गेग्रान बगरमा स्याउ फलाइरहेका ‘कर्मशील’ कर्म – कथालिका

गेग्रान बगरमा स्याउ फलाइरहेका ‘कर्मशील’ कर्म

  • चिम्लेका कृषक कर्म गुरुङ मुस्ताङमा हुने सबै खेतीलाई छोडेर स्याउ खेतीमा सक्रिय र समर्पित छन् । अहिले उनको एउटै स्याउको बोटले २० केजीसम्म उत्पादन दिन्छ ।

क्या राम्रो स्याउबारी मार्फा गावैमा….
यो गीत सर्वाधिक हित हुनुका पछाडि गीतको शब्द, लय र स्वरको मिठास संयोजन त छँदैछ, त्यो भन्दा मिठो मार्फा मुस्ताङको स्याउ नै हो । मुस्ताङको मार्फामा मात्र होइन, मुस्ताङ जिल्लाको अरु गाउँमा पनि मुख्य नगदेबालीकै रुपमा स्याउ खेती प्रख्यात छ । पृथक स्वादका कारण यहाँको स्याउको देश विदेशमा उच्च माग छ ।

सबै खेती छोडेर स्याउ खेतीमा कर्म

स्याउ मुस्ताङको आर्थिक समृद्धि र स्थानीय कृषकको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण टेवा पू¥याउने माध्यम बनेको छ । नगदेबालीका रुपमा यहाँ सदियौं वर्षदेखि खेती हुँदै आइरहेको उवा, फापर,जौ र आलु लगायतका बाली नदगेबालीका रुपमा परिचित छन् ।

घरपझोङ गाउँपालिका-५ चिम्लेका कृषक कर्म गुरुङ मुस्ताङमा हुने सबै खेतीलाई छोडेर स्याउ खेतीमा सक्रिय र समर्पित छन् । उनले मुस्ताङमा बसेर स्याउ खेतीलाई एक पृथक ब्रान्डमा स्थापित गरिरहेका छन् । स्याउ खेतीलाई बृहत मेगा प्रोजेक्टको रुपमा अघि बढाएर आफुलाई अब्बल कृषकको रुपमा उनी स्थापित गर्न चाहन्छन् । यसअघि उनी काठमाडौंको बौद्धमा हेन्डिग्राफ र गार्मेनको व्यवसाय गर्थे । व्यवसायको क्रममा देशविदेश चाहारेका कर्म पछिल्लो समय लगातार ८ वर्षदेखि निरन्तर स्याउ खेतीतर्फ अग्रसर छन् । उनले साविकको व्यवसायलाई पनि निरन्तरता दिदै आफ्नै थाकथलो मुस्ताङमा अब्बल स्याउ खेतीमा सक्रिय छन् ।

युट्युब हेर्दै स्याउ खेती विस्तारको यात्रा

कर्मको नाम जस्तै काम पनि कर्मशील छ । नाम जस्तै उनी आफ्नो कर्ममा उत्तिकै विस्वास गर्ने भएकै कारण स्याउ खेतीमा छोटो समयमै राम्रो सफलता प्राप्त गरिहेको कथालिकासँग बताए । ९ दिदीबहिनी र ३ दाजुभाइ मध्ये उनी परिवारका सबै भन्दा कान्छा हुन् । उनका बुबा पनि कृषकसँगै आमची थिए । दुई दशक अघि अहिलेको जस्तो मोटर बाटो थिएन, न त सञ्चार र बिद्युतको पहुँच नै थियो ।

उनका बुबाले चिम्ले र सम्लेमा आफ्नो पुख्यौली जग्गामा स्याउ लगायतको अन्नबाली लगाउने गर्थे । तर ,त्यसबेला जतिसुकै कृषि उत्पादन गरे पनि सडकको पहुँच नहुँदा उत्पादन गरेको स्याउ लगायतका बाली कौडीको भाउमा पनि बिक्दैनथ्यो । तैपनि उनका बुबाले जेनतेन कृषि कर्म धानिरहेका थिए । बुबाले आफ्नो सबै परिवारको शेषपछि चिम्लेको जग्गा उनलाई सुम्पिदिए । त्यसको केही समयपछि चिम्लेको अरु १२३ रोपनी जग्गा पनि उनी आफैले किने । त्यसपछि सुरु भयो कर्म गुरुङको स्याउ खेती विस्तारको यात्रा । त्यससमय उनको बगैँचामा स्थानीय जातका स्याउ बोटहरु मात्रै थिए । देश विदेशको अनुभव सँगालेका कर्मलाई स्याउ खेतीको प्रविधि थाहा पाउने माध्यम युट्युब र गुगल बन्यो । उनी यसैबाट स्याउ खेती प्रणालीको सैद्धान्तिक ज्ञान र सिप हासिल गरे । कतिपय स्थानमा आफु स्याउ खेती भएका स्थानमा अनुभव सँगाल्दै स्याउ खेती प्रणालीबारे विशिष्टता हासिल गरे ।

मुस्ताङमा पहिलो पटक हाइब्रिट स्याउ

मुस्ताङमा हाइब्रिट प्रजातीको उच्च घनत्वमा आधारित स्याउ खेती भित्राउने उनकै कर्म थिए । परम्परागत स्याउ खेतीबाट खासै आर्थिक उपार्जन गर्न नसकिने कर्मलाई थाहा थियो । यसैले छिटोछरितो रुपमा उत्पादन दिने इटालीबाट आयात गरिएको उच्चघनत्वको (हाइब्रिट) स्याउ खेतीतर्फ उनी आर्कषित हुन थाले । मुस्ताङमा यो जातको स्याउ खेती भित्राउनु अघि उनको ध्यान मनाङमा सन् २०१४ सुरु गरिएको मनाङ एग्रो तर्फ पुग्यो । जहाँ भर्खरै नयाँ जातको स्याउ खेतीको परीक्षण अभ्यास भइरहेको थियो । कर्म त्यही पुगेर हाइब्रिट स्याउ खेतीतर्फ अध्ययन गर्न पुगे । मनाङको परीक्षण सफल हुँदै जान थालेपछि कर्मले त्यहाँ गरिएको हाइब्रिट स्याउ खेतीलाई मुस्ताङमा भित्राउन थाले । उनले मुस्ताङमा पहिलो पटक हाइब्रिट स्याउको नमूना परीक्षण गरे । यो परीक्षण सफल पनि भयो । त्यस पश्चात स्याउ खेतीलाई थप बृहत बनाउने सोच र योजनामा पुगेको कर्म बताउँछन् ।

जब कर्म हाईब्रिट स्याउ खेतीलाई पछ्याउदै थिए, त्यसै समयमा संघीय तथा प्रादेशिक सरकारबाट हाइब्रिट स्याउ खेती विस्तारको नयाँ कार्यक्रम आयो । इटालीबाट आयात हाइब्रिट स्याउका बिरुवा प्रदेश सरकारले ७५ प्रतिशत र संघीय सरकारले ५० प्रतिशत अनुदान मार्फत सम्वन्धित कार्यालय मार्फत अनुदानका कार्यक्रम अघि बढायो । कर्मले त्यस अवसरलाई यथोचित रुपमा सदुपयोग गरेको बताउँछन् । कर्मले स्याउ खेतीलाई मेगा प्रोजेक्ट रुपमा विस्तार गर्न चिम्ले अर्चाड प्रा.लि. नामक कृषि संस्था दर्ता गरे । त्यसपछि कर्मको कर्मशील स्याउ खेतीको सार्थक सपनाले साकार रुप लिँदै जान थालेको उनको भनाई छ ।

खोला हिँड्ने गेग्रान बगरमा लोभलाग्दो स्याउ

कर्मका स्याउ बगानमा अहिले लटरम्म उच्चघनत्व (हाइब्रिट) स्याउ र स्थानीय जातको स्याउ फलेको देखिन्छ । उनले यसलाई अथक मेहनत गरेकाले स्याउ बोटमा पैसा फलिरहेको र केही वर्षदेखि रुखमै पैसा टिपिरहेको संज्ञा दिन्छन् । पुख्यौली जग्गाबाट स्याउ खेती सुरु गरेका कर्म खोला हिँड्ने गेग्रान बगरमा लोभलाग्दो स्याउ फलाउन सफल भएका छन् ।

पछिल्लो समय झन्डै ६ रोपनी जग्गामा स्याउ खेती विस्तार गरेका कर्मले कोही आफ्नो त कोही अरुको जग्गा समेत लिजमा लिएर स्याउ खेतीलाई विस्तार गरेका । झन्डै ३६ हजार स्याउ बिरुवा विस्तार गरिसकेका कर्म अझै यसमा रोकिएका छैनन् । उनले आगामी वर्ष थप ३५ रोपनी जग्गामा स्याउ लगाउने योजनामा छन् । कर्म भन्छन्, ‘म कृषक परिवारकै छोरो हुँ, स्याउ खेतीतर्फ मेरो ठुलो सपना छ, ठुलो लक्ष्यका साथ अघि बढिरहेको छु ।’

अर्गानिक मलका लागि पशुपालन
कर्मले स्याउका लागि अर्गानिक मलको लागि झन्डै ४ सय भन्दा बढी च्यांग्रा पालेका छन् । ७ वटा भन्दा बढी त दुध दिने जर्सी गाई पालेका छन् । च्यांग्रा पालनबाट कर्मले वर्षेनी ४० लाख र जर्सी गाईको दुध बेचेर मासिक २ लाख आम्दानी गर्छन् । गत वर्ष ३ करोडको स्याउ बिक्री गरेका कर्मले यसवर्ष ६ करोडको स्याउ उत्पादन भएको बताउँछन् । स्याउ विरुवा, कम्पोष्ट मल, विषादी आदीमा पनि सरकारी अनुदानको पहुँचमा जोडिएका कर्मले सरकारले कृषि व्यवसाय गर्नेलाई साथ सहयोग गर्ने गरेको बताए । स्याउ र पशुपालनबाट करोडौं आम्दानी हुने गरेको भए पनि कर्मचारी व्यवस्थापन र पूर्वाधार निर्माणमा जुट्दा ठुलो रकम खर्च हुने गरेको सुनाउँछन् । ‘आम्दानी पनि राम्रै छ, खर्च पनि ठुलै छ’, कृषक कर्मले भने, ‘अहिलेलाई कमाएको जति सबै स्याउ खेतीमा लगाएको छु ,केही वर्षपछि यो लगानीको प्रतिफल निस्किनेमा ढुक्क छु ।’ मुस्ताङमा मेगा प्रोजेक्टको रुपमा स्याउ खेती थालेका कर्मले आफ्नौ बगैचामा फलेका स्याउलाई पोखरा–काठमाडौं पू¥याएर बिक्री गर्ने गरेको बताए । बिचौलियालाई स्याउ सुम्पिदा धेरै कुराले असर पार्ने भएकाले आफुले सिधै मार्केटमा पू¥याउने गरेको उनले बताए ।

मुस्ताङलाई स्याउ खेतीको हब बनाउने सपना

मुस्ताङलाई स्याउ हबको रुपमा विकास गर्न आफ्नो कम्पनीलाई बृहत मेगा प्रोजेक्टको रुपमा विस्तार गर्ने दीर्घकालिन योजनामा छन् । स्वदेशमा केही भिजनका साथ काम गरियो भने विदेश पलायन हुनु नपर्ने कर्म बताउँछन् । ‘विदेश हाइफाइ मात्रै हो, जहाँ पनि दुःखै गर्नुपर्छ, यहाँ पनि मेहनत गर्न सकियो भने डलर फल्छ, विदेशीनु पर्दैन’, कर्मले भने ।

स्याउ खेतीका अब्बल कर्म गुरुङ जिल्लाको सिफारिसमा राष्ट्रपतिबाट पनि सम्मानित भईसकेका छन् । हिजोको अवस्था र अहिलेको अवस्था फेरिएकाले यहाँका स्याउ खेतीको भविष्य निकै उज्जल रहेको कर्मको ठम्याई छ । ‘बिस्तारै सपनाहरु पुरा हुँदै जान थालेको छ, गन्तब्य अझै धेरै टाढा छ’, उनले भने, ‘लक्ष्य र भिजनका साथ अघि बढेको छु, अरुलाई मेरो कामबाट प्रेरणा मिलोस ।’

कर्मशील कर्मको स्याउ कम्पनीमा अहिले झन्डै २ दर्जन कामदारले रोजगारी पाएका छन् । स्याउ बगैचा व्यवस्थापन र स्याउको हार्भेस्ट गर्ने मेला म्याग्दीमा थप कामदार बोलाउने गर्छन् । स्याउ खेतीका लागि उनको आधा दर्जन स्याउ ब्लक छन् । घरपझोङको चिम्ले र सम्लेमा उनको स्याउ बगैचा छ भने घरपझोङ-३ जोमसोम माथिको डाँडामा पनि करिव सय रोपनीमा स्याउ लगाएका छन् । अहिले उनको एउँटै स्याउको बोटले २० केजीसम्म उत्पादन दिन्छ ।

२०८१, १८ भाद्र मंगलवार ०२:१०
कथालिका नयाँ कथा
कथालिका