देशभर तिहारको रौनक छ। गाउँदेखि सहरसम्म देउसी–भैलोको स्वर गुञ्जिएको छ । तर रुकुमपूर्वको पुथाउत्तरगंगा पाउँपालिका (१ बासिन्दा भने वर्षौंदेखि तिहार मनाउँदैनन्।
हिन्दुहरू पनि मनाउँदैनन् तिहार
वडाध्यक्ष वीरमान कामीका अनुसार पुर्खादेखि नै यो गाउँमा तिहार नमनाउने परम्परा चलिआएको हो ।कामीका अनुसार, उनको समुदायमा हिन्दु र क्रिस्चियन दुवै आस्थाका मानिस छन्।
क्रिस्चियन धर्म मान्नेहरूले त तिहार नमनाउनु स्वाभाविक हो । तर हिन्दुहरू पनि तिहार मनाउँदैनन् । ‘यो चलन पुर्खाले नै नमान्ने गरेको कारण हो,’ कामीले भने।
वडावासीका लागि यो समय सबैभन्दा व्यस्त
हिमशृङ्खलाको फेदीमा बसेको यो वडा प्राकृतिक रूपमा कठ्याङ्ग्रिने चिसो क्षेत्र हो । हिमालको छायाँमा रहेको भएकाले यो समय वडावासीका लागि सबैभन्दा व्यस्त मानिन्छ।
खेतबारी, गोठ, मालसामान सबै जोहो गर्नुपर्छ । चिसो सुरु भइसकेको हुन्छ, त्यसैले तिहारको रमझमभन्दा पनि जाडो कटाउने तयारी मुख्य काम हुन्छ ।
स्थानीयहरू यसबेला हरियो घाँस काटेर सुकाउने, गोठ मर्मत गर्ने र लेकमा रहेका गाई–वस्तु घरतिर झार्ने काममा व्यस्त हुन्छन् । ‘तिहार आएको र गएको हामीलाई मतलब हुँदैन,‘ वडाध्यक्ष कामीले बताए।
चार वर्षअघि एकपटक गाउँका युवाहरूको तिहार मनाउने त्यो प्रयास
मैकाटका स्थानीय अमरजन पुनमगर पनि त्यही कुरा दोहोर्याउँछन्। पुर्खादेखि नै तिहार मनाउने चलन यहाँ थिएन ।
‘करिब चार वर्षअघि एकपटक गाउँका युवाहरूले तिहारको प्रयास गरेका रहेछन् । तर त्यसपछि फेरि नमाउने निर्णय भए छ,’ पुनमगरले भने, ‘हाम्रो लागि यस समय खेतबारीमा धेरै काम हुने भएकाले सबैले तिहार भन्दा कामलाई प्राथमिकता दिन्छौं ।‘
गाउँका युवायुवतीले भने अहिले सहरमा देखिने तिहारको झल्को देखेपछि उत्सुकता प्रकट गर्न थालेका छन् । ‘केही युवाले तिहार के हो भनेर खोज्न थालेका छन्,‘ पुनले बताए।
बाहिरबाट देउसी भैलो खेल्न भने जान्छन्
छिमेकी जिल्ला बागलुङको निसिखोला गाउँपालिका–५ का भानसिङ बुढामगर ‘रक्तिम सांस्कृतिक अभियान’का सदस्य हुन् । उनीहरू यस वर्ष मैकाट गाउँमा देउसी–भैलो खेल्न गए । तर बुढामगरका अनुसार गाउँलेहरूले परम्परागत रूपमा तिहार नमाउँदो रहेछन्। तिहार नमनाए पनि हाम्रो समूहले गाउँलेसँग मिलेर गीत, कविता र नृत्य प्रस्तुत गर्यौं’ उनले भने, ‘त्यहाँको पाहुना सत्कार गर्ने चलन भने साँच्चिकै सिक्ने खालको छ।‘
स्थानीयको दैनिक जीवन हिमाल, खेत र गोठसँग गाँसिएको छ। त्यसैले तिहारको उज्यालोभन्दा पनि उनीहरूका लागि हिउँदको तयारी नै साँचो पर्वजस्तै बनेको छ ।-रासस