कर्मयोगी गंगाः जसले चटपट बेचेर घर चलाउँछन् – कथालिका

कर्मयोगी गंगाः जसले चटपट बेचेर घर चलाउँछन्

  • चटपटवाली अर्थात् गंगा खाती, जसले चटपट बेचेर साना काम र सानो सोचको उपज सिर्जित लाज मेटाएर कर्म प्रतिको लगाव, समर्पण र सम्मानलाई थप उचाइ दिइन् ।

सुन्दर शहर पोखराको बेगनास ताल छेउमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल छ । ‘चटपट आयो, चटपट आयो, खानुहुन्छ दिदी ? भाइ खाने हो ? ताल छेउमा एक महिला आफ्नो चटपटको बिज्ञापन सहित अनुरोध गरिरहेकी छिन् । जसको आवाज, मेहेनत र समर्पणमा परिवारको जीविकोपार्जन गर्ने अभिष्ट झल्किन्छ । आफूलाई घर भन्दा बाहिरको काम गरेर महिला पनि आर्थिक पाटो सबल बनाउन सम्भव भएको उदाहरण पेश गर्न चाहन्छिन् उनी । घरमा बसेर पनि के गर्नु, घामपानी भनिरहन मिल्दैन, आज अल्छि लाग्यो, व्यापार गर्न जान्न भन्न मिल्दैन । नत्र परिवारको जीविका के कसरी सम्हाल्ने भन्ने प्रश्न उनीहरुका अघि पहाड बनेर उभिदिन्छ । चटपटवाली अर्थात् गंगा खाती, जसले चटपट बेचेर साना काम र सानो सोचको उपज सिर्जित लाज मेटाएर कर्म प्रतिको लगाव, समर्पण र सम्मानलाई थप उचाई दिइन् ।

शुरुमा चटपट बेच्न लज्जा र हिनताबोध

ताल छेउकै गाउँ लाकुरी हो उनको घर । गंगाले ताल छेउमा आएर चटपट बेच्दै आफू सहित परिवारको जीविकोपार्जन गर्न थालेको हाल ६,७ वर्ष भइसक्यो । रहरले होइन, बाध्यता र परिस्थितिले उनलाई यो व्यवसायमा ल्याइपु¥यायो । तर, उनलाई कुनै गुनासो छैन । यही आम्दानीले थोरै मात्रामा भए पनि गंगाको घरव्यवहार चल्छ । बेगनासतालमा पुग्ने पर्यटकका लागि स्वादिलो चटपट बनाएर खुवाउनु, त्यसबाटै घर व्यवहार चलाउनु कुनै लाजको विषय नभएको उनी बताउँछिन् । ‘काम सानो ठुलो भन्ने हुँदैन, चोरेर र खराब काम गरेर खानु पो भएन, काम गरेर खानु र परिवारको भरणपोषण गर्न त के को लाज ?’ उनी भन्छिन् । सुरुआतको समयमा त गंगालाई कताकता डकस लाग्थ्यो यो काम गर्न । त्यसमा उनलाई श्रीमानको पनि साथ थिएन सुरुको समयमा । पछि काम गरेर खान लाज मान्नु हुँदैन भन्ने बोध हुँदै गएपछि लाज र हिनताबोध हटेको उनले बताइन् । पछि–पछि श्रीमानलाई बुझाउँदै लगेपछि सहज हुँदै गएको उनको अनुभव छ ।

परिवार चलाउने श्रीमानको आँखामा जब समस्या आयो…

तालको छेउमा आएर यो काम गर्नु उनलाई बाध्यता थियो, तर कर होइन । खासमा उनको श्रीमानले केही समय अगाडिसम्म लामो दुरीको गाडी चलाउँथे, कमाई राम्रै थियो । अझै भनौं परिवारलाई पुगिसरी नभए पनि के खाउँ–के लाउँको अवस्था थिएन, सबै खुसी थिए । तर उनको दैनिकी सोचेको जस्तो हुन सकेन । एकाएक बादल लाग्यो गंगाको जीवनमा । काम गरिरहँदा उनको श्रीमानको आँखामा समस्या आयो । आँखाको समस्याले गाडी नचलाएको लगभग १,२ वर्ष भयो । आम्दानीको स्रोत हुँदा यसरी चटपट बेच्न नजाउ भन्ने श्रीमान अहिले भने जान प्रोत्साहन गर्ने गंगा सुनाउँछिन् । ‘मुस्ताङतिर गाडी चलाउने काम गर्नु हुन्थ्यो, कमाई राम्रै हुन्थ्यो, तर आँखामा समस्या आएपछि छोड्नुभयो ।’ गंगा भन्छिन्, ‘विस्तारै सञ्चो हुँदैछ, अब फेरी गाडी चलाउन सुरु गर्नु हुन्छ होला ।’ अहिले आएर गंगालाई लाग्छ, महिलाले जति कमाई गरे पनि आर्थिक रुपमा सवल र सक्षम हुनु आवश्यक रहेछ । गंगाका दुइ सन्तान छन् । यही व्यवसायबाट भएको आम्दानीले परिवार जेनतेन चलिरहेको छ, सन्तानको आवश्यकता पुरा भइरहेको छ ।

बाधाहरुले बलियो बन्दै गएकी गंगा

जीवनमा समस्या र चुनौती आएपछि जस्तो पनिन समस्या भोग्नुपर्ने रहेछ भन्ने उनलाई लाग्छ । यस्ता धेरै समस्याले उनलाई सतायो, जसले गर्दा अहिले उनको मन यति जब्बर भइसकेको छ कि हरेक पटक जस्तै बाधा अप्ठ्यारा आए पनि उनी बिचलित हुँदिनन् । अब सामना गर्न सकिन्छ जस्तो लाग्ने उनको भनाई छ । ‘हुने खाने भएर, सुख साथ रमाएर बस्ने चाहना हामी जस्ता आर्थिक अभाव भएका व्यक्ति सबैलाई हुन्छ,’ केही भावुक हुँदै उनी भन्छिन्, ‘आफूले चाहेर मात्रै केही नहुने, अहिले आफैंले भोगेपछि थाहा हुँदैछ, चाहेको पूरा नहुने रहेछ जीवनमा ।’ सुरुसुरुमा श्रीमान मात्रै होइन, उनी आफैंलाई चटपट बेच्ने रहर थिएन । परिस्थिति त्यस्तै आएपछि काम गर्नुपर्ने रहेछ भन्ने बुझिन्, लाज मान्नु र घरै बसेर खानु हुँदैन भन्ने उनलाई लाग्यो । अहिले भने उनलाई यो पेसामा लागेर आम्दानी गर्न थालेपछि भने कुनै गुनासो छैन, लाज र यस्तो काम किन गरेछु भन्ने सोँच छैन । उल्टो आफ्नै कमाई र केही गरेर खान सक्ने रहेछु भन्ने सोचले गर्दा गर्व गर्छिन् । अहिले बेगनास ताल वरपर घुम्न आएका पर्यटकलाई चटपट खुवाएर ग्राहक बढाइरहेका छन्, लोभ्याइरहेकी छिन् ।

हुन त सधैं एकनास राम्रै कमाई हुन्छ भन्ने हुँदैन । दैनिक बेगनास तालको छेउछाउ भेटिने उनी भन्छिन्, ‘भन्नै सकिन्न कमाई त । बर्खाको समयमा त्यति धेरै हुँदैन, जति जाडोयाममा हुन्छ ।’ अहिले सडक निर्माणका काम भइरहेको छ, त्यसैले बेगनास तालसम्म पुग्ने बाटो त्यति सहज छैन । त्यसैले होला, भ्रमण र तालको रमणीय दुष्य अवलोकनका लागि बेगनाससम्म पुग्ने पर्यटकको संख्या पनि निकै कम भइरहेको अवस्था छ । विदेशी पर्यटक त्यति देखिदैनन्, आन्तरिक पर्यटक पनि केही संख्यामा मात्रै पुगिरहेका हुन्छन् । यस्तोमा गंगाको त्यति धेरै आम्दानी छैन, तर चित्त बुझाउनुपर्छ । आन्तरिक पर्यटक बढी पुग्ने स्थान भएकाले कहिलेकाहीं राम्रै आम्दानी गरेको गंगाको अनुभव छ । ‘आम्दानी त कहिले दिनको २ सय पनि हुँदैन, कहिले २ हजार बढी हुन्छ,’ उनी भन्छिन्, ‘हाम्रो व्यापार नै यस्तै हो, आम्दानी थोरै भए पनि चित्त बुझाउनुप¥यो ।’ हिउँदमा चटपट व्यवसायीका लागि सबैभन्दा राम्रो समय भएको उनले यो अवधीमा बुझेकी छिन् । बेगनासताल घुम्न आउने सडक सहज रुपमा सञ्चालनमा आउन सके आफू जस्तै अन्य साना व्यापारीलाई आम्दानी गर्न सहज हुने उनको बुझाई छ । ‘तर खै के पो गर्न सक्छु र ? यस्तो भइदिए हुन्थ्यो, उस्तै भइदिए हन्थ्यो भन्ने मात्रै हो हामीले त ।’ उनी भन्छिन्, ‘हाम्रो कुरा सुनिने भए यो अवस्था पनि फेरिन्थ्यो होला ।’

समस्या त सबैलाई पर्दो रहेछ नि !

जीवन संघर्ष हो र यसलाई भरपुर जिउनुपर्छ भन्ने गंगालाई लाग्छ, सुरुको समयमा आफ्नो समस्या भोगिरहँदा आफैंलाई मात्रै समस्या परेको हो कि जस्तो लाग्थ्यो । तर, आम्दानीका लागि चटपट व्यापार गर्न थालिसके पछि अनेकन व्यक्ति भेटिन् र उनीहरुको जीवनका कथा सुन्ने, बुझ्ने मौका पाइन । अनि मात्रै गंगाले समस्या मेरो मात्रै होइन रहेछ भन्ने बुझ्न थालेकी हुन् । तालको छेउमा बसेर मिठो बोली सहित पर्यटकलाई बोलाउँदा आजभोलि उनलाई लाज होइन, केही काम गरिरहेको छु भन्ने सोच आउँदा गर्वको अनुभव हुन्छ । तालको छेउमा बसिरहँदा कहिले घाम त कहिले पानी हुन्छ, तर उनलाई कुनै गुनासो छैन । ‘जीवन पनि त घाम र छाँयाको मिश्रण हो, कहिले सुख त कहिले दुःख, जसरी पनि भोग्नै पर्छ, त्यसैले खास गुनासो छैन,’ उनी भन्छिन् । दिउँसै आइपुग्ने उनी झिमिक्कै रात पर्न लागिसकेपछि मात्रै घर फर्किन्छिन् । घर पुगेपछि उनको फेरी घरयासी काम सुरु हुन्छ । घरमा परिवारलाई चित्त बुझाएपछि उनले आराम गर्ने मौका पाउँछिन् । बिहानीको सूर्य उदाएपछि फेरी उही दैनिकी । घरको काम अनि बेगनासतालको छेउमा पर्यटकका लागि स्वादिलो चटपट बनाउनु । यही दैनिकीमा खुसी छिन् उनी । ‘सुखमै बसौंला भन्ने रहर सबैलाई हुने रहेछ, तर सबैको इच्छा पुरा नहुने पनि त रहेछ,’ उनी भन्छिन्, ‘म यही सानो कामबाट खुसी छु, परिवार खुसी छन्, घर धान्न सहयोग भइरहेको छ, मेरो लागि यही सबैभन्दा ठूलो कुरा हो ।’

२०८२, ३० बैशाख मंगलवार ०७:००
कथालिका नयाँ कथा
कथालिका