-कसरी चल्ला खेतीपाती र दैनिकी ?
अचेल गाउँ घर सुनसान सुनसान बनिरहेको छ । विदेश, बसाई सराइ लगायतका कारण घरहरु खण्डहर बन्दैछन्, खेतबारीहरु बाझा । यही कारण पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित परपम्रागत ‘आरन पेसा’ करिब बन्द हुने अवस्थामा छ ।
यसको एक प्रतिनिधि गाउँ बनेको बागलुङको धम्जा । ९ वटा वडा रहेको साविक धम्जा (हालको काठेखोला गाउँपालिका वडा नम्बर ३) मा पहिले सबैजसो वडामा छुट्टा-छुट्टै आरन थिए । उनीहरु सबैको कमाई, व्यस्तता र दैनिकी पनि राम्रै थियो । भलै बालीघरे प्रथाका विषयमा बहस बिमर्श कायमै थियो । अहिले त ती सबैजसोले आरन पेशा छोडिसकेका छन् ।
तर, सिंगो गाउँमा धम्जा हिलेका तुलबहादुर विक अहिले आरनका एक्लो बृहस्पति हुन् । जसले उनकै शब्दमा अन्तिम पुस्ताको रुपमा घुम्ती आरन पेशा चलाइरहेका छन् ।
गाउँघरमा घट्दो जनसंख्या, प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभाव, आरनलाई दुःख र अपमानको पेशा भएकाले नयाँ पुस्तामा सिप हस्तान्तरणमा देखिएको विकर्षण लगायतका कारण अब गाउँ, खेतिपाती, किसानहरुको दैनिकी कसरी चल्ला ? एक गम्भीर प्रश्न र संशय पैदा भएको छ ।