अल्पायुमै अस्ताइन् एक खुट्टाले नाच्ने ‘जादुमयी कत्थक’ – कथालिका

अल्पायुमै अस्ताइन् एक खुट्टाले नाच्ने ‘जादुमयी कत्थक’

  • हेर्दाहेर्दै ‘बिचरी’ भनिएकी सीता मानिसका लागि प्रेरणा पो बन्न पुगिन् । उनीकहाँ अन्तर्वार्ता लिन भनेर क्यामेरा तेर्सिन पनि थाले । तर, दुर्भाग्य दैवको आँखा लाग्यो र ४० वर्षकै उमेरमा संसारबाट बिदा भइन् ।

चर्चित नृत्यांगना सीता सुवेदीले हृदयस्पर्शी गीत लेख्दै गुनगुनाएकी थिइन्, जसको एउटा टुक्रा यस्तो थियो-
एउटा एउटा चट्टान फोडेर, मर्न मन छ
आफ्नै कान्ला अनि बारी, गोडेर मर्न मन छ
हे युवा तिमीहरू विश्वभर भौंतारिएको देख्दा
मलाई नेपाल लेखेको च्यादर ओढेर मर्न मन छ ।

उनै सीता जादुमयी कत्थक नृत्यांगनाको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । चितवन घर भएकी सुवेदी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् ।

एक खुट्टाले नाचेर भिन्न पहिचान बनाएकी सीता

सीता एक खुट्टाले नाचेर देशमा भिन्न पहिचान बनाइन् । उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएर दर्शकको अपार माया बटुलिएकी थिइन् । साथै, अन्तर्राष्ट्रियस्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।

उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।

कोरोना भाइरसले सुनसान हुनुअघि दक्षिण कोरियामा सीताको एकखुट्टे कत्थकले दर्शकको उल्लेख्य मन जितेको थियो । ‘वन वल्र्ड वन फेमिली’ नामको अन्तर्राष्ट्रिय कार्यक्रममा नाच्न कोरियाका ह्वीलचियर नर्तक किमको निम्तो मानेर त्यहाँ पुगेकी सीताको नृत्य यति लोकप्रिय भयो कि उनी थप अढाई महिना त्यही बसेर १३ वटा कार्यक्रममा नाच्ने अवसर जुरेको थियो ।

जब १२ वर्षको उमेरमा खुट्टा गुमाइन्…

सीता सानैदेखि नाच्न उधुमै मन गर्थिन् र नाच्थिन् पनि । तर, उनका गोडा अचानकसँग थामिन पुगे एक दिन । पखेटा काटिएको पन्छी जसरी लड्खडाउँछ र उड्न नपाएको सुर्ताले झोक्राउँछ, त्यसरी नै उनी विषादले गल्नुसम्म गलिन् किनभने १२ वर्षको कलिलो उमेरमा उनको देब्रे गोडालाई क्यान्सरले छोयो र तिघ्रा भन्दा मुनिबाट त्यो काट्नुपर्ने भयो ।

भरतपुर क्यान्सर अस्पतालका डाक्टरले जब यो सुनाए तब सीतालाई लाग्यो, एउटा खुट्टा लिएर पनि के बाँच्नु ? उनको मनमा यस्तो विचार नआएको होइन । यद्यपि, खुट्टा नभएको जीवन पनि बाँचेर हेर न एक फेर भन्ने उनका सानोबुबा यमप्रसाद लामिछानेले सुर्तामा डुबेकी सीतालाई सुझाए पछि उनी कन्भिन्स भइन् ।

२०५७ साल, जतिबेला उनी ७ कक्षामा पढ्थिन् । परीक्षण प्रसारणका क्रममा रहेको कालिका एफएममा लगातार गीत बजिरहन्थे । खुट्टा काट्ने अप्रेसनमा जानुअघि सीता त्यही गीतमा छमछमी नाचेकी सम्झिन्थिन् । त्यसपछि अप्रेशनबाट खुट्टा गुमाइन् ।
केही समय पश्चात काठमाडौं आएर भृकुटीमण्डपको अर्थोपेडिक अप्लाइन्स सेन्टरमा काठको खुट्टा बनाइन् । त्यसकै सहारामा हिँड्डुल गर्दै आएकी थिइन् ।

सीताको एउटा खुट्टाको त्यो जादुमय कत्थक

एकखुट्टे नृत्याङ्गना भनेर चिनिएकी सीता दुःखको अक्करे भीर छिचोल्दै अघि बढेकी साहसिक पात्र हुन् ।
संगीतमा स्नातकोत्तर गर्दै गरेकी सीतालाई उत्प्रेरणाको स्रोत मान्ने धेरै छन् । शास्त्रीय, लोक र आधुनिक सबै खाले नृत्य एउटै खुट्टाले गर्नमा पोख्त सीता यो अवस्थामा आइपुग्न भने ठुला ठुला संघर्ष पार गर्नुपरेको बताउँथिन् । जसमा उनको साहस र मिहिनेत मिश्रित थियो ।

वीरेन्द्र क्याम्पसमा पढ्न थालिन् । आईए पढ्दै गर्दा उनी भरतपुरमा कहलिएको नारायणी कला मन्दिरमा नृत्य प्रशिक्षार्थीका रूपमा भर्ना भइन् । तर, त्यहाँबाट पन्ध्रै दिनमा एक खुट्टाले पनि नाच्न सकिन्छ भनेर फर्काइएको थियो । नाच्न नपाए गाउनै सही भनेर उनी चितवनका संगीत शिक्षक किशोर तिवारीकहाँ सिक्न गइन् ।

नेपालीमा स्नातकोत्तर गर्दैगर्दा ललितपुरको कलानिधि संगीत महाविद्यालयमा उनले संगीतमा स्नातक पढ्ने अवसर पाइन् । त्यहाँका नृत्य गुरु रवि रानामगर भने सीताको साहस देखेर प्रसन्न हुन पुगे । उनले सजिलै सीतालाई शिष्यका रूपमा स्वीकार गरे । अनि सुरु भयो उनको जिन्दगीको नयाँ अध्याय । वर्षौंदेखि थाती रहेको नाच्ने रहर तत्कार भनिने कत्थकको ‘ता थै ता’ मा चाल मिलाउन पाउँदा उनलाई आफ्नो खुट्टा छैन भन्ने नै हेक्का रहेन । त्यसैले, दुई खुट्टा हुनेले पनि हम्मेसी नाच्न नसक्ने कठिन शास्त्रीय नृत्यलाई उनले एउटै खुट्टाले नाच्न सिकिन् एक/डेढ वर्षमै । कत्थक भनेको दुई खुट्टाका चाल शास्त्रीयतापूर्वक मिलाएर गर्ने नृत्य हो । यस्तो नृत्य एक खुट्टा भएको मानिसलाई सिकाएको भनेर उनका गुरु रविलाई शास्त्रीय पण्डितहरूले उडाउने काम पनि भयो तर रविले उनलाई सिकाउन छाड्नन्, सीताले पनि सिक्न छाडिनन् ।

‘कठै’ भन्नेबाट प्रेरणा बनेर गइन्

पहिलो पटक महाविद्यालयकै वार्षिकोत्सवमा सार्वजनिक रूपमा उनले कत्थक देखाएकी थिइन् । त्यतिबेला सीताले जीवनमै सबभन्दा बढी ताली पाइन् । बिस्तारै उनलाई प्रशंसा गर्नेहरू मिले । नाच्न बोलाउने भेटिन थाले । विभिन्न महोत्सवबाट निम्तो आउन थाल्यो । यसपछि देश विदेशमा सयांै कार्यक्रममा आफ्नो प्रस्तुति दिइन् ।

हेर्दाहेर्दै ‘बिचरी’ भनिएकी सीता मानिसका लागि प्रेरणा पो बन्न पुगिन् । उनीकहाँ अन्तर्वार्ता लिन भनेर क्यामेरा तेर्सिन पनि थाले । मनले खाएको काम गर्न पाएकोमा उनी निकै खुशी देखिन्थे । तर, दुर्भाग्य दैवको आँखा लाग्यो र ४० वर्षकै उमेरमा संसारबाट बिदा भइन् ।

२०८२, ७ आश्विन मंगलवार ०७:५९
कथालिका नयाँ कथा
कथालिका