- पछिल्लो ४ दिन न राम्ररी निदाउन सके, न एकछिन मोवाइलमा मुलुकको अपडेट नहेरी बस्न नै सके । आफ्नो बशमा गर्न सक्ने केही थिएन । सामाजिक सञ्जाल स्क्रोल गर्दा देश र विदेशमा रहेका अरु धेरै यस्तै छटपटीमा रहेको पाए । आखिर किन यस्तो भइरहेछ ? अनि खोज्दै र सोच्दै जाँदा यहाँ त मैले मेरो देश प्रेम भेटे, नागरिकता इतरको नेपाली हुनुको जिवन्त प्रमाण र अनुभूति भेटे ।
पछिल्लो ४ दिन अर्थात् ९६ घण्टा तपाईहरुको कसरी बित्यो ? आफ्नो बशमा गर्न सकिने केही थिएन । तर, उदाउँदा विद्यार्थीको मृत्यु, सैनिकश शासन, पूर्व राजालाई पदासीन बनाउने हल्ला र संशयले देश जस्तै अस्थिर, अन्यौल र भयभित भइरहे । सायद त्यो नेपाली हुनुको परिचय र प्रेम होला । यो साता देशले जे घटना र संकट भोग्यो, अनि देशले भोग्दा एक सामान्य नागरिकका रुपमा मैले जे देखे, भोगे, महुशुस गरे । त्यो निकै सकसपूर्ण, भयभित र अत्यासलाग्दो रह्यो ।
आखिर देश भनेको भुगोल मात्र रहेनछ, भावना पनि रहेछ । माटो मात्र होइन, मन पनि रहेछ । नेपालीपन, नेपालीमन बोकेर बाँचिरहेको हर जो कोही देश दुख्दा नदुख्ने भन्ने हुँदो रहनेछ । चाहे देशकै भुगोलमा होउन् या सीमा पारी परदेशमा । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध भाद्र २३,२४ को जेनजी आन्दोलन, आन्दोलित विद्यार्थी, युवा माथि राज्यको क्रुर दमन, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, शीर्ष नेताहरु सैनिकको शरण वा अघोषित नजरबन्दमा । अधिकांश शीर्ष नेताहरुको निजी घरमा पनि आगजनी । जेनजीको नाममा सरकारी, सार्वजनिक र निजी सम्पत्ति माथि गरिएको आगजनी, तोडफोड, लुटपाट, राज्यमा शून्यता, संकट र अन्यौलग्रस्त निकासको दृश्यले जो कोही मन क्षतविक्षत भयो । जनआन्दोलन बिर्सायो, जबरजस्त अरु काला दिनहरु फिक्का बनाइ दियो । एक असल शासक नहुँदा या परिस्थितिको सही समयमा सही बिश्लेषण गरेर कदम चाल्न नसक्दा देशले कति भयानक दुर्दशा बेहोर्नु पर्छ, अहिलेको घटना काफी छ ।
एक मनले यो देशको घटना, समस्या, जटिलता, समाधान आफ्नो बशको विषय नै होइन, तिम यति धेरै दुःखी र निराश बनेर किन आफ्नो टाउँको दुखाउनु ? भनेर आफैले आफैलाई पटक–पटक कन्भिन्स गर्न पनि प्रयास गरे । तर, न राम्ररी निदाउन सके, न एकछिन मोवाइलमा मुलुकको अपडेट नहेरी बस्न नै सके । आफ्नो बशमा गर्न सक्ने केही थिएन । सामाजिक सञ्जाल स्क्रोल गर्दा देश र विदेशमा रहेका अरु धेरै यस्तै छटपटीमा रहेको पाए । आखिर किन यस्तो भइरहेछ ? अनि खोज्दै र सोच्दै जाँदा यहाँ त मैले मेरो देश प्रेम अर्थात् नागरिकता इतरको नेपाली हुनुको जिवन्त प्रमाण र अनुभूति भेटे । नेपालीमन भेटे, नेपालीपन भेटे ।
पहिलो, जेनजीको आन्दोलन, त्यही साँझ चुनावको मतपरिणाम जस्तै क्षण–क्षणमा थपिरहेको कलिला विद्यार्थी सहित मृतकको विवरण । अहो, यति भयानक, स्तब्ध, अत्यासलाग्दो क्षण मैले पहिलो पटक नजिकबाट नियाले । पीडाको चरम यति बिघ्न महुशुस हुँदै थियो कि मृतकका परिवार, आफन्त, सँगै मैदानमा रहँदै छेउमै साथी भाइ गोली लागेर ढलेको देखेका, उद्धार र उपचारमा काँधमा बोकेर अस्पताल पु¥याएका जेनजीका मनमा झन् अझ के बितेको होला ?
दोस्रो, आन्दोलनको दोस्रो दिन जब नयाँ बानेश्वरमा सुरक्षामा खटिएका प्रहरीले हात उठाएर हिँडे, अनि जेनजी आन्दोलनको नाममा संसद भवन जलाउन थालियो । त्यसबेला सम्म पनि विद्यार्थी हत्याको आक्रोशमा स्वभाविक रुपमै लिए । तर, जब त्यहाँबाट केहीबेरमा बबरमहल, सिंहदरबार पुगे, म सडक विभाग, सर्वोच्च अदालत, सिंहदरबारमा गरिएको आगजनी, अराजकता, लुटपाट देखेर अवाक भए । नजिकै नेपाली सेनाको जङ्गी अड्डा सिंहदरबार सम्म त जोगिन्छ होला भन्ने थियो तर, सेना मुकदर्शक नै बन्यो । आखिर देशमा के भइरहेछ ? म थप रन्थनिएँ । सिंहरदरबारमा राति आगो दन्किरहेको थियो, आकाश धुवामय बनिरहेको थियो । भौतिक संरचना, ऐतिहासिक दस्ताबेज जोगाउन सम्भव हुँदा–हुँदै पनि न नियन्त्रणका लागि सेना आयो, न दमकल नै । यो भयानक दृश्य म त धेरैबेर हेर्नै सकिन । तर, मध्यरात सम्म देशको यो दुर्दान्त दृश्यले पीडा दिइरह्यो ।’
तेस्रो, घटना पछिको अर्को दिन नेपाली सैनिक सडकमा आइसकेको थियो । अन्तरिम सरकार गठनका लागि जेनजी र सेनापति बिच वार्ता पहल र संवाद भइरहेको थियो । प्रधानमन्त्रीका लागि दुर्गा प्रसाइ, हर्क साम्पाङले प्रधानसेनापति भेटेर अनुनय गर्ने र जेनजी भिन्न–भिन्न समूहमा विभाजित भएर जंगी अड्डा अघि प्रदर्शन गर्न थाले पछि प्रधानमन्त्रीको लागि नाम र नम्बर टिपाएर जान सेनाले माइकिङ गरेको दृश्य साँच्चिकै दुर्दान्त खालको थियो । मध्यरात सम्म पुग्दा पाचखाल लगायतका स्थानबाट कामठाडौं केन्द्रित सेनाको आगमन, आकाशतिर सेनाको नाइट भिजन, निद्रो बिथोल्ने र झस्काइरहने निरन्तर जहाजको आवाज, भारतिय नम्बर प्लेटका बख्तरबन्द गाडीका दृश्य, दुर्गा प्रसाइँ वार्ताका लागि जंगी अड्डा प्रवेश, सञ्चार माध्यमिक, सामाजिक सञ्जालमा राजा ब्युँत्याउने र सेनाले सत्ता हातमा ल्याउन लागेको विषयले तरंगित बनिरह्यो । जेनजी आन्दोलन, ५१ जनाको बलिदान, २०६२/६३ मा नेपाली जनताले कुर्बानी गरेर स्थापित गरेको उन्नत गणतन्त्रात्मक व्यवस्था र संविधान कोल्याप्स हुने भयले आक्रान्त बनायो । हुन त जनताबाट निर्वाचित सांसदहरुको सार्वभौम थलो प्रतिनिधि सभा विघटन गर्ने सहमति बनेको छ । यसका बाबजुद पनि संविधान जोगिएको छ । जेनजीको माग र चाहना अनुसार नै देश अघि बढ्ने भएको छ । मुलुकले न्यायिक अनुभवी पहिलो महिला प्रधानमन्त्रीको रुपमा शुशिला कार्की पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निकै जटिल संकटमा मध्यमार्गी विकल्प अपनाएका छन्, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयकारी भूमिका पनि स्मरणीय छ । यद्यपि, आँखै अघिको सिंहदरवार जल्ने अवस्था र जलिरहँदा पनि किन मौनता साँधिरह्यो भन्ने प्रश्न र संशय कायमै छ ।
अन्त्यमा, अनेकन भय, अडक्लबाजी, शून्यता र संकटबाट मुलुकले एक चरणको निकास पाएको छ । प्रतिनिधि सभा विघटन भएको छ तर, जेनजीको प्रस्तावमा मुलुकले पहिलो महिला प्रधानमन्त्रीको रुपमा शुशिला कार्की पाएको छ । ६ महिनामा निर्वाचन सहित जे कार्यभार पाएको छ, त्यो पुरा गरेर मुलुकलाई फेरि लयवद्ध गर्ने दिशामा देश अघि बढोस्, प्रश्न र खबरदारी गर्दै हात लागेको सत्तामा अब जेनजी पुस्ता स्वयंम् प्रश्न गर्ने होइन, कर्मबाटै उत्तर दिने ठाउँमा पुगेको छ, यसमा जेनजी मात्र होइन, सिंगो नेपालीमा आशा, सम्भावना र समृद्धिको सञ्चार गराउने गरी अघि बढ्नुको अरु कुनै विकल्प छैन । आजीवन सत्ताको हिमायती ठानिरहेका पुराना नेता र राजनीतिक दलहरुलाई जेनजीले तत्कालका लागि किनारा लगाइदिएका छन् र अन्तिम पटक सच्चिएर सुध्रिएर आउने कि सकिने विकल्प रोज्न बाध्यात्मक अवस्थामा पु¥ाइदिएका छन् । जेनजीको यस अभूतपूर्व आन्दोलन र त्यसबाट चामत्कारिक रुपमा आर्जित सत्ता (सरकार)ले पनि आशातीत बनाउने गरी काम गर्न सकेन भने त्यो जेनजीका लागि मात्र होइन, जेन अल्फाका लागि पनि दुर्भाग्यपूर्ण हुनेछ ।