बुढ्यौलीका यी प्रेमिल जोडी – कथालिका

बुढ्यौलीका यी प्रेमिल जोडी

क्षणिक प्रेम, क्षणिक खुसी, क्षणिक स्वार्थ, क्षणिक रंगमा दुनियाँ रमाइरहेछ । यस बेला पवित्र सोच, स्वच्छ मन, स्वस्थ विचार, सदावहार प्रेमिल मान्छे पाउन सकस देखिन्छ । तर, पोखरामा यस्तो एउटा बुढ्यौली जीवन बिताइरहेका प्रेमिल जोडी छन्, जसले तन्नेरी अवस्थाको प्रेम सम्बन्धदेखि कुनै पनि परिस्थितिमा एक अर्काको साथ छोडेनन्, सधैं साथ रहे जीवनका हरेक अवस्था, पल र क्षणमा ।

लेकसाइडको ‘सन वेलकम’ रेष्टुरेण्टमा सुन्दर शहर भित्र सुन्दर मनले भएका कृष्णप्रसाद पोखरेल (७५) र लक्ष्मी गुरुङ पोखरेल (७३) को जोडी भेटिन्छन् । दुवै एक अर्काका लागि काफी छन् उनीहरु । अहिले भने अर्को सदस्य उनीहरुको साथी बनेको छ । केही समय अगाडि २ जना विदेशी युवतीले एउटा कुकुर उनीहरुसंग छाडेर आफ्नै देश फर्किएका छन् । कोही नौलो व्यक्ति रेष्टुरेण्टमा प्रवेश गर्न लाग्यो भने झम्टिन्छ, उनीहरु दुवैले नै चुप लाग्न इशारा गरेपछि मात्रै कुकुर नौलो व्यक्तिलाई भुक्न छोड्छ ।

जब लक्ष्मीलाई आफ्नो परिचयको लागि अनुरोध गरें, उनी एकछिन अक्मकाइन् । ‘म त गुरुङको छोरी हुँ, पोखरेलसंग बिहे गरेको, गुरुङ भनौं कि पोखरेल ? बुढा पोखरेल बाहुन भएपछि पोखरेल त भन्ने होला नि ।’ रेष्टुरेण्टमा बसिरहेकी उनले मुसुक्क मुस्कुराउँदै भनिन् । लक्ष्मीले त्यसो भनिरहँदा कृष्ण लक्ष्मीको छेउँमा बसेर मुस्कुराइरहेका थिए । अनि मुसुक्क हाँस्दै एक लाइनमा भने, ‘गुरुङ, पोखरेल जे भने पनि हुन्छ ।’ अर्काको घर जाने जात भन्दै छोरीलाई पढाउने चलन थिएन, घरको काम तथा चुलोचौकोमा सीमित हुनुपथ्र्यो । लक्ष्मीले भने पढ्ने मौका पाएकी थिइन् । काठमाडौंमा घर नजिकै रहेको विद्यालयमा उनले कक्षा ४ सम्म पढेकी हुन् । कृष्ण भने एसएलसी पास गरेका छन् ।

काठमाडौंमा पलाएको माया
लक्ष्मी र कृष्णप्रसाद दुवै जना जनकपुरमा जन्मिएर काठमाडौंमा हुर्किए । उनीहरु दुवै जना काठमाडौंमा आफ्नो मामा घरमा हुर्किएका हुन् । काठमाडौंमा नै उनीहरुबीच माया अंकुरायो । लक्ष्मीको दाईको साथी थिए कृष्ण । दुवै जना संगै पढ्ने । त्यसैले लक्ष्मीको घरमा उनको दाइसंग कृष्ण आउने जाने गरिरहन्थे । दाइसंग आउँदा बहिनी लक्ष्मीसंग कति बेला आँखा जुध्यो र माया बस्यो पत्तै पाएनन् । लक्ष्मी र कृष्णप्रसादलाई याद छैन, दुवैलाई एकअर्काको ठ्क्याक्कै के कुराले प्रभावमा पा¥यो भन्ने । पछि लक्ष्मीको दाइ ब्रिटिस लाहुरेमा भर्ती भएर गए । लक्ष्मीको सम्बन्ध भने कृष्णसंग झन् बलियो हुँदै गयो ।

लक्ष्मी र कृष्णप्रसादको समयमा प्रेम सम्बन्ध, त्यो पनि बाहुन र गुरुङ बिच, यो असम्भव प्रायः थियो । तर उनीहरुले हिम्मत हारेनन् । कसैलाई छनक समेत नदिएर ६ वर्षसम्म प्रेम सम्बन्धमा बसे । लक्ष्मी मामा घरमा हुर्किएकी, त्यसैले होला दुधुबजै (आमाको आमा) ले उनलाई साह्रै माया गर्थिन् । उनकी दुधुबजैले त्यो समयमा पुजापाठ गर्ने, व्रत बस्ने र माछा मासु केही खाँदैनथिन् । त्यो समयमा दलित गैरदलित बिच मात्र होइन, अरु जातजाती बिच पनि जातीय विभेद ब्याप्त थियो । अन्तरजातीय, त्यसमा प्रेम विवाह जो कोहीले उनको समयमा सोच्नै सक्दैनथे । ‘हामी सबैलाई थाहा छ, जातका आधारमा कसैलाई विभेद गर्न हुँदैन । तर, त्यो समयको कुरा अर्कै थियो, समय त्यस्तै भएर होला,’ लक्ष्मीले भनिन्, ‘दुधुबजैले मलाई केही लचक भएर मन खाने सँग बिहे गरे हुन्छ भन्नु हुन्थ्यो ।’ प्रेमको लामो समयपछि उनले बजैलाई आफ्नो सम्बन्धको विषयमा जानकारी दिइन् । ‘बजैलाई हाम्रो सम्बन्धको विषयमा दाइको साथी हो, हामीबीच सम्बन्ध छ भन्ने जानकारी गराएँ,’ उनले भनिन्, ‘त्यसपछि बजैले आनीबानी राम्रो छ भने हुन्छ, नत्र हुँदैन भन्ने जवाफ दिनुभयो ।’

एकबारको चोलामा किन दुखोसो गरेर बाँच्ने ?
आफूहरुको प्रेम सम्बन्धका विषयमा श्रीमती लक्ष्मीले बेलिविस्तार लगाइरहँदा कृष्ण घरी–घरी मुस्कुराउँथे । लक्ष्मीले यस्तो है भन्दा हो भन्दै छोटो जवाफ दिन्थे कृष्ण । ‘उहाँ धेरै बोल्नुहुन्न । आवश्यक पर्दा मात्रै बोल्ने बानी छ उहाँको,’ लक्ष्मीले आफ्ना पतिदेव कृष्णको स्वभाबारे स्पष्टिकरणको शैलीमा भनिन् । कृष्ण चुपचाप बसेर लक्ष्मीको कुरा सुनिरहे । यसरी नै हाँसो–आसुँ, सुख–दुखलाई एकै साथ आत्मसाथ गर्दै बाँचिरहेको दम्पति बताउँछन् । जीवन प्रति खास कुनै गुनासो नरहेको उनीहरु बताउँछन् । एकचोटी पाउने जीवनमा गुनासो र दुखेसो गरेर के बस्नु ? जस्तै परिस्थितिलाई समेत सामना गर्दै हाँसीखुसी जीवन बिताउने हो भन्ने दुवैको साझा बुझाई छ । एकअर्काको परिपुरक र सहारा हुन् उनीहरु । जीवन यात्रामा समस्या संकट नआएका होइनन् । तर, यही आपसी साथले समस्यासंग जुध्न सिकायो र जीवन जिउन ।

कृष्णलाई अहिलेसम्म माछा मासु, अण्डा तथा मदिराको स्वाद थाहा छैन । उनको घरमा सबै जना पण्डित थिए । त्यो समयमा पण्डितले माछा, मासु खाँदैनथे र मदिरापान गर्दैनथे । उनको बाबाले समेत पण्डितको काम गर्ने भएकाले कृष्णप्रसाद माछा, मासु, अण्डा, मदिरापान लगायतका खानेकुराबाट टाढै बसे । बालापनदेखि नै यी खानेकुरा खाएनन् र अहिलेसम्म नखाने त्यो बानी निरन्तर कायम राखिरहेको कृष्ण बताउँछन् । त्यसैले होला, लक्ष्मीको दुधुबजैले उनीहरुको प्रेम सम्बन्धलाई लिएर विरोध गरिनन्, झन् साथ दिइन् । लक्ष्मीलाई कृष्ण साह्रै सोझो लाग्छ । त्यसैले ६ वर्षको प्रेम सम्बन्धमा समेत कृष्णले विवाहको विषयमा कुरा निकालेनन् । यहाँसम्म आउँदा उनीहरुको विषयमा बजै बाहेक कसैलाई जानकारी थिएन । बजैलाई सम्बन्धको विषयमा जानकारी गराइसकेपछि लक्ष्मीले नै विवाहको लागि कदम अगाडि बढाइन् । ‘विवाहको लागि उहाँले होइन, मैले आँटेको हुँ,’ लक्ष्मी केही उत्साहित मुद्रामा सुनाउँछन् ।

विहे अस्वीकृत हुने डरले भागेर भारत
लक्ष्मीको आँटले कृष्णलाई विवाह गर्ने आँट पलाएको थियो त्यो समयमा । उनीहरुको समयमा अन्तरजातीय प्रेम विवाह गरेपछि समाजमा बस्न गाह्रो हुन्थ्यो । बजैले लक्ष्मीलाई साह्रै माया गर्ने । लक्ष्मीले जे भन्थिन् र माग गर्थिन् त्यो पुरा हुन्थ्यो । विवाहको समयमा समेत भरपुर साथ दिइन् । ‘सायद बजैलाई हामीलाई समाजमा बस्न गाह्रो हुन्छ भन्ने थाहा थियो कि ?’ लक्ष्मीले भनिन्, ‘पैसा कति दिनुभयो भन्ने ठ्याक्कै याद छैन, तर सुन १०/२० तोला दिनुभएको थियो ।’

भागेर विवाह गरेका उनीहरु काठमाडौं बस्ने सम्भावना भएन । त्यसैले भारततर्फ गए । भारतका विभिन्न सहरमा उनीहरुले करिब १५÷१६ वर्ष बिताएका छन् । त्यो बेला काश्मिरदेखि कन्या कुमारी, मनाली, गोवा, केरला, चेन्नाई, लद्धाख लगायत अन्य सहरमा उनीहरु बसेका थिए । भारतमा भने उनीहरु घुमेका मात्र छन् । जति बसे त्यति घुमेर रमाइलो गरे । ‘बजैले खर्चपानी भनेर टन्नै दिनुभएको थियो ।’ लक्ष्मीले भनिन्, ‘यहाँ आयो भने खोस्छ भनेर हामी त भारतमै बस्यौं लामो समयसम्म ।’

‘माइतीले दिएको करोडौं सम्पत्ति फिर्ता’
एकअर्काको साथ खोसेर छुटाइदिन्छन् कि भन्ने डर लक्ष्मी र कृष्णप्रसादलाई थियो । लक्ष्मीलाई बजैको साथ थियो । त्यसैले यताबाट त्यस्तो डर थिएन । तर, कृष्णप्रसादको परिवारले के गर्लान् भन्ने डर भने उनीहरुलाई थियो । सोचेको जस्तो भने केही भएन । दुवै जनाको डर डरमा मात्रै सीमित भयो । कृष्णप्रसादको परिवारले त्यो समयमा उनीहरुको विवाहलाई स्वीकार गरे । ‘डर त थियो, तर उहाँहरुले केही भन्नुभएन । तिमीहरुको खुसीको विषय हो, हामी तिमीहरुलाई एकअर्काबाट खोस्दैनौं भन्ने सकारात्मक जवाफ दिएर स्वीकार गर्नुभयो ।’

सम्बन्धलाई सबैको स्वीकारोक्ति पछि मात्रै उनीहरुको नेपाल फर्किएका थिए । लक्ष्मीका माइला दाइले बहिनीले मन पराएर विवाह गरेपछि हामी कृष्णबाट उनलाई खोसिन्न भन्ने सन्देश पठाए । अर्को तर्फ लक्ष्मीलाई हुर्काई बढाई गरेकी बजै बिरामी थिइन् । उनले लक्ष्मीलाई खोजेकाले नेपाल फर्किने संयोग मिल्यो । कृष्णलाई धन सम्पतिमा कुनै लोभलालच छैन । लक्ष्मीको माइती र बजैले अहिले हिसाब गर्ने हो भने करोडौंको सम्पत्ति दिएका थिए । तर, सबै फिर्ता गर्न श्रीमतीलाई भने । ‘मलाई सम्पत्ति त दिनुभएको थियो माइतीले । उहाँले अरुको सम्पति खाने होइन, फिर्ता गरिदेऊ भन्नुभयो, मैले त्यसपछि केही लिइन,’ लक्ष्मीले यति भन्दै गर्दा कृष्णले थपे, ‘अरुको सम्पतिमा किन रमाउनु ? मरेर लाने केही होइन । जे छ त्यसैमा सन्तोष लिने हो, फेरि त्यो भन्दा बढी त हामीले हाम्रै मेहनतले पनि कमायौ होला ।’

सन्तान नभए पछि आफ्नै साथीलाई श्रीमानसँग बिहे गर्न मनाइन् तर….
कृष्ण लक्ष्मीका सन्तान छैनन् । त्यसैले, एकअर्काको सहारा हुन् स्वंयम् लक्ष्मी र कृष्ण । त्यो बेलाको समयमा पुरुषमा कमजोरी छ भने पनि सन्तान नभए पछि अर्को विवाह गर्ने प्रचलन ब्याप्त थियो । उनीहरुले भारत बसाईंका क्रममा विभिन्न अस्पतालमा उपचार गराए । उपचारका क्रममा लक्ष्मीको कमजोरी देखियो । त्यसैले धेरै पटक कृष्णलाई सन्तान जन्माउन भए पनि अर्को विवाह गर्न दबाब दिएकी थिइन् । एक पटक त लक्ष्मीले आफ्नो श्रीमानसंग विवाह गर्न आफ्नी साथीलाई मनाइसकेकी थिइन् । ‘साथीले समेत हुन्छ, तिमी र म मिलेर बसौंला भनिसकेकी थिइन्,’ त्यो बेलाको समय स्मरण गर्दै लक्ष्मीले भनिन् । तर, दोस्रो विवाहका लागि कृष्णको मन मानेन । ‘कमजोरी जसमा भए पनि माया गरेर श्रीमती बनाएको व्यक्तिलाई धोका दिन मनले कहिले मानेन’ कृष्ण भन्छन् । कृष्णले यति भनिरहँदा लक्ष्मी प्रफुल्लित देखिइन् । कृष्णको परिवारले समेत दोस्रो विवाहका लागि दबाब दिएका रहेछन् । तर, कृष्णलाई लक्ष्मी भए पुग्थ्यो, त्यसैले परिवारको कुरा बेवास्ता गरिरहे ।

विवाह गरेको ठ्याक्कै कति वर्ष पुग्यो लक्ष्मी र कृष्णलाई याद छैन । तर, उनीहरु पोखरा आएको भने चार दशक पुगेछ । ‘पोखरा आएको त ४० वर्ष भयो, या ेभन्दा अगाडि १५÷१६ वर्ष भारतमा बसेका हौं ।’ हाँस्दै कृष्णले भने, ‘हामीलाई त याद भएन, अब आफैं पत्ता लगाउनुस् हाम्रो बिहे भएको कति वर्ष पुग्यो ।’ ४० वर्षको अवधीमा पोखरा धेरै परिर्वतन भयो, यहाँ ठूला–ठूला महल बने, हरेक कुरा परिर्वतन भयो । यो जोडीको आपसी प्रेम, सद्भाव, आडभरोसामा भने रतिभर परिर्वतन आएन । यहाँसम्म कि उनीहरु भारतमा हुँदा ठूला–ठूला दुर्घटनामा परेका रहेछन् । लेकसाइडमा बाढी आउँदा उनीहरुलाई सेना र प्रहरीले बचाएका थिए । ‘भारतमा समेत ४,५ पटक ठुलो दुर्घटनामा परेको हो, यहाँ समेत बाढी आउँदा पुरिएका थियौं । तर, प्रहरी र सेनाले उद्धार गरेर बचाए हामीलाई ।’ लामो श्वास फेर्दै लक्ष्मीले भनिन्, ‘अझै धेरै समय बाँच्न लेखेको रहेछ सायद हामीलाई एकअर्काको साथ सहारामा ।’

कृष्णलाई प्यारालाइसिस भए पछि तड्पिएकी लक्ष्मी
लकडाउनको समयमा कृष्णलाई प्यारलाइसिस भएछ । ३ महिना मणिपाल हस्पिटलको आइसियूमा बस्दा लक्ष्मीलाई साह्रै गाह्रो भयो । उपचारका क्रममा डाक्टरले लक्ष्मीलाई कृष्ण अब ठीक नहुने बताइदिए । ‘त्यो समयमा डाक्टरले तिम्रो मान्छे अब होशमा आउँदैन, घर लैजाउ भनेका थिए,’ केही निराश भावमा लक्ष्मीले भनिन् । अस्पतालमा समेत कृष्णलाई सबैले अब ऊ फर्किदैन भनिसकेका थिए । कृष्णलाई केही हुँदैन भन्दै मन दरिलो बनाए पनि मनको एउटा कुनामा लक्ष्मीलाई डर लाग्थ्यो कथमकदाचित कृष्ण आफूलाई एक्लै बनाएर पो जान्छन् कि ? तर, हिम्मत भने हारिनन् । सबैले फर्किदैन भन्दा समेत कृष्ण एकदिन फर्किन्छन् भन्ने लक्ष्मीलाई लाग्थ्यो । त्यसपछि कृष्णलाई ‘अकुपेन्चर’ गरेर उपचार गरिएको थियो । ६ महिना ‘अकुपेन्चर’ गरेपछि कृष्ण ठीक भएका थिए । यो समय लक्ष्मीका लागि सबैभन्दा कठीन क्षण थियो । अन्त्यमा लक्ष्मीको दावी सही भयो र कृष्णले नयाँ जीवन पाए । अहिले उनको स्वास्थ्य अवस्था ठिक छ ।

जब उनीहरु पोखरा आए, होटल तथा रेष्टुरेण्ट व्यवसायमा संलग्न भए । रेष्टुरेण्ट व्यवसायमा संलग्न भए पनि लक्ष्मीलाई खाना बनाउन कहिल्यै आएन । अहिलेसम्म पोखरामा आएर विभिन्न स्थानमा यही व्यवसाय सञ्चालन गरे उनीहरुले तर, खाना सधैं कृष्णले बनाउँछन् । ‘नभएको कुरा बोल्न हुँदैन, म त दालभात समेत बनाउँदिन, सबै उसैले हो ।’ कृष्णतर्फ हेर्दै लक्ष्मीले भनिन्, ‘उसलाई अनेक परिकार बनाउन आउँछ, किताब हेर्दै बनाउँछ ।’ कष्ृण आफूले माछा, मासु केही नखाने भए पनि परिकार बनाउन अफ्ठ्यारो मान्दैनन् । ग्राहकले जे अर्डर गर्छन् त्यो सजिलै बनाउँछन् । उनीहरुको रेष्टुरेण्टमा नेपाली भन्दा विदेशी बढी पुग्छन् । उनले खाना बनाउन कतै सिकेका होइनन् । ‘म किताब हेर्दै बनाउने हो, कतै सिकेको छैन,’ कृष्ण भन्छन् ।

बिरामी हुँदा विदेशी पर्यटकले ३ महिना अस्पतालमा कुरेको त्यो क्षण
कोरोना पछि अहिले उनीहरुको रेष्टुरेण्टमा विदेशी पर्यटक अलि कम आउँछन् । पोखरा घुम्न आएका धेरै विदेशी पर्यटकले यो जोडीलाई आमा बाबा बनाएर आफ्नो देशमा जाउँ भन्दै बिन्ती बिसाउँछन् । विदेशी पर्यटक मध्ये केहीले उनीहरुलाई सहयोग गरेका छन् । लक्ष्मीको पेटको अप्रेशन गर्दा एक विदेशी महिला पर्यटकले तीन महिनासम्म कुरेकी रहिछन् पोखराको ओम हस्पिटलमा । त्यस्तै, विदेशीकै सहयोगमा कृष्णको ‘अकुपेन्चर’ को उपचार भएको रहेछ । जे भए पनि उनीहरु नेपाल छोडेर विदेश जान मान्दैनन् ।

यो जोडीका आफन्तको अवस्था के छ ? उनीहरु बेखबर छन् । कृष्णका अनुसार उनको घ परिवार तर्फका आफन्त सबैको निधन भइसकेको छ । लक्ष्मीको भने मामाका छोराहरु छन् रे । तर, उनीहरुसंग समेत उनको सम्पर्क हुँदैन । को कता छन् भन्ने उनीहरुलाई थाहै छैन । उनीहरुलाई केही आफन्तले सहयोग गर्छौं भन्दै नबोलाएका पनि होइनन् ।

सायद माया भनेको यहीँ हो कि ?
लक्ष्मी र कृष्ण स्वाभिमानी पनि यति छन् कि कतै जानै मान्दैनन् । ‘अर्काकोमा के बस्न जानु ? बरु सकेसम्म आफैं काम गर्ने हो,’ कृष्ण भन्छन् । अहिले लेकसाइडमा रेष्टुरेण्ट छ, जहाँ उनीहरुको आफ्नै खुसी र संसार समेटिएको छ । थाहा छैन, आउँदा दिनमा के हुन्छ ? तर अहिले जे छ, त्यसमा उनीहरुले आफ्नो खुसी पाउँछन् । जति पनि स्थान उनीहरु घुमे र बसे, त्यस मध्ये दुवैलाई संसारकै उत्कृष्ट ठाउँ पोखरा लाग्छ ।

‘सायद माया भनेकै यसरी नै हरेक समय एकअर्काको साथ दिनु पो हो कि ?’ कृष्णले लाज मानेपछि लक्ष्मीले भनिन् । अबका दिनमा उनीहरुलाई पोखरा नै बस्नु छ । यही आफ्नै संसारमा रमाउनु छ र एकअर्काको सहारा बन्दै पाइलामा पाइला चाल्नु छ । लक्ष्मीलाई कृष्णले बनाउने मिठो खानाको स्वाद सधैं लिनु छ भने कृष्णलाई लक्ष्मीको आँट र भरोसाका साथ सधैं एकसाथ चल्नु छ । बस्, यही छ यो सुन्दर जोडीको बाँकी चाहना र आंकाक्षा ।

 

२०७९, २९ भाद्र बुधबार १०:३३
कथालिका नयाँ कथा
  •  खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    • पोखरा
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको…
  •  खानीमा अल्झेको आशा

    खानीमा अल्झेको आशा

    • पोखरा
    सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानी लगायत थुप्रै खानीका नाम छन् ।पहिले खानी…
कथालिका