चुनावबारे बेखबर छन् तिग्रापानीबासी – कथालिका

चुनावबारे बेखबर छन् तिग्रापानीबासी

  • निसीखोला गाउँपालिका–६ मा पर्ने यो गाउँमा २ सय हारहारीमा घर छन् । एउटै घर परिवारले सयौँको संख्यामा वस्तुभाउ पाल्न भएकाले उनीहरुको छुट्टै व्यस्तता पनि छ ।

देश निर्वाचनमय बनिरहेको छ । अब निर्वाचन आउन महिना दिन पनि बाँकी छैन । सामाजिक सञ्जाल, चोकचौतारीहरुमा भइरहेका चुनावी चर्चाले यस्तो लाग्छ कि यही खालको चर्चा र महत्व सर्वत्र छाउन कुनै ठाउँ बाँकी छैन होला । तर, बागलुङको पश्चिम तिग्रापानी गाउँ चुनावसँग बेखबर प्रायः छ । जो सँग चुनावी प्रचार प्रसार, आरोप प्रत्यारोप, हतारो केही छैन ।

आफ्नै धुनमा दैनिकीमा छन् स्थानीय

गाउँले आफ्नै धुनमा दैनिकी चलाइरहेका छन् । माघ अन्तिम सातासम्म पनि कठ्याङ्ग्रिदो चिसो छ । चिसोका कारण विहान बेलुका जनजीवन कष्टकर नै छ । फागुन महिना नजिकिएसँगै स्थानीयलाई बारी जोत्ने, मल ओसार्ने र आलु रोप्ने चटारो छ । बागलुङको बजारी इलाका चुनावी माहोलले गर्माएको बेला यहाँका नागरिकमा भने कुनै गुन्जायस नै छैन ।

प्रतिनिधि सभा निर्वाचन हुने सुने पनि कुन मितिमा हुँदैछ भन्ने जानकारी समेत छैन । भौगोलिक विकटताका कारण ओझेलमा रहेको तिग्रापानी विकासका हिसाबले पनि दूरमै छ । गाउँमा मोटरबाटो पुगेको छ तर, दिनहुँ गाडी चल्दैन । विद्यालय र स्वास्थ्य संस्था पनि छैनन् । जसका कारण बालबालिकाले एक घण्टा बढी हिँडेर स्कूल पुग्नु पर्छ । बिरामीलाई बोेकेर अस्पताल पु¥याउनु पर्छ ।

चुनाव जितेर गाउँ नफर्कने नेतासँग गुनासो

चुनावका बेला नेताले अनेक वाचा गर्छन् । तर, जितेपछि एक पटक पनि फर्किएर गाउँ आउँदैनन् । तिग्रापानीवासीले कयौँ पटक नेतालाई जिताएर संसामा पठाए पनि आफ्ना समस्याका बारेमा आवाज उठाउने नेता कहिल्यै पाउन सकेनन् । निसीखोला गाउँपालिका–६ मा पर्ने यो गाउँमा दुई सय हारहारीमा घर छन् । एउटै घर परिवारले सयौँको संख्यामा वस्तुभाउ पाल्ने हुँदा उनीहरुलाई त्यति फुर्सद पनि हुँदैन । बजारका चोक र चिया पसलमा जस्तो चुनावी चर्चा, चासो र हतारो पनि यहाँ हुँदैन ।

चुनावको दुई/तीन दिन अगाडि मात्रै नेताहरु भोट माग्न पुग्छन् र सुनाउँछन्, आफ्ना झुठा वाचा । अनि पत्याउँछन् र मतदान गर्न बिबश हुन्छन् गाउँले । विकासले पछाडि पर्दा पनि यहाँका जनतामा रिस, आक्रोश र गुनासो खास्सै देखिदैन । साना तिना विकासमा पनि उनीहरु खुसी छन् । उनीहरुका माग बडेमानका छैनन् । गाउँमै सामान्य उपचार गर्न पाइयोस, बालबालिकाले नजिकमा पढ्न पाउन् र वस्तु बिरामी पर्दा खोप पाउन् भन्ने चाहना उनीहरुको छ ।

रेडियोमा चुनावबारे सुने तर, किन र कहिले हुँदैछ ? भन्नेबारे बेखबर

रेडियाबाट चुनाव हुने सूचना पाए पनि कहिले हुन्छ भन्ने यकिन मिति जानकारी नभएको स्थानीय ५६ वर्षीया लक्ष्मी घर्ती मगरले बताइन् । अघिल्ला निर्वाचनहरुमा नेताहरु भोट माग्न आउँदा मात्रै चुनाव आएको थाहा हुने गरेको उनले सुनाइन् । घर्ती मगरले भनिन्, ‘अस्ती हो कि कहिले हो, रेडियो चुनाव आउँदैछ भन्ने सुनेको थिएँ । तर, कुन मितिमा हुने भन्ने जानकारी छैन । चुनाव भए त नेताहरु भोट माग्न आउँछन् होला नी ।’

गाउँमा आएको बाटोमा धेरै गाडी चल्न पाए सुविधा लिन पाइने उनले सुनाइन् । गाडी नचल्दा सामान ढुवानीमा समस्या हुने गरेको उनको भनाइ छ । ‘मोटरबाटो नआउँदा बजारबाट दुई÷तीन घण्टा बोकेर सामान ल्याउने गथ्र्यौँ । अहिले गाडी हिड्ने बाटो त बन्यो तर चाहिएको बेला पाइँदैन । एक बोरा चामल ल्याउनका लागि गाउँभरीका मिलेर बोलाएपछि बल्ल गाडी आउँछ ।’

पशुपालनबाटै जीविका

तिग्रापानी गाउँ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब १२० किलोमिटर पश्चिममा पर्छ । सहरी कोलाहल भन्दा अल्ली टाढा रहेको यस गाउँका स्थानीयको जनजीवन पनि सामान्य किसिमको छ । पशुपालनबाटै जीविकोपार्जन गर्दै आएका किसानले राज्यबाट सामान्य सहयोगको अपेक्षा गरेको स्थानीय ६० वर्षीय गुमानसिंह घर्ती मगरले बताए । उनले भने, ‘हामी त किसान मान्छे । सरकारले बिउबिजन र वस्तुभाउलाई उपचार गरि दिए राम्रो हुन्थ्यो । बेला बेला धेरै वस्तुभाउ एकै पटक मर्छन् । राज्यबाट केही सहायता पाए त नोक्सान व्यहोर्न पर्ने थिएन ।

घर्ती मगरले चुनावमा भोट दिएका नेताले गाउँमा सामान्य विकास गरेको सुनाए । अहिले भएको विकासले स्थानीयलाई सुविधा दिएको उनी सुनाउँछन् । घर्ती मगर भन्छन्, ‘विकास यही त होला, मोटरबाटो आएको छ । धारामा पानी पनि आउँछ । अब जिते भने फेरि विकास गर्लान् ।’

साना आशा, साना खुसी

यी गाउँका बासिन्दाका ठुला आशा, ठुला सपना देश र नेताहरुसँग केही छैन । बस् साना आधारभुत आवश्यकता पुरा गरिदिए खुसी मिल्ने उनीहरु बताउँछन् । गाउँ नजिक स्वास्थ्य संस्था छैन । गाउँमा कोही बिरामी भए तीन/चार घण्टा हिँडेर भल्कोटमा रहेको स्वास्थ्य चौकीमा आउनु पर्ने बाध्यता छ । स्थानीय ५७ वर्षीय दलबहादुर घर्ती मगरले नजिकमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार पाउन नसकेको सुनाए । उनले भने, ‘यहाँ कतै उपचार गर्ने ठाउँ छैन । भनेका बेला गाडी पाइँदैन । सामान्य चोटपटक लाग्यो भने पनि भल्कोट पुग्नु पर्छ ।’

उनले विद्यालय टाढा हुँदा बालबालिकाले दुःख पाएको गुनासो पोखे । ‘अहिले यस्तो चिसो छ, विहान सबेरै उठेर थुरथर काप्दै जान्छन् । साँझा थुरथुर काप्दै आउँछन् । बर्खामा पनि उस्तै समस्या हुन्छ, वर्षाले भिजेर निथु्रक्क पर्दै आँउछन्, स्कूल नजिक भएको भए केटाकेटीले दुःख पाउने थिएनन् ।’

२०८२, २९ माघ बुधबार १५:४६
कथालिका नयाँ कथा
कथालिका