जेनजीः प्रक्रिया होइन, परिणाम खोज्ने पुस्ता – कथालिका

जेनजीः प्रक्रिया होइन, परिणाम खोज्ने पुस्ता

  • नव युवालाई यस्तो लाग्यो कि बजेट विकासका लागि होइन, कार्यकर्ता पाल्न, भ्रष्टाचार, कमिसनका लागि बनाइन्छ । नेताहरू स्वयं ठेकेदार हुन्छन् । न्यायालय दलीय भागबण्डाको मैदान बन्छ । योग्यता होइन, पहुँच निर्णायक बन्छ । यही अनुभूतिले जेन-जीलाई एउटा निष्कर्षमा पु¥यायो, यो प्रणाली हाम्रा लागि बनेकै होइन ।

जुम्लाका १९ वर्षिय विनिता कठायतलाई केही वर्षअघि सम्म राजनीतिमा कुनै चासो थिएन । देशकाबारेमा उति धेरै सरोकार पनि राख्थेनन् । तर, केही महिना यता भने उनी देशमा व्याप्त बेथिति, भ्रष्टाचार, मनोमानीको विषयमा चासो मात्र होइन, खुलेर प्रश्न गर्न थालेका छन्, आफ्ना मुर्छित आवाजहरु सामाजिक सञ्जाल र सार्वजनिक फोरमहरुमा खुलेर राख्न थालेका छन् । कठायत मात्र होइन, तनहुँका राजिव आले पनि उस्तै सुनिन्छन् । ‘यो देशलाई त भित्रभित्रै ध्वस्त बनाइसकेका रहेछन्, हाम्रा बाउबाजे पुर्खाले त अति नै दुःख पाए, अब हामीले पनि त्यही भोग्ने कि बोल्ने र परिवर्तनको पक्षमा उभिने ?’ केही क्रान्तिकारी स्वरुपमा उनले भने । यो केवल दुई पात्रको भावना मात्र होइन, पछिल्लो नवपुस्ताको साझा गुनासो, आक्रोश र विद्रोहको आवाज हो । यही कुरा बोध गर्न नसक्दा मुलुकले ठुलो जनधनको क्षति बेहोर्न पुग्यो ।

विश्लेषकहरु भन्छन्, यी आवाजहरू व्यक्तिगत भावना मात्र होइनन् । यो नयाँ पुस्ताको साझा गुनासो, असन्तोष र विद्रोहको प्रतिनिधित्व हो। यसलाई नजरअन्दाज गर्दा मुलुकले ठूलो जनधन, सामाजिक विश्वास र शान्ति गुमाउन पुगेको छ ।

गत भाद्र २३ र २४ मा काठमाडौँसहित देशका विभिन्न शहरमा देखिएको आन्दोलन कुनै अराजकता वा क्षणिक हुरी मात्र होइन । राजनीतिक विश्लेषकहरूको दृष्टिमा, यो राज्य असफलताको औपचारिक घोषणा हो । सत्तामा रहेका दलहरूले प्रायः जेन जीलाई गलत तरिकाले बुझ्ने प्रवृत्ति देखाएका छन् । उनीहरूलाई अराजक, अनुभवहीन वा बहकिएको पुस्ता भनेर चित्रण गरिँदै आएको छ । तर, वास्तविकता यो बिल्कुल विपरीत छ । जेन-जी सडकमा हुनुको अर्थ राज्यले युवा अपेक्षाप्रति ध्यान नदिएको र नेतृत्वमा कमी भएको औपचारिक संकेत हो ।

यो आन्दोलन कुनै फेसन वा सामाजिक सञ्जालको क्षणिक क्रेज होइन । यो वर्षौंदेखि दबिँदै आएको आक्रोशको विस्फोट हो, जसको तयारी राज्य स्वयंले गरेको थियो ।

समस्या नारामा होइन, नियतमा

नेपालको राजनीतिक इतिहास हेर्दा एउटा तितो यथार्थ देखिन्छ कि यो मुलुक शान्त सहमतिबाट होइन, हिंसा र द्वन्द्वकै जगबाट बनेको हो । सत्ता परिवर्तन सधैं आन्दोलन, विद्रोह र टकरावमार्फत् भयो ।

राणा, पञ्चायत, झापा विद्रोह, माओवादी संघर्ष, ०६२/६३ को आन्दोलन, मधेश आन्दोलन सबैबाट एउटै पाठ पुस्तान्तरण भयोः सत्तामा पुग्न नीति होइन, शक्ति चाहिन्छ । आज जेन–जी त्यही पाठ दोहो¥याइरहेको छ । फरक यति मात्र हो कि उनीहरूले पुरानो शैलीलाई नयाँ भाषामा प्रस्तुत गरेका छन् ।

जेन-जीका माग असामान्य होइनन्, राज्य असामान्य छ । भ्रष्टाचार उन्मूलन, सुशासन, सामाजिक सञ्जाल निर्वाध सञ्चालन यी कुनै क्रान्तिकारी माग होइनन् । यी त पुराना नेताहरूले आफैं भाषणमा भन्दै आएका नारा हुन् । तर, समस्या नारामा होइन, नियतमा थियो । उनीहरुले बोल्दै गए, बोले अनुसार गरेनन्, काम भएन । जेन–जीले बोलेनन्, अन्ततः विद्रोह गरे ।

नव युवालाई यस्तो लाग्यो कि बजेट विकासका लागि होइन, कार्यकर्ता पाल्न, भ्रष्टाचार, कमिसनका लागि बनाइन्छ । नेताहरू स्वयं ठेकेदार हुन्छन् । न्यायालय दलीय भागबण्डाको मैदान बन्छ । योग्यता होइन, पहुँच निर्णायक बन्छ । यही अनुभूतिले जेन-जीलाई एउटा निष्कर्षमा पु¥यायो, यो प्रणाली हाम्रा लागि बनेकै होइन ।

अवसरहीन युवाः विद्रोह कि विदेश ?

नेपालको राजनीतिक, आर्थिक संरचनाले पछिल्लो पुस्ताका युवालाई दुई विकल्प मात्रै बाँकी राखेको उनीहरुले अनुभूति गरे । आम नेपालीहरु जस्तै सरासर विदेश जाऊ या चुप लाग । तर, जेन-जीले यी सीमित विकल्पको परिधिमा आफूलाई समेटिन अस्वीकार गरे र तेस्रो मार्ग रोज्यो-विद्रोह ।

देशमा रोजगारीको अभाव, उद्योग–व्यवसायको विकासमा ढिलाइ, प्रतिस्पर्धाको उचित मूल्यको कमी, र भविष्य केवल सत्तासीन वर्गका सन्तानका लागि सुरक्षित रहेको अनुभूति युवा पुस्तामा निराशा र असन्तोष पैदा गरेको छ । यस्तो अवस्थामा युवाबाट धैर्य र सहिष्णुता अपेक्षा गर्नु भनेको पाखण्ड हो ।

विदेशमा पसिना बगाएर कमाएका युवा जब स्वदेश फर्किन्छन् र राजधानीका भ्युटावर, सरकारी महल र आरामदायी जीवन देख्छन्, उनीहरूको निराशा भावनात्मक मात्र रहदैन । यसले राजनीतिक आक्रोशको रूप लिन्छ । उनीहरू अब केवल अवसरको माग मात्र गर्दैनन्, वर्तमान संरचनामा सुधार र जवाफदेहिता खोज्दै सडकमा निस्कन्छन् ।

विश्लेषकहरूको मतमा यो आन्दोलन व्यक्तिगत क्रोध वा क्षणिक विद्रोह होइन । यो दीर्घकालीन असमानता, अवसरको अभाव र संरचनागत असफलताप्रति युवाको स्पष्ट प्रतिक्रिया हो । जेन–जीले उठाएको आक्रोश राज्यको कमजोरीको द्योतक मात्र होइन, नयाँ पुस्ताको भविष्य र राजनीतिक परिदृश्यको निर्णायक मोडको संकेत पनि हो ।

हिंसा र ध्वंसः आन्दोलनको दाग कि राज्यको असफलता ?

गत भाद्र २३ र २४ मा काठमाडौँसहित देशका विभिन्न शहरमा प्रदर्शन भएको आन्दोलन शान्तिपूर्ण शुरुआत भए पनि केही स्थानमा हिंसात्मक बनेको थियो । राज्य संरचना, अदालत र प्रशासनिक भवनमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा क्षति, हतियार प्रयोग र सुरक्षा कार्यालयमा आगजनीका घटनाहरूले राजनीतिक र प्रशासनिक असफलतालाई उजागर गरेको छ ।

शान्तिपूर्ण आन्दोलन कसरी हिंसात्मक मोडमा पुग्यो ? कसले, किन र कुन स्वार्थका लागि अराजकता फैलायो ? यी प्रश्नहरूको निष्पक्ष छानबिन अपरिहार्य देखिन्छ ।

जेन-जी आन्दोलनमा बाह्य शक्तिको चर्चा हुन्छ । नेपालको भू-राजनीतिक यथार्थ हेर्दा यो असम्भव पनि होइन । तर, एउटा प्रश्न अनिवार्य छ-बाह्य हस्तक्षेप सफल किन भयो ? उत्तर स्पष्ट छ, किनकि राज्य भित्रबाटै खोक्रो भइसकेको थियो । बलियो राज्यमा बाह्य खेल असफल हुन्छ । कमजोर राज्यमा अफवाह पनि विस्फोट बन्छ । विश्लेषकहरू जोड दिन्छन्, “जेन-जी सडकमा हुनुको अर्थ राज्यले परीक्षा फेल गरेको औपचारिक घोषणा हो । यदि युवाको आवाज सुन्ने व्यवस्था, राज्य र नेतृत्व भएको भए, आन्दोलनले हिंसात्मक रूप लिन सक्दैनथ्यो ।”

यसको अर्थ यो होइन कि अदालत, सरकारी भवन, निजी सम्पत्तिमा आगजनी यी सबै निन्दनीय छन् । तर, प्रश्न केवल “के भयो” होइन, प्रश्न हो-यो किन सम्भव भयो ? राज्य समयमै संवेदनशील भएको भए, संवादको ढोका खोलेको भए, अहंकार त्यागेको भए, के संघीय राजधानी यति छिटो नियन्त्रण बाहिर जान्थ्यो ?

जेन–जीको ऐना, दलहरूको अनुहार

यो आन्दोलनले पुराना दललाई ऐनामा उभ्याइदिएको छ । अब उनीहरूसँग बहाना बाँकी छैन ।

अब या त नयाँ पुस्तालाई नेतृत्वमा समेट्नुपर्छ । भ्रष्टाचारमा शून्य सहनशीलता देखाउनुपर्छ, निर्वाचन प्रणाली सुधार्नुपर्छ । न्यायालय स्वतन्त्र बनाउनुपर्छ, विदेश नीतिमा एउटै राष्ट्रिय आवाज बनाउनु पर्छ । नत्र, जेन–जी आन्दोलन अन्तिम होइन ।

जेनजी आन्दोलनको स्पष्ट सन्देश, चेतावनी हो, मौका पनि हो । यदि राज्यले यसपटक पनि नसुन्ने हो भने, भोलिको विद्रोह अझ संगठित, अझ कठोर, अझ खतरनाक हुनेछ । अन्ततः प्रश्न जेन-जीको होइन-प्रश्न हाम्रो राज्यको आत्मासँग हो । के यो राज्य आफ्नै युवालाई भविष्य दिन सक्छ ? कि विद्रोह मात्र उत्पादन गर्छ ? सोचनीय छ ।

विस्फोटक असन्तोष र भविष्यको संकेत

जेन-जी आन्दोलन कुनै लहड, सामाजिक सञ्जालको क्षणिक हावाहुरी वा अल्पकालीन विद्रोह मात्र कदापि होइन । यो वर्षौंदेखि दबिँदै आएको असन्तोष, बेथितिहरुको चाङबाट भएको विस्फोट हो, जसको बारुद राज्यले स्वयं तयार पारेको थियो भन्दा अत्युक्ति हुँदैन
नयाँ पुस्ताको आवाज अब केवल विरोधमा सीमित छैन । उनीहरू संरचना सुधार, अवसर सृजन र उत्तरदायी शासनका लागि आवाज उठाइरहेका छन् । यो आन्दोलन नेपालका राजनीतिक दल, प्रशासन र नागरिक समाजलाई दीर्घकालीन रणनीति र जवाफदेहिता सुनिश्चित गर्ने चुनौती हो । हेरौं अब कति सुध्रिन्छन्, कति सचेत, जिम्मेवार हुन्छन् ?
-कथालिका म्यागाजिनको कभर स्टोरीबाट

२०८२, २७ फाल्गुन बुधबार १३:३९
कथालिका नयाँ कथा
कथालिका