यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलका अध्यक्ष, चर्चित नेताहरू प्रत्यक्ष चुनावमा सर्मनाक हार बेहोरेका छन् । गत फागुन २१ को निर्वाचनमा पनि मतदाताले अप्रत्याशित निर्णय र नतिजा दिएका छन् ।
उसो त दोस्रो जनआन्दोलन सम्पन्न भएपछि वि.सं.२०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलका अध्यक्षहरू पराजित भएको इतिहास छ ।
शीर्ष नेता को-को पराजय भए ?
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपा वरिष्ठ नेता तथा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँग झापा-५ मा ५० हजार बढी मतान्तरले पराजित भए । एमाले उपाध्यक्ष गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत, डा. राजन भट्टराई लगायत नेता ठुलो मतान्तर सहित हार बेहोरे ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहमन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही पराजित भएका छन् ।
त्यस्तै, वरिष्ठ नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’लगायत नेताहरू पनि पराजित भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल विजयी भए । उनको दलका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, महिन्द्रराय यादव, राजेन्द्रप्रसाद पाण्डे, शक्ति बस्नेत लगायत नेताहरू पनि पराजित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता कमल थापा लगायत पराजित भएका छन् । विसं २०४८ देखि निरन्तर आफ्नो वर्चस्व कायम गर्दै आएको पार्टी नेपाल मजदुर किसान पार्टी पनि यस निर्वाचनमा संसदीय यात्राबाट बाहिरिने भएको छ । सो पार्टीका नेता प्रेम सुवाल लगायत कुनै पनि उम्मेदवारले निर्वाचनमा सफलता हासिल गर्न सकेनन् ।
विसं २०६४ को मधेस आन्दोलन पछि उदाएका मधेसवादी दल र तिनका शीर्ष नेताहरू पनि यस निर्वाचनमा पराजित भएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत शीर्ष नेताहरू पनि यस निर्वाचनमा पराजित भएका छन् ।
पुराना मूलधारका दल र नेता पराजयका ७ कारण
पहिलो कारण त भ्रष्टाचार र ‘कमिसन संस्कृति’ प्रति जनताको तीव्र आक्रोश हो । पछिल्ला वर्षहरूमा सरकारी संरचनामा भ्रष्टाचार, नातावाद र शक्ति दुरुपयोग व्यापक भएको आरोपले जनतामा ठूलो असन्तोष पैदा गरेको थियो । यही असन्तोष जेनजी आन्दोलनको मुख्य कारण पनि बन्यो । भ्रष्टाचार, कमिसन, नेताहरूको विलासी जीवनशैली, सरकारी स्रोतको दुरुपयोग लगायतका विषयहरूले जनतामा “पुराना दल सुध्रिँदैनन्” भन्ने धारणा बलियो बनायो ।
दोस्रो कारण लामो समयको राजनीतिक अस्थिरता हो । नेपालमा गणतन्त्र स्थापना भएपछि पनि सरकार निरन्तर अस्थिर रह्यो । पछिल्लो १७ वर्षमा १३ प्रधानमन्त्री परिवर्तन भए । सत्ता र शक्तिका लागि गठबन्धनको राजनीति मौलायो । दलहरु सरकारमा फेरबदलसँगै नीतिमा निरन्तरता रहेन ।
यसले विकासका ठूला योजनाहरू कार्यान्वयन हुन सकेनन् । परिणामस्वरूप जनता पुराना दलबाट निराश भए ।
तेस्रो, युवा पुस्ताको विद्रोह र राजनीतिक चेतना हो । नेपालको जनसंख्यामा युवा ठूलो हिस्सा छन् । गत भाद्र २३ र २४ मा भएको आन्दोलनले ठुलो उथलपुथल ल्यायो । जुन आन्दोलनका मुख्य माग थियो कि पारदर्शी शासन, भ्रष्टाचार अन्त्य, राजनीतिक जवाफदेहिता थियो ।
युवा पुस्ताले सामाजिक सञ्जालमार्फत नयाँ राजनीतिक विकल्पलाई समर्थन गरे, जसले पुराना दलको मताधार कमजोर बनायो ।
चौथो कारण नयाँ राजनीतिक शक्तिको उदय हो । पुराना दल कमजोर हुँदा नयाँ राजनीतिक शक्तिहरू शक्तिशाली बने । नयाँ दल र नेताहरुका भ्रष्टाचारविरोधी एजेन्डा, युवामुखी राजनीति र गैरपरम्परागत नेतृत्व हो । यसले दशौँ वर्षदेखि सत्ता कब्जा गरेका दलहरूलाई ठूलो चुनौती दियो । परिणामस्वरूप नयाँ पार्टीहरूले निर्वाचनमा ठूलो सफलता पाए ।
पाँचौ, नेताहरूको अहंकार र जनतासँगको दूरी हो । पुराना दलका धेरै शीर्ष नेताहरूलाई जनताले “सत्ता केन्द्रित, जनताबाट टाढा” भएकोमा चर्को रोष थियो । नेताहरू जनताको दैनिक समस्याबाट अलग हुनु, चुनावको समयमा मात्र जनता सम्झिनु, स्थानीय स्तरमा पार्टी संरचना कमजोर हुनु, यसले जनतामा “नयाँ अनुहार चाहिन्छ” भन्ने भावना पैदा ग¥यो ।
छैठौं, विकास, रोजगारी र अर्थतन्त्रमा असफलता हो । नेपालमा युवाहरूको ठूलो संख्या विदेश जान बाध्य भएका छन् । रोजगारी अभाव, औद्योगिक विकास नहुनु, कृषि र उत्पादन क्षेत्र कमजोर हुँदा पनि समस्याको समाधान गर्न तत्परता नदेखाउँदा जनता पुराना दलप्रति असन्तुष्ट हुँदै गए ।
सातौ कारण, सामाजिक सञ्जाल र डिजिटल राजनीति हो । नयाँ पुस्ताले राजनीति बुझ्ने माध्यम बदलियो । फेसबुक, युट्युब, टिकटकमार्फत राजनीतिक बहस, नागरिक पत्रकारिता तीव्र बन्यो । भ्रष्टाचारका काण्डहरु एकपछि अर्को सार्वजनिक हुन थाल्यो । डिजिटल युगमा पुराना दलहरूको पारम्परिक प्रचार शैली कमजोर देखियो ।
सारमा भन्दा नेपालको पछिल्लो निर्वाचन परिणाम केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, यो जनताको लामो समयको असन्तोषको विस्फोट थियो । यसले तीनवटा स्पष्ट सन्देश दिएको छ । भ्रष्टाचार र शक्ति दुरुपयोग अब सह्य छैन । युवा पुस्ता नेपालको राजनीति परिवर्तन गर्न चाहन्छ । पुराना दलहरूले सुधार नगरे भने उनीहरूको भविष्य जोखिममा छ ।
यस्तो छ निर्वाचनमा शीर्ष नेताको पराजयको इतिहास
१) कृष्णप्रसाद भट्टराई – तत्कालीन सभापति नेपाली कांग्रेस तथा अन्तरिम सरकारका प्रधानमन्त्री
२०४६ सालको जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई थिए । भट्टराई नेतृत्वकै सरकारले २०४८ सालमा गरेको निर्वाचनमा उनी काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए । तर, उनी एमाले उम्मेदवार मदनकुमार भण्डारीसँग पराजित भए । निर्वाचनमा भण्डारीले २७ हजार ३७२ मत ल्याएर निर्वाचित हुँदा भट्टराईले २६ हजार ६२१ मत मात्रै ल्याएका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । भट्टराई प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि त्यही वर्षको फागुन १ देखि ३ सम्म भएको कांग्रेसको आठौँ महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।
२) माधवकुमार नेपाल – महासचिव नेकपा एमाले
माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल पराजित भए । दुई स्थानबाट प्रतिस्पर्धा गरेका नेपाल दुई स्थानबाट पराजित भएका थिए । काठमाडौँ–२ र रौतहट–६ बाट प्रतिस्पर्धा गरेका नेपाल दुवै स्थानबाट पराजित भएका थिए ।
उनी रौतहट–६ मा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए भने काठमाडौँ–२ मा पनि नेकपा माओवादीकै उम्मेदवार झक्कुप्रसाद सुवेदीसँग पराजित भएका थिए । माओवादी उम्मेदवार सुवेदीले १३ हजार ८५८ मत ल्याएर निर्वाचित हुँदा नेपालले १२ हजार ३२५ मत ल्याएका थिए । बहालवाला महासचिव भएको बेलामा दुवै स्थानबाट पराजित भएपछि नेपालले नैतिकता देखाउँदै पार्टी महासचिव पदबाट राजीनामा दिएका थिए । तर, उनलाई पछि त्यही कार्यकालमा संविधानसभा सदस्य मनोनयन गरिएको थियो ।
३) झलनाथ खनाल–अध्यक्ष नेकपा एमाले
खनालले एमालेको बहालवाला अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–१ बाट पराजित भएका थिए । तर, दुई स्थानबाट उम्मेदवार भएका खनाल इलाम–१ बाट निर्वाचित भएकाले संविधानसभामा भने पुगेका थिए ।
खनाल सर्लाही—१ मा एकीकृत नेकपा माओवादीका उम्मेदवार शम्भुलाल श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठले ९ हजार ४७६ मत ल्याएर निर्वाचित हुँदा खनालले ८ हजार ७९१ मत ल्याएका थिए ।
इलाम–१ मा खनाल १७ हजार ३४२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हिमालय कर्माचार्यले १५ हजार ५२७ मत ल्याए ।
४) पुष्पकमल दाहाल ‘प्रचण्ड’– अध्यक्ष एकीकृत नेकपा माओवादी
प्रचण्ड पार्टी अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ–१० बाट पराजित भएका थिए । यद्यपि दुई स्थानबाट निर्वाचन लडेकाले उनलाई संविधानसभामा पुग्ने बाटो भने बन्द भएन ।
त्यो निर्वाचनमा प्रचण्ड काठमाडौँ–१० र सिराहा–५ बाट उम्मेदवार भएका थिए । काठमाडौँ–१० मा प्रचण्ड तेस्रो भएका थिए । काठमाडौँमा कांग्रेस उम्मेदवार राजेन्द्र केसी २० हजार ३९२ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले १३ हजार ६१९ मत ल्याए । प्रचण्डले भने १२ हजार ८५९ मत ल्याएका थिए ।
सिराहा–५ मा भने प्रचण्ड १५ हजार २४४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले १४ हजार ३२३ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
५) शेरबहादुर देउवा- सभापति नेपाली कांग्रेस सभापत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७० सालमा काठमाडौं–१० बाट पराजित भएका थिए। यद्यपि, उनी कञ्चनपुरबाट निर्वाचित भएर संविधानसभामा पुगे । यो पराजयले समेत शीर्ष नेताहरूको राजनीतिक प्रभाव सधैँ समान रहँदैन भन्ने तथ्य पुष्टि ग¥यो ।
६) उपेन्द्र यादव– अध्यक्ष मधेसी जनअधिकार फोरम नेपाल
पार्टीको बहालवाला अध्यक्ष भएको बेलामा दुई पटक प्रतिनिधिसभा सदस्यमा पराजित हुने नेता हुन् उपेन्द्र यादव । यादव मधेसी जनअधिकार फोरम नेपालको अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ–५ बाट र जनता समाजवादी पार्टी नेपालको अध्यक्ष भएको बेलामा २०७९ सालमा सप्तरी–२ बाट पराजित भएका थिए ।
२०७९ सालको निर्वाचनमा सप्तरी २ मा दुई पार्टीका अध्यक्षबिच प्रतिस्पर्धा भएको थियो । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवबिच भएको प्रतिस्पर्धामा राउतले बाजी मारेका थिए ।
७) महन्थ ठाकुर–अध्यक्ष तराई मधेस लोकतान्त्रिक पार्टी
ठाकुरले तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्ष भएको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–६ बाट पराजित भएका थिए । उनलाई तत्कालीन समयमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहले पराजित गरेका थिए ।
कांग्रेस उम्मेदवार सिंहले १७ हजार ४०० मत ल्याएर निर्वाचित हुँदा ठाकुर तेस्रो भएका थिए । दोस्रो भएका तराई मधेस समाजवादी पार्टी नेपालका उम्मेदवार शिवपुजन रायले १० हजार ३६५ मत ल्याउँदा ठाकुरले ७ हजार ३२ मत मात्रै ल्याएका थिए ।
८) पशुपति शमशेर राणा–अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष रहेको बेलामा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–३ मा पराजय व्यहोरेका थिए ।
त्यो निर्वाचनमा राणालाई एमाले उम्मेदवार शेरबहादुर तामाङले पराजित गरेका थिए । एमाले उम्मेदवार तामाङले १४ हजार ५२७ मत ल्याएर निर्वाचित हुँदा राणाले १२ हजार ९० मत मात्रै ल्याएका थिए ।
९) राजेन्द्र महतो – अध्यक्ष सद्भावना पार्टी
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन समयमा सद्भावना पार्टीका अध्यक्ष रहेका राजेन्द्र महतोले सर्लाही–४ बाट पराजय व्यहोरेका थिए । महतो तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महिन्द्र राययादवसँग पराजित भएका थिए ।
राययादवले ११ हजार ५३४ मत ल्याएर निर्वाचित हुँदा महतोले ८ हजार ७९० मत ल्याएर पराजित भएका थिए ।
१०) कमल थापा– अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष भएको बेलामा मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका थिए । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालले पराजित गरेका थिए । त्यो निर्वाचनमा दाहालले ४० हजार ६३१ मत ल्याएर निर्वाचित हुँदा थापाले ३४ हजार ६५८ मत ल्याएका थिए ।
११) रवीन्द्र मिश्र – अध्यक्ष साझा पार्टी
मिश्र २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा साझा पार्टीको अध्यक्ष भएको बेलामा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पराजित गरेका थिए । सिंहले १० हजार ९३६ मत ल्याएर निर्वाचित हुँदा मिश्रले १० हजार ११८ मत ल्याएर पराजित भएका थिए ।
र अन्त्यमा, विगतको निर्वाचन र वर्तमानको ताजा नतिजाले एउटा स्पष्ट सन्देश दिन्छ कि राजनीतिक हैसियत, पद वा प्रभावभन्दा माथि मतदाताको निर्णय हुन्छ । विश्लेषकहरूका अनुसार शीर्ष नेताहरूको पराजयका पछाडि विभिन्न कारणहरू अन्र्तनिहित देखिन्छ । स्थानीय जनताको असन्तुष्टि, राजनीतिक परिवर्तनको चाहना, नयाँ नेतृत्व र शक्तिको उदय, पार्टीप्रतिको जनविश्वासमा आएको उतारचढाव, स्थानीय र राष्ट्रिय मुद्दाबीचको अन्तर लगायत छन् ।