एक जीवन्त गीतको जन्मकथाः माया गर्नुको अर्थ सिउँदो भर्नु होइन… – कथालिका

एक जीवन्त गीतको जन्मकथाः माया गर्नुको अर्थ सिउँदो भर्नु होइन…

  • तीन रुपियाँको नीलो स्टारलाइन बलपेन, हरियो रङको पातलो इगल नोटबुक, मधुपर्कको पुरानो अंक र एउटा सानो चाइनिज रेडियो झोलामा हालेर गोठालो गएका पलाँसले बेलुका घर फर्किदा एक थान गीत पनि साथमै बोकेर आए ।

माया गर्नुको अर्थ सिउँदो भर्नु होइन ।
सिउँदो भर्नुको अर्थ माया गर्नु होइन ।

हुन्न तर एक चिम्टी सिन्दुरको धुलो
दुइ आत्माको चोखो ,चोखो मिलन भन्दा ठूलो
पिरतीकै जगमा टेकी संसार उठेको छ
त्यसैले त दुनियाले प्रेम पुजेको छ ।

माया गर्न नजाने नि सिउँदो भर्छन् कोही
सिउँदो नभरे नि गहिरो माया गर्छन् कोही
सिन्दुरको साइनो पनि हुन्नन् सबै दिगो
नभर्दैमा सिँउदो सबै प्रीति हुन्नन् झुठो ।

गीतकार शिव अधिकारी पलाँसले सिर्जना गरेको यस गीतको सुरुवाती दुई लाइन नै जीवन दर्शन जस्तो लाग्छ । यही शब्दले अलि भावनात्मक मानिसहरु सुरुवातमै रन्थनिन्छन् । संगीत र स्वर भरिए पछि त कायल बनाउँछ । आखिर यो गीत सर्जक शिव पलाँसले कसरी लेखे त ? कथालिकाले यसको रचनागर्भ केलाउने क्रममा उनले यसको फेहरिस्त बताएका छन् ।

यो गीत के प्रेम सम्बन्ध विवाहमा परिणत गर्न नपाउँदाको तपाइँको आफ्नै पीडा हो ? सुरुवाती प्रश्नमा नै उनी केही गम्भीर देखिए र भने–‘हेर्नुस् कहिले घटनाको गर्भबाट गीत जन्मिदो रहेछ भने कहिलेकाहीँ गीत अगाडि अगाडि र जिन्दगी त्यही गीतको पछाडि पछाडि हिँड्दो रहेछ । तर, जतिबेला यो गीत लेखें त्यतिबेला भने मैले यही समाजमा देखे, सुनेका घटनालाई नै आधार बनाएको हो । विवाह सम्म पुग्नै नसकेको प्रेम र प्रेम सम्म पुग्न नसकेको विवाह ।’

सिर्जना गर्ने मान्छेलाई समय, स्थान वा उमेरले छेक्दैन । ठ्याक्कै दुई दशक पहिला स्याङ्जा, हरिनास– १ का शिव पलाँस पृथ्वी नारायण क्याम्पस पोखरामा भर्खर स्नातक पढ्दै थिए । खासमा प्रेम गर्ने र प्रेमलाई गहिरो संग बुझ्ने भईसकेकै थिएनन् । त्यस्तै १७, १८ को अल्लारे मात्रै थिए । हिउँदे विदामा गाउँ जाँदा यो गीतको सिर्जना भएको हो । तीन रुपियाँको नीलो स्टारलाइन बलपेन, हरियो रङको पातलो इगल नोटबुक, मधुपर्कको पुरानो अंक र एउटा सानो चाइनिज रेडियो झोलामा हालेर गोठालो गाइबस्तु चराउन गएका पलाँसले बेलुका घर फर्किदा एक थान गीत पनि साथमै बोकेर आएको बताए ।

अनि गीत कसरी रेकर्ड भयो त ? सर्जक पलाँस भन्छन्, ‘कहिलेकाहीँ काठमाडौं जान्थे । दाइ न्याय सेवाका अफिसर । दाइलाई भेट्न जाँदा काठमाडौं घुम्न पनि पाइने र दुई, चार हजार पढाइ खर्च पनि मागेर आउन पाइने । त्यसै मेसोमा उनको भेट भयो संगीतकार बिबि अनुरागी संग भेट भए पछि गीतले नयाँ जीवन प्राप्त गरेको हो ।

त्यसबेला पलाँसको डायरी पल्टाउँदै बिबि अनुरागीले भनेथेँ–भाइ गीतको स्थायी त कुनै दार्शनिकको भनाइ जस्तो गहन छ । ल यो गीत गर्नुपर्छ यार ।’ त्यसपछि यो सहित अन्य तीन, चार वटा गीत छोडेर पलाँस पोखरा फर्किए ।

स्नातक पास गरेपछि उनलाई लाग्यो, अब जागिर खानुपर्छ । त्यसपछि उनी मास्टरी गर्न लमजुङ हिँडे । बेसिशहर नजिकै खुदीमा । हिमालचुली कला, साहित्य प्रतिष्ठानको साहित्यिक यात्रामा सिउरुङ जाने निमन्त्रणा आयो । साहित्यकार आनन्द घिमिरे, रमेशचन्द्र घिमिरे, पत्रकार शिव उप्रेती, नवीन अंकुर लगायत थुप्रै साथिहरु थिए । कुरै कुरामा नवीन अंकुरले भने–‘अस्ती बेसीशहरमा शिशिर योगीको एकल साँझ थियो । नयाँ गीतहरु पनि सुन्न पाइयो । निकै मज्जा भयो । एउटा गीत आउँदै रैछ माया गर्नुको अर्थ सिँउदो भर्नु होइन । वान्स मोर नै भनियो नि । तपाईं आउनुभएन क्यारे ।’

हँ…यो त मेरो गीत हो यार’ शिवले भने । तर, नवीनले पत्याएनन् । जोक गर्छौ बुढा भनेर उल्टै उडाए । जब शिवले पुरै गीत वाचन गरे नवीन छक्क परे । खासमा शिवलाई त्यो कार्यक्रमको बारेमा कुनै जानाकारी नै थिएन ।
गुल्मीको एउटा श्रोताले प्रेममा विछोड भएपछि सर्लक्क यही गीत सारेर प्रेमिकाको हातमा थमाएर हिँडेको घटना सुन्दा गीतको शक्ति गज्जबको हुँदो रैछ भन्ने लागेको सर्जक पलाँसले सुनाए ।

सोही गीतका कारण दमौलीको एउटा राष्ट्रिय साहित्य सम्मेलनमा रेडियो नेपालका रमेश पौडेलले च्याप्प पाखुरामा समातेर शिव पलाँस भन्ने तिमी नै हौ ? तिम्रो गीत निकै बजाएँ नि रेडियोमा । ल आउ एउटा अन्तर्वार्ता गरौं भनेर रेकर्डर झिकेको सम्झना उनको दिमागमा ताजै छ । पछि त्यो कुराकानी रेडियो नेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रममा बज्यो ।

खासमा गीतले प्रेम प्रेम हो र विवाह विवाह नै हो भन्न खोजेको हो । प्रेमलाई केन्द्रमा राखेको हो । हुन पनि प्रेम भावनात्मक र स्वछन्द चीज हो भने विवाह एक संस्कृति हो, एक बन्धन र प्रतिबद्धता हो । कतिपयले चाँही गीतलाई प्रेम गर, विवाह नगर भनेको अर्थमा पनि बुझे । तर गीतकार शिवले भने त्यसरी बुझ्दा गीत माथिको बुझाई एकतर्फी र अपूर्ण हुने ठान्छन् । यो गीतको दश पंक्तिले राम्रैसंग मथिङ्गल खल्बल्याईदिन्छ र यसमाथि घन्टौं बहस गर्न सकिन्छ ।

दुई साल जति जागिर गरे पछि उनलाई जागीर भन्दा त अध्ययन महत्वपूर्ण हो भन्ने बोध भयो । स्नातकोत्तर अध्ययनका लागि उनी पोखरा फर्के । त्यसपछि उनलाई बल्ल थाहा भयो कि गीत त साँच्चै नै श्रोताको मनमा बस्न सफल भएछ । त्यतिञ्जेल सम्म आकर्षण एल्बमको शीर्ष गीत बनेर यो गीत सार्वजनिक भइसकेको थियो । सो एल्बममा माधव प्रसाद घिमिरे, रमेश पौडेल, थकित यात्री जस्ता स्थापित गीतकारहरुका गीत पनि थिए । सायद शिव पलाँस नै सबै भन्दा कान्छो सर्जक हुँदा हुन् । विभिन्न साहित्यिक कार्यक्रमहरुमा गीतकार शिव पलाँस भनेर आसन ग्रहण गराउँदा उनलाई लाज लाग्थ्यो । उनी आफैलाई आफैमाथि विश्वास गर्न असहज भइरहेको थियो ।
यो गीतको सफलताले उनलाई गीति लेखनमा उर्जा थप्यो । समकालीन मात्र हैन, अग्रज गीतकार एवम् संगीतकर्मीहरुले समेत यो गीत र यसको सर्जकलाई नोटिस गर्न थाले । पछि पछि त गीत रेकर्डिङ मात्र हुने होइन कि धेरथोर पारिश्रमिक समेत हात पर्न थाल्यो ।

हालसम्म उनका तीन दर्जन भन्दा बढि गीत रेकर्ड भईसकेका छन् । भर्खरै मात्र उनको गीत सञ्चयन पनि बजारमा आएको छ । शीर्षक नै ‘माया गर्नुको अर्थ…’ राखेर प्रकाशित भएको उक्त पुस्तकमा अर्जुन पोखरेल, सञ्जु थापा, तेजेन्द्र गुरुङ, रमेश कडरिया लगाएतका संगीतकर्मीको धुनमा दीप श्रेष्ठ, नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, प्रमोद खरेलदेखि इन्दिरा जोशी सम्म दर्जनौं कलाकारले पहिल्यै गाइसकेका गीतहरु सहित जम्मा ८१ वटा गीत समावेश छन् ।

उनी पछिल्लो ६ सालदेखि अमेरिकामा बसेर साहित्य सिर्जना र गीत संगीतको लेखनमा निरन्तर क्रियाशील छन् ।

२०७८, २६ चैत्र शनिबार ०७:०१
कथालिका नयाँ कथा
कथालिका