रैथाने बाली जोगाउन बीउ बैंक – कथालिका

रैथाने बाली जोगाउन बीउ बैंक

  • नेपालमा केन्द्रमा जीन बैंक र त्यसअन्तर्गत फिल्ड जिन बैंक, तन्तु प्रविधि प्रयोगशाला तथा तन्तु बैंक, मल्टिकुलर प्रयोगशाला तथा डिएनए बैंक छन् भने स्थानीय किसानसँगको सहकार्यमा देशका विभिन्न स्थानमा ७५ वटा जति सामुदायिक बीउ बैंक छन् ।

पहिलेको समय यस्तो थियो कि नेपालका हरेक घर नै बीउ बैंक जस्ता लाग्थे । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको टालो (कपडा)मा । त्यहीमध्ये सप्रेका चीजबाट बीउ छानेर राख्ने चलन व्याप्त थियो । अनि सिजन आएपछि आफूले पनि रोप्थे, छिमेकीलाई पनि दिन्थे । बीउ समेत ऐँचोपैँचो हुन्थ्यो ।

परम्परागत बीउ संरक्षण अभ्यास संकटमा

हुन पनि केही दशक अघि सम्म पनि धेरैजसो किसानले आफूलाई चाहिने बीउ परम्परागत शैलीमा संरक्षण गर्थे, त्यसैबाट जैविक खेती प्रणाली जोगाइरहेका थिए । पछिल्लो सयम जलवायु परिवर्तन, आधुनिक बालिहरूको बढ्दो प्रयोग र बजारमुखी कृषि प्रणालीका कारण परम्परागत बीउ संरक्षण अभ्यास संकटमा छ । ‘अचेल समय बदलिएको छ, समाज फेरिएको छ । न अहिले पहिले जस्तो बीउ पाइन्छ, न त समाज नै,’ रैथाने एग्री प्रोडक्टका अध्यक्ष तिलक ढकाल भन्छन् । नेपालका धेरै कृषि आनुवंशिक स्रोत अहिले संकटमा छन् ।

र्का संरक्षण अभियन्ता मथुरा खनाल पनि परम्परागत रैथाने आनुवंशिक स्रोतहरू संकटमा पर्न थालेकामा चिन्ता व्यक्त गर्छन् । ‘पहिले बाउबाजेका पालामा राम्रो उब्जनी हुने अन्नबाली अचेल देखिँदैनन् । हाम्रो जीवनकालमा खेतबारीमा हुने धान, मकै, गहुँ, फलफूल तथा तरकारी बाली पनि हराउँदै गएका छन्’, उनी भन्छन्, ‘यसमा बालीको कुरा मात्रै होइन वन स्रोत, सूक्ष्म जीवाणुको कुरा पनि आउँछ । यस्तै अवस्था रहने र बाँकी रहेका लोपोन्मुख, दुर्लभ तथा विशेष गुण भएका कृषि आनुवंशिक स्रोत संरक्षणका लागि पहल नहुने हो भने निकै समस्या आउने निश्चित प्रायः छ ।’

आधुनिकीकरणका नाममा रैथाने स्रोतको संरक्षणमा बेवास्ता

बाली हराउँदै गएको भन्दा पनि हामीले उन्नत जातका नाममा तिनलाई छोड्दै गएकाले समस्या भएको पाइएको छ । रैथाने बाली तथा स्रोतले त पुस्तौँ पुस्तादेखि नेपाली माटो, भूगोल (रिजान), हावापानी (सिजन) चिनेका छन् । पुस्तौँसम्म बीउ बन्ने सामथ्र्य राख्छन् । ‘हामी भने धेरै फल्ने र नफल्नेमै अल्झियौँ, सरकारले पनि कृषि आधुनिकीकरणका नाममा रैथाने स्रोतको संरक्षण गर्न सकेन’, ढकाल भन्छन्, “अब चेत्नुपर्ने बेला आएको छ । बीउ नै रहेन भने समस्या झन् विकराल बन्नेवाला छ । त्यसैले हरेक घर र समाजमा रहेका बहुबाली प्रथा, त्यससँग जोडिएका मौलिक सीप र ज्ञान जोगाउँदै जानुपर्छ ।’ यसका लागि रैथाने बाली तथा कृषि जैविक विविधताका स्रोत संरक्षण, त्यसको प्रवद्र्धन र बजारीकरणको सुनिश्चितता गरी यसैबाट धनी बन्न सकिन्छ भन्ने सन्देश फैलाउन जरुरी रहेको उनको भनाइ छ ।

अभियन्ता खनालका अनुसार नेपाललाई विश्वकै जीवन्त जैविक विविधताको संग्रहालय भनिन्छ तर जलवायु संकटका कारण यहाँका धेरै जैविक विविधतामाथि क्षति बेहोर्नु परेको छ । पछिल्लो दशक नेपालका अधिकांश रैथाने स्रोत मानवीय क्रियाकलाप, उन्नत जातको प्रयोग र एँेजेरु जस्ता वनमाराका कारण थप समस्यामा परेको छ । वातावरणविद् खनाल नेपालका रैथाने र परम्परागत ज्ञानको नाश हुनु अझ डरलाग्दो विषय भएको बताउँछन् ।

‘हाम्रा जमिन बाँझो र कृषक पलायन हुँदैछन् । यसको अर्थ हाम्रो परम्परागत ज्ञान नै लोप हुने खतरा छ । रैथाने ज्ञान र श्रम अभ्यास नै लोप हुने अवस्थाले हामी हरेक वस्तुमा परनिर्भरतातर्फ गइरहेका छौँ । यसले हामीलाई कुन दिशातिर लैजाँदैछ भनेर गम्भीर समीक्षा गरौँ’, उनी भन्छिन्, “यस्तो अवस्थामा जीन बैंकजस्ता प्रविधिको प्रयोगमार्फत स्रोतको संरक्षण र तिनको सामाजिकीकरणका लागि काम गर्नुपर्ने आवश्यकता छ । प्रयोगशालाको उपयोग र परम्परागत कृषि ज्ञानको प्रसारलाई सँगसँगै अगाडि बढाउन लाग्नुपर्छ ।’

रैथाने तथा स्थानीय जात ५० प्रतिशतसम्म लोप

मानव स्वास्थ्य, आर्थिक उन्नति र खाद्य सम्प्रभूता प्रकृतिमाथि नै अडेको छ तर यही प्रकृति हिजोआज जटिल समस्यामा छ । विभिन्न अध्ययनले पारिस्थितिकीय प्रणालीको ह्रासले गर्दा विश्वका ४० प्रतिशत मानिस आफ्नो समुन्नतिबाट वञ्चित भएका भनेर औँल्याएका छन् । नेपालकै कुरा गर्ने हो भने यहाँको कृषि जैविक विविधतामा गम्भीर संकट आउँदा धेरै मानिसहरू आन्तरिक आप्रवासन, थातथलोबाट विस्थापन भई गम्भीर आर्थिक, सामाजिक र परम्परागत ज्ञान हस्तान्तरण गर्ने अवस्थाबाट वञ्चित भइरहेका छन् ।

कृषि अनुसन्धान परिषद् (नार्क)कै तथ्यांक अनुसार नेपालमा रहेका हजारौँ स्रोत मध्ये करिब ४० प्रतिशत कृषि जैविक विविधता लोप भइसकेका छन् । जबकि यहाँ २४ हजार ३०० प्रजाति मध्ये २८ प्रतिशत अर्थात् छ हजार ६१८ प्रजाति कृषि आनुवंशिक स्रोत रहेका र जसका करिब एक लाख भूमि–जात रहेको बताउने गरिएको थियो । जानकारहरूका अनुसार नेपालमा करिब ३० हजार रैथाने बाली छन् । नेपालमा करिब एक हजार २६ प्रजातिका बाली, ५१० घाँसे बाली, ३५ घरपालुवा जनावर, २३६ माछा, २५० जलीय अन्य कृषि जनावर, १७ जलीय वनस्पति, तीन हजार ५०० कीरा र ८०० सूक्ष्म जीवाणु छन् । नेपाल ११ जाति र २९ प्रजातिका खाद्य बालीहरू तथा छ जाति र १२ प्रजातिका वागवानी बालीहरू उत्पत्तिको प्राथमिक केन्द्र मानिन्छ । यसैगरी, यहाँ विभिन्न जङ्गली नातेदार वनस्पतिमध्ये १० जातिका १३ प्रजाति रहेको भन्ने गरिन्छ ।

नेपाल सरकारको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क) का सूचना अधिकारी डा मुकुन्द भट्टराई विकासे भनेर विदेशबाट आउने जातहरूले प्राथमिकता पाउँदा नेपालका रैथाने तथा स्थानीय जात ५० प्रतिशतसम्म लोप भइसकेका बताउँछन् । “अब सरकार, सबै सरोकार भएकाहरू गम्भीर नबनेमा र स्थानीय जातलाई जथाभावी आधुनिक उन्नत जातले विस्थापन गरिरहेमा आगामी दशक करिब २५ प्रतिशत बालीका जङ्गली नातेदार लोभ भई कृषि जैविक विविधता संरक्षणमा चुनौती थपिने छ”, उनी भन्छन्, “यसर्थ भविष्यको दिगो खाद्य र पोषण सुरक्षाका लागि आनुवंशिक विविधता र बाली प्रजनन प्रणालीमा जोड दिन आवश्यक छ । यसका लागि वर्तमान मौजुदा विविधताको संरक्षण तथा तिनमा अनुसन्धानकर्ता, प्रजननकर्ता र कृषकहरूको पहुँच सुनिश्चित गरिनुपर्दछ ।”

संकट टार्न बीउ बैंक अभियान

दिगो विकास लक्ष्यले सन् २०३० सम्म सबै मानिसहरूलाई वर्षभरि सुरक्षित, पोषिलो र पर्याप्त खाना सुनिश्चित गर्दै भोकमरी अन्त्य गर्ने र कुपोषणका सबै रूपहरूको उन्मूलन गर्ने भनेको छ । यद्यपि, हालसम्मको अवस्था चिन्ताजनक छ । विश्व खाद्य सङ्गठन (एफएओ)को एक ‘रिपोर्ट’अनुसार सन् २०२३ मा अनुमानित रूपमा ७१३ देखि ७५७ मिलियन मानिसहरू (विश्व जनसंख्याको ८.९ देखि ९.४ प्रतिशत) ले भोकको सामना गरेका थिए । यदि यसको मध्यम सीमा (७३३ मिलियन) लाई आधार मान्ने हो भने यो सन् २०१९ को तुलनामा करिब १५२ मिलियन भन्दा बढी मानिसहरू भोकको चपेटामा परेका हुन् ।

नेपालमा ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेसामा निर्भर छन् तर कृषि उत्पादनमा ह्रास आँदा बर्सेनि अर्बौं रुपैयाँको खाद्यवस्तु निर्यात गर्नु परिरहेको छ । १५औँ पञ्चवर्षीय योजना अनुसार नेपालका २१ प्रतिशत जनसङ्ख्यामा पर्याप्त खाद्यको पहुँच छैन । यस्तो अवस्थामा कृषि आनुवंशिक स्रोतमा भने गम्भीर क्षति पुगेको छ । यसले गर्दा उपयुक्त कृषि जैविक विविधताको अभावमा नेपाललगायत समग्र विश्वले गम्भीर खाद्य सङ्कटको सामना गर्नुपर्ने विज्ञले चेतावनी दिने गरेका छन् । यसलाई एफएओको तथ्याङ्कले समेत पुष्टि गर्छ । उक्त संस्थाका अनुसार गत बीसौँ शताब्दीमा मात्रै विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिने गरी करिब ७५ प्रतिशतले ह्रास आएको छ । उसले आफ्ना विवरणमा भनेको छ, “विश्व जनसङ्ख्या वृद्धिदर, जलवायु परिवर्तन, भूमिको क्षय र विश्वव्यापी सङ्कट तथा द्वन्द्वको सामना गरिरहेको सन्दर्भमा यी आनुवंशिक स्रोतहरूको विविधता हाल र भविष्यका चुनौतीसँग अनुकूलन गर्नका लागि अत्यन्त आवश्यक बनिरहेको छ ।”

यी विविध कारण हाल विश्व्यापी रूपमै कृषि आनुवंशिक स्रोतको संरक्षणका पहल भइरहेका छन् । यसका लागि दिगो विकासको लक्ष्य नं २ को (५) मा सन् २०२० सम्म बीउ, खेती गरिने बोटबिरुवा, फार्म एवं पशुपालन र तिनका जङ्गली प्रजातिहरुको संरक्षणलाई प्राथमिकता दिई विभिन्न बीउ, बिरुवा एवं लोपोन्मुख पशुहरूको डिएनए बैङ्क र सामुदायिक बीउ बैङ्कको विस्तार गर्न लक्ष्य निर्धारण गरिएको थियो ।

देशका ७५ सामुदायिक बीउ बैंक
नेपाल सरकारले लक्ष्य, जैविक विविधता महासन्धि, खाद्य र कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोतहरूसम्बन्धी अन्तरराष्ट्रिय सन्धिअनुसारका गतिविधि अगाडि बढाइरहेको छ । कृषि जैविक विविधता नीति २०६३ अनुसार राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) स्थापना गरिएको छ । त्यसै आधारमा सामुदायिक बीउ बैंक कार्यक्रम कार्यान्वयन निर्देशिका २०६५ र सामुदायिक बीउ बैङ्क स्थापना कार्यान्वयन कार्यविधि २०७२ ल्याई यसको कार्यान्वयन अघि बढाइसकेको छ ।

विक्रम संवत् २०६७ असोज २१ गते स्थापित जिन बैंकले कृषि आनुवंशिक स्रोतको सदुपयोग र प्रवद्र्धनका लागि खोज, अनुसन्धान, संकलन र संरक्षणको काम गरिरहेको केन्द्र प्रमुख डा. बालकृष्ण जोशीले बताए । खाद्य तथा पोषण सुरक्षा, जीवनस्तर र आर्थिक समृद्धिका निम्ति सम्पूर्ण कृषि आनुवंशिक स्रोतहरुको संरक्षण तथा उपयोगको मिसनसहित बैंकले आनुवंशिक स्रोतहरुको मूल्यांकन गरी गुण–विशेषका आनुवंशिक चिह्नहरु पत्ता लगाउनाका साथै पूर्व प्रजननद्वारा उन्नत तथा उपर्युक्त जात छनोट गर्ने र प्रजननकर्ता तथा कृषकहरुलाई उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

यसका लागि नेपालमा केन्द्रमा जीन बैंक र त्यसअन्तर्गत फिल्ड जिन बैंक, तन्तु प्रविधि प्रयोगशाला तथा तन्तु बैंक, मल्टिकुलर प्रयोगशाला तथा डिएनए बैंक छन् भने स्थानीय किसानसँगको सहकार्यमा देशका विभिन्न स्थानमा ७५ वटा जति सामुदायिक बीउ बैंक छन् । विभिन्न प्रकारका यी बैंकहरूमा नेपालका करिब ३०० प्रजातिका २० हजार भन्दा बढी कृषि आनुवंशिक स्रोत संरक्षण गरिएका छन् । त्यसबाहेक विश्वका विभिन्न २५ देशका अन्तर्राष्ट्रिय बैंकमा २५ हजार २९७ नेपालका रैथाने आनुवंशिक स्रोत (बाल तथा वागवानी र सूक्ष्म जीवाणु लगायत) सुरक्षित राखिएको केन्द्र प्रमुख डा.जोशीले जानकारी दिए ।

बैंकमा एक लाख संकलन राख्ने क्षमताको ५०—१०० वर्षसम्म बीउ संरक्षण गर्ने दीर्घकालीन, ५० हजार क्षमताको १०—१५ वर्षसम्म संरक्षण गर्नसक्ने मध्यमकालीन र प्राकृतिक तापक्रम तथा आद्रतामा अल्पकालीन मौसमी भण्डारण कक्ष रहेका छन् । यहाँ संस्था र व्यक्तिले पनि निःशुल्क रूपमा आफ्ना बीउ राख्नसक्ने ‘लकर’ सुविधा छ ।

२०८२, १४ जेष्ठ मंगलवार ०८:३८
कथालिका नयाँ कथा
कथालिका