुसार जिल्लामा पुरुषको संख्या ५२ हजार एक सय ५३ छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औसत आकार तीन दशमलव ७१ प्रतिशते छ भने लैङ्गिक अनुपात प्रति सय जना महिलामा पुरुषको संख्या ९५ दशमलव ०३ प्रतिशत छ ।

जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा ‘माइनस’ शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्यातर्फ कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसंख्या भने १० हजार सात सय ६६ रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला १८ सय पाँच छन् ।

२०८१, ५ कार्तिक सोमबार ०५:००
कथालिका नयाँ कथा
कथालिका