- अन्नपूर्णको काख, चिसो सिरेटो अनि जमेको ताल, सिधै ताल नजिकै गएर थचक्क बसेँ, केही समय आँखा बन्द गरे, आनन्दले ध्यानमा बसे । लाग्यो, साँच्चै मानिसले भन्ने गरेको स्वर्ग कहीँ छ भने हो यही हो स्वर्ग, निकै नौलो अनुभूति भयो ।
तपाईले स्वर्ग देख्नु भएको छ ?
कसैले मलाई प्रश्न सोध्यो भने मैले निःसन्देह भन्नेछु देखेको छु ।
अनि कस्तो हुँन्छ ?
मेरो जवाफ हुनेछ–“एक पटक मैले भनेको ठाउँमा पुग्नुस्, आफै महसुस गर्नुहुनेछ ।”
सफा, स्वच्छ, निलो ताल, चारैतिर सेतो हिमाल, मानौ तलाउको रक्षा गर्न चारैतिर उभिएका मौन प्रहरी जस्ता । जब विहानको चिसो मौसमलाई साथी बनाउँदै त्यहाँ पुगिन्छ नि, लाग्छ चलिरहेको संसार टक्क अडिएर नयाँ दुनियामा प्रवेश गरे जस्तो, चञ्चल मन एकाएक शान्त, नयनहरु आनन्दित, ओठमा मुस्कान, शरीर हल्का । न त चिसोको प्रवाह, न त थकानको महसुस, वस एकनासले प्रकृतिलाई हेरिरहन हेरिहन अनि हेरिरहन मन लाग्ने ।
त्यो सुन्दर र आकर्षक ठाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । पर्यटकीय सम्भावनाले भरिपूर्ण नर्थ अन्नपूर्ण आधार शिविर विश्वको दसौँ र नेपालको आठौँ अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पनि हो । ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा छ । सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा नेपालकै पहिलो पटक पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम “मौरिस हर्जोग” नामकरण गरिएको छ, यसका लागि अन्नपूर्ण गाउँपालिकाले निकै मेहनत र लगानी गरेको छ । वेसक्याम्पमा उनीहरुको अर्ध कदको शालिक समेत बनाइएको छ ।

“नजिकको तीर्थ हेला” भन्ने उखान सायद मेरै लागि बनेको हो जस्तो । करिब चार वर्षदेखि अन्नपूर्ण वेस क्याम्प जाने योजना पटक–पटक बन्यो, तर कहिले समय मिलेन, कहिले परिस्थिति । अन्नपूर्ण गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी सरले धेरै पटक आग्रह गर्नुभएको थियो तर, मेसो नै मिलेन । अरू साथीहरू पुगेर फर्किए, अनुभव सुनाए । पछिल्लो समय त यसरी मानिसहरुको फ्लो बढ्न थाल्यो कि देश तथा विदेशमा अत्याधिक मानिसहरुको आगमन हुन थाल्यो । चिनजानमा भएका देशभरका साथीहरुले रुटको बारेमा सोध्ने, धेरैलाई जानकारी दिनु पर्ने सोधखोज गरेर दिइयो पनि । तर, बिडम्बना आफै गएको छैन, मन सधैं कस्तो नमिठो हुने । अरुलाई ढाटे पनि आफ्नै मनलाई ढाट्न कहाँ सकिन्छ र ?
घुम्नका लागि निकै लालयित हुने मान्छे हुँ म, त्यसमा पनि ट्रेकिङ मेरो औधी रुचिको विषय हो । तर, पछिल्लो केही वर्षहरु मेरा यी रहरहरुले सार्थकता पाउन सकेका छैनन् । त्यसैले पनि यो यात्रा मेरो लागि निकै महत्वपूर्ण थियो । समय व्यवस्थापनका हिसाबले पनि उपर्युक्त, ट्रेकिङको मजा लिन पाइने, छोटो समयमै हिमालको काँखमा पुगेर आउने पाइने ।
मनले यसपटक एउटा अठोट ग¥यो, जुनसुकै परिस्थिति आवस् पुगेरै छाड्छु, बरु एक्लै जान किन नपरोस् । अनि समय निर्धारण भयो, दशैको भोलिपल्ट अर्थात् असोज १७ गते । समय निर्धारणसँगै जाने साथीहरु भेटिए तर, सबै दशैं भन्दा अगाडी नै । यसपालिको टीका नभएकाले दशैंको भोलिपल्ट जाने योजना थियो । अब खोजी सुरु भयो, थप सहयात्रीहरुको । संयोग भनौ वा समयले जु¥यायो । म्याग्दी जेसीज २०२५ का शाखा अध्यक्ष विनोद घर्ति, पूर्व अध्यक्ष खम थापा मगर, पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठको टोली मिलन भयो । अनि मिति तय भयो, १७ गते, समूह बन्यो ४ जनाको, गाडीको व्यवस्थापन खम दाइले गर्ने, यात्राका लागि चाहिने औषधी, लठ्ठी धनञ्जय दाइले, बाँकी अन्य तयारी हामीले । मेरो र खम दाइको टीका थिएन, विनोद जी र धनञ्जय दाइको टीका थियो । धनञ्जय दाइ बाहेक हामी तीन जना गाउँबाट १६ गते टीकाको दिन बेनी झर्ने सल्लाह भयो । अन्ततः १६ गते गते आइपुग्योे, मनमा उत्सुकता, रोमाञ्चकताले मन भर्दै बेनी झरेर भर्खर रुममा पुगेर कपडा चेन्ज गर्न पनि पाएको थिइन, खम दाइ टुप्लुक्क आइपुग्नु भयो । अनि मौसम खराबी हुन सक्ने, मानिसहरुको ठूलो भीड लागेकाले बसाई व्यवस्थापन असहजता जस्ता कारणले फेरी पनि यात्रा योजनामैै रोकियो । लाग्दै थियो अब त पक्कै पनि जाने समय जुरेको रहेनछ । मनमा अठोट भने बाँकी नै थियो, फेरी संकल्प ग¥यौ गएरै छाड््ने अनि २५ गते शुक्रवार जाने निर्णय भयो, त्यो पनि २३ गते बेलुका । तर, यसपटक यात्रामा विनोद छुट्ने भए । सबैलाई समेट्न थाल्ने हो भने फेरि पनि यात्रा रोकिने सम्भावना देखियो अनि २५ गते विहानै लाग्यौ बेसक्याम्पतर्फ ३ सदस्यीय टोली म, खम र धनञ्जय दाइ ।
गलेश्वर पुगेर भगवानलाई धन्यवाद दिए यो समय जु¥याई दिएकोमा । मान्छेको चाप कम भएकाले गाडी भरिने अवस्था नभए पछि बेनीबाट बोलेरोमा तीन जना मात्र हुईकिएका थियौ तर, गलेश्वरमा पुगेपछि २ जना काठमाडौंबाट आएका साथीहरु भेटिए । कालिगण्डकी नदीको बेग तल झर्दै थियो भने हामी त्यसलाई छिचोल्दै माथि चढ्दै थियौ शिरतिर । बोलेरोको हुईक्याई, चिसो हावाको सिरेटो मजा नै छुट्टै थियो ।
तातोपानी–नारच्याङ्गसम्मको पिचबाटो सरर, अनि नारच्याङ्गबाट विस्तारै कच्ची बाटो अनि झनै मन सिरिङ्ग हुने बाटोहरु, बाटोमा बन्दै गरेका हाइड्रोका विल्डिङहरु, केही ठाउँमा कहाली लाग्दो भिरसँग नजर जुधाउँदै त केही ठाउँमा सररर बाटोमा आनन्द लिँदै बोलेरो हुमखोला पुगेर टक्क रोकियो । जुन ठाउँ सवारी साधनको अन्तिम गन्तव्य थियो । जब गाडीबाट पाइला बाहिर मात्र के झिकेको थिए, चिसोले यसरी छोयो कि शरीर नै काप्न थाल्यो । गाडी भित्र भएकाले खासै बाक्लो कपडा पनि लगाएका थिएनौ । हतार हतार नजिकैको होटलमा पुग्यौ तरकारी, अण्डा र चिया नास्ताको रुपमा तयार रहेछ । अनि टिम्मुरको धुलो राखेर तरकारी र अण्डा खाएपछि बल्ल शरीरमा हल्का तापक्रम बढेको महसुस भयो । हामी भन्दा केही अगाडी प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु सबै पनि सोही यात्रामा हुनुहुँदो रहेछ, त्यही भेटघाट भयो । म्याग्दी जेसीजको पूर्व अध्यक्षहरुको तर्फबाट हामीले पदयात्रामा सन्देशमूलक र जानकारीमूलक केही स्टिकरहरु बनाएर लगेका थियौ, प्रमुख जिल्ला अधिकारीमार्फत हुमखोलामा टासेर समुद्घाटन गर्ने अवसर प्राप्त ग¥यौ । उहाँहरुले त्यही खाना अर्डर गर्नु भएको रहेछ, हामी भने फुतफुते झरनामा खान पुग्ने योजना सहित उकालो चढ्यौ ।
माथि सुन्दर हिमाल देखियो, छिटो–छिटो आउ भने जस्तो आभाष भयो । विस्तारै घाम लाग्दै गए पछि चिसोपन हट्दै गयो । अनि आ–आफ्नो झोला बोक्यौ, लठ्ठीलाई साथी बनाएर उकालो सुरु भयो । ठूला–ठूला ढुंगाहरुको बिचमा छङछङ आवाज सहित खोला बग्दै थियो, जुन खोला पञ्चकुण्ड तालबाट आएको थियो । उसले आनन्दसँग जानुस्, तपाईहरु स्वर्गको अनूभूति गर्न जाँदै हुनुहुन्छ भने झै लाग्थ्यो । माथिबाट फर्कनेहरुलाई कस्तो छ वेसक्याम्प ? पञ्चकुण्डको पानी छुनु भयो ? भनेर जिस्कदै सोध्थ्यौ । रमाइला चुट्किलाहरु, कथाहरु अनि जिवनकै कथाहरु एकआपसमा साझा गर्दै पाईलाहरु गन्तव्यतर्फ लम्किरहेका थिए । यात्रा केवल हिँडाइ मात्र होइन, अनुभूतिको संग्रह बन्दै गइरहेको थियो ।
अलिक माथि पुगेपछि पेटले पनि केही खानेकुरा माग्न थाल्यो, खुट्टाले एकै छिन भएपनि आराम खोज्दै थियो । त्यत्ति नै बेला फोटोमा देखिरहेको निश्चल, निर्मल अनि छङछङ आवाज सहित निरन्तर बगिरहेको फुतफुते झरनाले स्वागत ग¥यो । त्यही रहेको होटलमा खाना अर्डर ग¥यौ अनि धित मरुञ्जेल उसको समिपमा रह्यौ, तर फोटो भिडियो खिच्न भने धित मार्न पाएनौ । भोक लागेकाले पनि होला खाना निकै मिठो लाग्यो । सायद त्यहाँको पानीले पो हो कि ? खाना खाइसक्दा हामी भन्दा पछाडि छोडिएका साथीहरु पनि हामीलाई पछ्याउँदै त्यही आइपुगे । उनीहरु खान बसे, हामी भने उकाली चढ्यौ ।
बेलुका सकेसम्म बेसक्याम्पमै पुग्ने योजना थियो । तर, बेसक्याम्पमा केही दिनदेखि करिब ७०–८० जना भारतीयहरुको टोली छ, बसाइँमा अलि समस्या हुन सक्छ भन्ने खबर पाएपछि भुस्केट मेलामा नै बस्ने निधो भयो । बाटोमा गफिदै झोलामा भएका चाउँचाउँ, चक्लेट खादै, विस्तारै पाइला बढाउँदै अनि एकछिन बिसाउँदै करिब साँझको ५ बजे खुट्टाहरुले भुस्केट मेलामा पु¥याए । पहिले आएका साथीहरुले भिडियो, टिकटकमा बाटोका बारेमा गाह्रो, अप्ठेरो छ भनेर प्रचार गरेका थिए तर, वास्तवमा त्यस्तो रहेनछ, सहजै त्यहाँ पुग्न सक्यौ । चिसो निकै नै बढेको थियो । टेन्ट अनि टिनका छाप्राहरु बासका लागि तयार थिए, बसाइँ निकै रोमाञ्चक हुनेवाला थियो । हामी तीन जनासँगै चितवनबाट आएका अन्य २ जना युवा साथीहरु पनि टुप्लुक्क एकसाथ पुग्यौ, होटलका दाइ आइपुगे अनि हामी पाँच जनालाई एउटा रुम देखाइदिए ।
हामी जानु भन्दा केही दिन अगाडि हिउँ परेकाले डाँडाकाडा सेताम्मे थिए । साँझको समय साँझ रमझम बन्दै थियो, कसैले आगो ताप्दै थिए, कसैले तातो सुप बनाएर पिउँदै थिए, कसैले चिया पिउँदै, कसैले झोला मिलाउँदै । वातावरण रमाइलो थियो, फरक खालको अनुभूति भइरहेको थियो । हामीेले पनि चाउचाउ, अण्डा र तातोसुप सहित टिम्मुरको धुलो हालेर खायौ, ज्यानले तातोपनको महसुस ग¥यो । अँध्यारो पनि बढ्दै थियो, साँझको ७ बजेपछि मात्र त्यहाँ बत्ति बाल्ने चलन रहेछ । जब बत्ति बल्यो मोवाइल चार्ज गर्नेहरुको लाइन उस्तै । भोलिपल्ट विहान ४ बजे हिँड्ने योजना बन्यो, त्यसैले सुत्न गयौ । ज्यान विस्तारामा पल्टिरहेको थियो तर, आँखा झिमिक्क गरेन । नयाँ ठाउँ, चिसो मौसम, मनमा उत्सुकता, बेसक्याम्प पुग्ने बेहद चाहनाका कारणले होला करिब १ घण्टा पनि राम्रोसँग निदाउन सकिएन ।
विहानै ३ः३० बजेदेखि नै बाहिर मधुर मधुर आवाज सुनिन थाल्यो, होटलवाला दाइले चिया र पानी तयार भएको जानकारी दिए, यसै त निद्रा परेको थिएन, अनि बाहिर गाइगुइ आवाज सुनेपछि म पनि उठे । टाउको बेस्सरी दुखेको थियो । नृत्यकर्म सकेपछि एक गिलास तातोपानी पिए, सबैजना उठिसकेका थिए तर, खम दाइको स्वास्थ्यमा अलिकति समस्या देखियो । यद्यपि तातोपानी, चिया अनि सिटामोल खाने र खुवाउने काम भयो । हामी बाहिर आउँदा करिब करिब सबै हिँडिसकेका थिए । हामी पनि विस्तारै लौरी अनि चन्द्रमाको उज्यालोको सहारा लिँदै उकालो लाग्यौ । टह–टह जुनेली रात, सेताम्मे हिउँले ढाकिएका पहाडको फेदको बाटो, सुनसान रात, सुसाईरहेको खोलाको आवाज साँच्चै वातावरण निकै रमणीय थियो, जुन कुरा मात्र महसुस गर्न सकिन्छ ।
मन निकै आतुर थियो, अन्नपूर्ण हिमालको काखमा रहेको पञ्चकुण्ड तालको समिपमा रहेर आनन्द लिन तर, लाग्थ्यो कि समय निकै ढिलो गरी चलेको छ । जति उकालो चढ्दा पनि पटक्कै आएन । साथीहरु थकाइ मार्न बिच बिचमा बस्न थाले तर, म भने निकै आतुर थिए पुग्न, त्यसैले अलि छिटो अगाडी बढे । मन निकै आनन्दित थियो, नयनहरुले सुन्दरताको अवलोकन गर्दै थिए, ओठ खुसीले मुस्कान सहित सल्बलाउँदै थियो, खुट्टाहरु थकान, दुखाइको प्रवाह नगरी फटाफट लम्कदै थिए । दुखाई र गाह्रोपन नभएको होइन तर, ती सबै ओझेल पर्दै थिए ।

आँखाहरु टक्क रोकिए, पाइलाहरुले आनन्दको बिसाइ फेरे, हातहरु एकाएक उचालिए अनि अभिवादन गर्न थाले, हेलो ! म आईपुगे तिमिलाई कस्तो छ भनेर, मुहार मुस्कानले भरियो, मुटुले ठूलो श्वास फे¥यो आनन्द र सफलताको अनि खुशीको जब यी पाईलाहरुले पञ्चकुण्ड ताल टेक्यो । साँच्ची त्यो पल अनि त्यो विहान जिवनभरीका लागि एक अविष्मरणीय क्षण बनेर बसेको छ, अझै पनि त्यो पल सम्झदा छुट्टै उर्जा अनि खुशी प्राप्त हुन्छ । त्यतिबेला मुखबाट मात्र एउटा शब्द निस्कियो “वाओ” । चिसोले जमेको ताल, चिसो सिरेटो त कुरै नगरौ । सिधै ताल नजिकै गए, अनि थचक्क बस्न मन लाग्यो, करिब १५ मिनेट आँखा बन्द गरे, आनन्दले ध्यानमा बसे । त्यो पलमा प्राप्त आनन्दको कुनै शब्द नै छैन । साँच्चै मानिसले भन्ने गरेको स्वर्ग कहीँ छ भने हो यही हो स्वर्ग, निकै नौलो अनुभूति भयो । स्वच्छ हावा, शान्त तलाउ, सेताम्मे पहाड निकै रोमाञ्चक अनुभूति भइरहेको थियो । हिमालमा खेलिरहेका कागहरु जसलाई चिसोको कुनै प्रवाह थिए, निस्फिक्री भइ खेल्दै थिए, त्यो दृष्टि निकै लोभलाग्दो देखियो ।
करिब २०,२५ मिनेट पछि अरु साथीहरु पनि आइपुगे । पञ्चकुण्डमा केही समय वितायौ, स्मरणका लागि फोटो भिडियो खिच्यौ । बाटोमा भेटिनेहरुले भनेका थिए, तालसम्म मात्र पुगेर नफर्कनुहोस्, माथि बेसक्याम्प सम्म जानुस् है । अनि यात्रा फेरी कुण्ड भन्दा माथि यात्राको मूख्य केन्द्र बेस क्याम्पतर्फ अगाडी बढ्यो । झण्डै २० मिनेट पछि बेसक्याम्पमा पुग्यौं । त्यो दृष्य त झन् आहा क्या ! समथर भू–भाग, सेतासम्मे हिउँले गर्दा निकै आकर्षण थपियो, अन्नपूर्ण हिमालसँग नजिकै आँखा जुधाएर के छ खबर, ठीक छ ? भनौ जस्तो लाग्ने । चारैदिशाबाट हिमपहाडले घेरेको भूभाग । पञ्चकुण्ड ताल, वरपरको दृष्य निकै लोभलाग्दो देखियो । त्यो ठाउँ छाडेर फर्कन पटक्कै मन नलाग्ने । नजर पुग्ने ठाउँसम्म नजर पु¥याए, मनमनै भए पनि अन्नपूर्ण हिमालसँग अंकमाल गरे, उसको प्रेमको महसुस गरे, उसका भावनाहरुसँग साक्षात्कार गरे । मनमनै उसलाई स्पर्श गरे, मानिसहरुको उसको सौन्दर्यता हेर्न लालयित भएको देख्दा । अन्नपूर्ण भने निकै मख्ख देखियो ।
मनको भारी बिसाउने ठाउँ, मनमा शान्ति दिने ठाउँ, ओठमा मुस्कान भरिदिने ठाउँ, दिमाग शून्यतामा पु¥याएर आनन्द प्रदान गर्ने ठाउँ, नयनहरुले शितलता प्राप्त गर्ने ठाउँ, दुनिया बिर्साएर नयाँ अनुभूति गराउने ठाउँ, यी तमाम कुराहरु पाइने एक मात्र ठाउँ कहाँ हुन्छ ? अवश्य पनि हामीले सुन्दै आएको स्वर्ग । त्यसो भए यसलाई स्वर्ग किन नभन्ने ? मरेपछि त कहाँ गइन्छ ? कसलाई के थाहा छ र ? तर, म भने स्वर्ग जस्तो पवित्र र आनन्दित ठाउँमा पाइला टेक्न पाएकोमा मख्ख भए । अन्नपूर्णको काखको त्यो सुन्दर क्षण, त्यो विहान कहाँ बिर्सन सकिएला र खै ? छोटो समयमा बेसक्याम्पसमा पुगेर फर्कन सकिने यो भन्दा उत्कृष्ट गन्तव्य अन्त कहाँ होला ?
ए साँच्चै,
तपाईं त्यहाँ पुग्नुभएको छ नि ?
यदि पुग्नुभएको छ भने, मैले जस्तो अनुभव गर्नु भयो की नाई ?
यदि पुग्नु भएको छैन भने- आजै अबको सिजनमा योजना बनाउनुहोस् ।
यस्तो ठाउँमा, स्वर्गको अनुभूति-सायद जीवनमा एकपटक त अवश्य गर्नैपर्छ ।